हाम्रो समय

बन्द हड्ताल नगर्न गृहमन्त्री गौतमको विपक्षीलाई आग्रह




काठमाडौँ, १३ चैत । गृहमन्त्रालयले एकीकृत नेकपा (माओवादी) समेतको तीस दलीय मोर्चाले यही चैत ५ गतेदेखि विभिन्न किसिमका विरोध तथा हड्तालका कार्यक्रम सार्वजनिक गरेकोमा आपत्ति प्रकट गरेको छ ।
मुलुक सहमति र सहकार्यबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण घडीमा रहेको र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै मन्त्रालयले प्रमुख राजनीतिक दलबीच संविधानका अन्तर्वस्तुमा फरक मत रहेपनि सहमतिको विकल्प नभएको जनाएको छ ।
पछिल्ला दिनमा संविधानका विवादित विषयमा घनिभूत प्रयास भइरहेको उल्लेख गर्दै मन्त्रालयले भनेको छ, “लाठी÷जुलुश, सरकारी कार्यालय घेराउ, तीनदिनसम्म आमहड्ताल जस्ता विरोधका कार्यक्रम गर्नाले मुलुकको शान्तिसुरक्षामा गम्भीर समस्या पर्ने निश्चित देखिएको छ ।”
उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले जारी गर्नुभएको विज्ञप्तिमा अगाडि भनिएको छ, “शान्ति सुरक्षाको व्यवस्था गर्ने आधारभूत दायित्वबाट राज्य पन्छिन मिल्दैन भने यस्ता कार्यक्रमले दलहरुबीच दूरी झन् बढ्छ ।”
त्यसप्रकारका गतिविधिले संविधान निर्माणको प्रयासलाई अवरुद्ध पारेर मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने तत्वलाई फाइदा पुग्ने र हाल भएका सहमतिका प्रयाससमेत सार्थक नहुने उल्लेख गर्दै गृहमन्त्री गौतमले सबै विरोधका कार्यक्रम फिर्ता लिन पनि आग्रह गर्नुभएको छ ।
सबै विरोधका कार्यक्रम फिर्ता लिन नसके लाठी जुलुश, मसाल जुलुश, सरकारी कार्यालय घेराउ एवम् बन्द गर्ने र लगातार तीनदिन आमहड्ताल तथा राजस्व एवम् कर उठ्न नदिने जस्ता कार्य नगर्न आग्रह गर्नुभएको छ ।
एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले सत्तारुढ दल संविधान निर्माणमा गम्भीर नभएको भन्दै आम हड्ताललगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook