हाम्रो समय

राष्ट्रपति चैत दोस्रो साता चीन जाने


‘राजकीय भ्रमण गराउन नसक्नु सरकारको असफलता’




काठमाडौं, फाल्गुन २३ - राष्ट्रपति रामवरण यादव चैतको दोस्रो साता चीन भ्रमणमा जाने निश्चित भएको छ । उनी दक्षिण चीनको उष्ण प्रदेशीय टापु हैनानस्थित बोआओ सहरमा चैतको १२ देखि १५ सम्म हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुँदैछन् ।

राष्ट्रपतिको यो दोस्रो चीन भ्रमण हुनेछ । तर यस पटक पनि उनको चीन भ्रमण राजकीय होइन । राष्ट्रपति भएयता उनले दक्षिण छिमेकी भारतको तीन पटक औपचारिक भ्रमण गरिसकेका छन् । बोआओमा उनले चिनियाँ समकक्षी सी जिनपिङसँग साइडलाइन वार्ता गर्ने भएका छन् । यसअघि अक्टोबर २०१० मा सांघाई वल्र्ड एक्स्पोमा सहभागी हुने क्रममा यादवले तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति अहिलेसम्म द्विपक्षीय भ्रमणका लागि भारतबाहेक कतार र कुवेतमात्र पुगेका छन् । उत्तर छिमेकबाट समकक्षीस्तरको निमन्त्रणा गराउन नसक्नुलाई सरकारको कूटनीतिक कमजोरी भनेरसमेत विज्ञहरूले विश्लेषण गरेका छन् । सन् २००१ मा तत्कालीन राजा वीरेन्द्रले सहभागिता जनाएको मञ्च भएकाले राष्ट्रपति यादवलाई बोआओ सम्मेलनमा पठाउन सरकारले उचित ठानेको अधिकारीहरू बताउँछन् । ‘राष्ट्रपति यादवलाई पहिलेझंै व्यापारिक कार्यक्रममा मात्र सहभागी गराउनु सरकारको कूटनीतिक असफलता हो,’ चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यले कान्तिपुरसँग भने । आचार्यले राजा वीरेन्द्रको बाआओ सहभागितालाई राजकीय हैसियत दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

‘कूटनीतिक पहल भएमा अहिले पनि राष्ट्रपतिलाई बेइजिङ पुर्‍याएर राजकीय भ्रमण गराउन सकिन्छ । यसो गर्न नसकिँदा हाम्रो कूटनीतिक कमजोरी देखिनेछ,’ आचार्यले भने, ‘अझै समय छ, पहल गर्न सकिन्छ ।’

चीनले भूराजनीतिक स्वार्थ बढदै गएको निकटतम छिमेकमा उच्चस्तरीय भ्रमणका लागि खासै चासो देखाएको छैन । जिनपिङले दक्षिण एसियाको भ्रमण गर्दा नेपाल समेटिएन । चिनियाँ नेतृत्वले मध्यमतहका नेताहरूलाई चाहिँ बाक्लै पठाएर क्षेत्रीय भूराजनीतिका हिसाबले नेपालमा बेग्लै प्रभाव राख्न खोजेको अधिकारीहरूको बुझाइ छ ।

जिनपिङको सन् २०१५ को भ्रमण सूची सार्वजनिक हुँदा नेपाल कतै उल्लेख छैन । अघिल्ला चिनियाँ राष्ट्रपति हु जिन्ताओले आफ्नो दसवर्षे कार्यकालमा पनि नेपाल भ्रमण गरेनन् । नेपालले त्यो अवधिमा महत्त्वपूर्ण राजनीतिक परिवर्तन गुजारेको थियो । चिनियाँ राष्ट्रप्रमुखबाट नेपाल भ्रमण नभएको १८ वर्ष बितेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साउनमा औपचारिक भ्रमण गरी नेपालसँगको यस्तै कूटनीतिक असन्तुलन अन्त्य गरेका थिए । प्रधानमन्त्री भएलगत्तै उनले छिमेकसँगको सम्बन्धलाई कूटनीतिक प्राथमिकतामा राखे । जिनपिङले पनि परिमार्जित छिमेक नीति सार्वजनिक गरिसके । तर त्यसको प्रत्यक्ष असर नेपालमा पर्न सकेको छैन । राष्ट्रपति भएको करिब दुई वर्षमा उनले एसियाका नेपालबाहेक दर्जनभन्दा बढी मुलुकको भ्रमण गरिसकेका छन् ।

परराष्ट्र मन्त्रालयले एक साताभित्र मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत गराउने तयारी गरिरहेको छ । ‘यो सबै सरकारले गर्ने हो । सायद मन्त्रालयले सबै भेटघाट मिलाउँदै होला,’ राष्ट्रपति यादवका सल्लाहकार हरि शर्मा भन्छन् ।

‘एसियाको नयाँ भविष्य ‘एक समुदायको साझा गन्तव्य’ भन्ने नारा बोकेको उक्त फोरमको उद्देश्य ‘एसिया र विश्वबाट द्वन्द्व एवं विवादलाई किनारा लगाएर शान्ति र समृद्धिका लागि सबै एकजुट हुने समावेशी विकासलाई प्रोत्साहन गर्नु’ हो । क्षेत्रीय सहयोग, राजनीतिक तथा सामाजिक सुरक्षा, न्याय, नयाँ कृषि र प्रविधिलगायत छ दर्जनभन्दा बढी फरक–फरक विषयमा यस पटकको सम्मेलनमा छलफल हुँदैछ । जसमा विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरू, दुई दर्जन मन्त्री तथा विशेषज्ञ व्यक्ति, व्यापारीसहित २ सय जनाभन्दा बढीले आफ्नो धारणा राख्नेछन् । बोआओलाई गैरराजनीतिक र परिमाणमुखी मञ्चका रूपमा विकास गराउने नीति चिनियाँ संस्थापनको रहे पनि आशातीत सफलता मिलेको छैन । यसले क्षेत्रीय र विश्वव्यापी विकासका मामलामा कुनै विशेष योजना दिन सकेको छैन ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठ मनाउने क्रममा यो फोरममा राष्ट्रपति यादवको सहभागिता हुनुको छुट्टै महत्त्व रहेको प्रधानमन्त्रीका सल्लाहकार दिनेश भट्टराईले बताए । ‘यो फोरमको छुट्टै महत्त्व छ । यहाँको साइडलाइनमा उच्चस्तरको भेटवार्ता हुने हुनाले यसलाई सामान्य रूपमा लिन मिल्दैन,’ उनले भने । चार महिनाअघि काठमाडौं आएका चीनका विदेशमन्त्री वाङ यीले राष्ट्रपति यादवलाई भेटेर बोआओ फोरमको निम्तो दिएका थिए ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook