हाम्रो समय

चितवनमा एक सय २१ जनामा स्वाइन फ्लु



२०७१ चैत्र १८ बुधवार

चितवन : गएको ४७ दिनमा चितवनमा एक सय २१ जनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको छ। गत माघ २६ गतेदेखि चैत १३ गतेसम्म भएको परीक्षणमा चितवनका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये एक सय २१ जनामा स्वाइन फ्लुको संक्रमण पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
 
भरतपुरका विभिन्न अस्पताल र महेन्द्र आदर्श चिकित्सालयमा उपचार गराउन आएका बिरामीमध्ये पछिल्लोपटक आएको रिपोर्टमा एक सय २१ जनामा स्वाइन फ्लुको संक्रमण प्रमाणित भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसूदन कोइरालाले बताए। 

 
यो संख्या चितवनमा उपचार गराउन आएका बाहिरी जिल्लाको विवरण पनि रहेको जानकारी उनले दिए। चितवन जिल्लाका मात्रै एक सय एकजना र बाँकी २० जना छिमेकी जिल्लाबाट उपचार गराउन आएका बिरामीको रहेको उनले बताए। स्वाइन फ्लु रोग लागेका सबै बिरामीको भरतपुर अस्पतालमा नै उपचार भइराखेको जानकारी प्रमुख कोइरालाले दिए।
 
'स्वाइन फ्लु रोग लागेका सबैको यहीं उपचार सम्भव छ', उनले भने, 'चितवनबाट बाहिर काठमाडौंसम्म पनि लैजानुपरेको छैन।' उनका अनुसार स्वाइन फ्लु का बिरामीको संख्या बढेपछि स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्साकर्मीमा यसको जोखिम बढेको छ।
 
चिकित्सक, ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलगायतलाई रोग सर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको कोइरालाले बताए।
'रोगका जीवाणुले जुनसुकै व्यक्तिलाई आक्रमण गर्नसक्छ। 
 
स्वाइन फ्लुको जोखिम स्वास्थ्यकर्मीमा धेरै छ', उनले भने, 'हामीले सरकारी, निजी सबै क्षेत्रका स्वास्थ्यकर्मीलाई सतर्क रही काम गर्न भनेका छौं।' 
 
सबैलाई मास्क लगाएर काम गर्न लगाउने, आफूलाई रुघाखोकी लागेमा तत्काल जँचाएर परीक्षण गर्ने, बिरामीलाई आराम गर्न लगाउने काम गरेको प्रमुख कोइरालाले बताए।
 
यस्तो अवस्थामा सबैभन्दा बढी स्वास्थ्यकर्मी जोखिममा पर्ने भए पनि अहिलेसम्म चितवनमा स्वास्थ्यकर्मीलाई स्वाइनफ्लु नलागेको जानकारी उनले दिए।
 
स्वाइन फ्लु को उपचारका लागि आएकालाई सहायता कक्षबाट जानकारी दिइरहेको उनले बताए। भरतपुर अस्पतालमा सहायता कक्ष स्थापना गरी रोगका विषयमा जानकारी गराउने र उपचार हुनसक्ने भए त्यसका विषयमा समेत मद्दत गर्ने काम भइरहेको जनस्वास्थ्य प्रमुख कोइरालाले बताए।
 
कोइरालाका अनुसार स्वाइन फ्लु लागेका बिरामीलाई कम्तीमा पाँच दिन अस्पतालमा बसेर उपचार गरे निको हुने गरेको छ। अहिले भरतपुर अस्पतालको आइसोलेसन वार्डमा एकजना बिरामीले उपचार गराइरहेको र उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उनले बताए। एकै दिन चिसो र तातो मौसम हुने गरेकाले पनि रोगी बढ्ने गरेको उनले बताए।
 
अस्पतालबाट पोजेटिभ संकेत देखेर अन्तिम परीक्षणका लागि काठमाडौं लैजाँदा स्वाइन फ्लु रोग पुष्टि हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका कीटनियन्त्रक राम केसीले बताए। बिरामीको घाँटी र नाकबाट लिइने नमुना संकलनबाट नै स्वाइन फ्लु रोग भएनभएको पुष्टि हुने केसीले बताए। 
 
अस्पतालमा आएका बिरामीको परीक्षण गर्न ८२ जनाको नमुना संकलन गरेर काठमाडौं पठाइएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको जानकारी उनले दिए।
चितवनको परीक्षणमा पोजेटिभ र नेगेटिभ दुवै देखिएका नमुना राजधानी पठाइएको केसीले बताए। 
 
त्यो विवरण आएपछि अझ रोगीको संख्या वृद्धि हुनसक्ने अवस्था रहेको उनको भनाइ छ। अस्पतालमा रुघाखोकी लागेर स्वाइन फ्लु को आशंकामा जँचाउन आउनेको संख्या वृद्धि भइरहेको चिकित्सकले बताए।
 
जनस्वास्थ्य कार्यालयका कीटनियन्त्रक केसीका अनुसार अहिले स्वाइन फ्लु रोग लागेका बिरामी तीन वर्षको उमेरदेखि ६५ वर्षसम्मका छन्। ती बिरामी सबैको भरतपुर अस्पतालमा उपचार भएर निको भएको उनले बताए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook