बलात्कारका घटनामा संलग्न ९० प्रतिशत दोषीलाई कारबाहीः उपप्रम गौतम
काठमाडौँ, ११ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले महिला हिंसामा संलग्न ९० प्रतिशत दोषीलाई कानुनी कारबाही गरिएको दाबी गर्नुभएको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको कार्यालय सिंहदरबारमा बसेको आजको बैठकमा उहाँले बलात्कार, हत्या, हिंसालगायत महिला हिंसामा संलग्न बाँकी १० प्रतिशत अपराधीलाई ढिलो चाँडो पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
“अहिले ६५/६६ हजारमात्र प्रहरी शान्ति सुरक्षाका लागि खटिएका छन्, त्यो सङ्ख्या पर्याप्त छैन, साधन/स्रोत अत्यन्त कम हुँदाहुँदै पनि प्रहरी प्रशासनले आफ्नो दायित्व पूरा गर्दै आएको छ”, उहाँले भन्नुभयो ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसीले महिला हिंसाबाट पीडित महिलाको पुनःस्थापनाका लागि महिला मन्त्रालयले १७ जिल्लामा पुनःस्थापना केन्द्र स्थापना गरी सक्रियतासाथ काम गरिरहेको बताउनुभयो । “घटना घट्नेबित्तिकै महिला मन्त्रालय तत्काल घटना स्थल पुगी राहत उपलब्ध गराउँदै आएको छ, कारबाहीका लागि पहल गर्दै आएको छ”, उहाँले भन्नुभयो ।
समिति सदस्य जयन्ती राईले मुलुकका विभिन्न स्थानमा बलात्कारका घटना बढ्दै गर्दा पर्याप्त प्रमाण हुँदाहुँदै पनि प्रहरी प्रशासनले उजुरी लिन आलटाल गर्ने गरेको गुनासो गर्नुभयो । सभासद् जीवन परियारले दिनप्रतिदिन बढ्दै गएको बलात्कारका घटनाले अन्तर्राष्ट्रिय छवि बिगँ्रदै गएको हुँदा न्यूनीकरणतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।
समितिका सदस्यहरू डा बाबुराम पोखरेल, डा गणेशमान गुरूङ, डा वंशीधर मिश्र, निशाकुमारी शाह, रीता रावल र उषा किरणलगायतले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्ने माग गर्नुभयो ।
सभासद् आशा कोइरालाले आमाको नामबाट नागरिकता पाउने सवाललाई संवैधानिक व्यवस्था गरेको खण्डमा महिला हिंसा केही हदसम्म न्यूनीकरण हुने दाबी गर्नुभयो ।
सभासद्द्वय यशोदा लामा र रूक्मिणि चौधरीले बलात्कारमा संलग्न दोषीलाई राजनीतिक संरक्षण दिएका कारण घटनाहरू झन्झन् बढ्दै गएको विश्लेषण गर्नुभयो ।
बैठकले देशमा बढिरहेको महिला एवम् बालिका बलात्कार तथा महिला हिंसाजस्ता जघन्य अपराधलाई कडाइका साथ नियन्त्रण गर्न तयार भएको विद्यमान कार्य योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
त्यसैगरी, उक्त कार्ययोजनाअनुसार काम भइहेको छ/छैन भन्ने सम्बन्धमा अनुगमन गर्ने भरपर्दो व्यवस्था मिलाउने र सोको प्रगति विवरण समितिमा उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook