घाटामा खानेपानी आयोजना : चाहिनेभन्दा आधी मात्र पानी आउँछ
देब पचभैया/उज्यालो । पाल्पा, चैत २१ – पाल्पा सदरमुकाम तानसेनमा पानीको चरम अभाव भएको छ । ४० हजार भन्दा बढी जनसंख्या रहेको तानसेनमा दैनिक १५ लाख लिटर पानीको आवश्यकता भएपनि ७ लाख लिटरमा मात्रै उपलब्ध छ ।
२२ सय ५० घरधुरीले एक दिन बिराएर दुई घण्टा पानी पाए पनि अझै १२ सय भन्दा बढी घरधुरीले धाराको माग गर्दै तानसेन खानेपानी समितिमा निवेदन दिएका छन् । झण्डै १७ किलोमिटरको दुरीबाट बिजुलीले तानेर ल्याएको पानी आवश्यकता भन्दा आधा मात्रै हो । सिस्ने, भुल्के, तीनधारा, होलाङदी र बाँझाबाट पानी तानिएको छ । पानी संकलन केन्द्रको क्षमता १३ लाख ७५ हजार लिटर मात्रको छ । पानी तान्दा बिजुली चार्ज मात्रै महिनाको ११ लाख थगन प्रशासनिक खर्च बापत चार लाख ६० हजार रुपैयाँ तिर्ने तानसेन खानेपानी उपभोक्ता समितिले महिनाको ८ लाख ६० हजार घाटामा योजना चलाइरहेको छ । खानेपानी योजनाको आम्दानी भने महिनाको सात लाख एक हजार ६ सय मात्रै छ । पाल्पा उधोग बाणिज्य संघले २०६० साल वैशाखमा महायज्ञ गरेर उठेको ५९ लाख रुपैयाँ समेत खानेपानीमै खर्च भएको थियो ।
खानेपानी आयोजना व्यवस्थापनको जिम्मा गाउँलेले दिएका छन् । तर यसमा उनीहरु खुशी भने छैनन् । तानसेन खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुले सरकारले बाध्य गराएपछि खानेपानीको जिम्मा लिएको बताएका छन् । मासिक लाखौ घाटा बेहोर्दै आएको तानसेन खानेपानी उपभोक्ता समिति समस्यै समस्यामा गुज्रिएको छ । पानीको मुहान भएको स्थान सिस्ने र भुल्केमा पानी तान्नका लागि आवश्यक पर्ने मात्रामा बिजुली छैन । भएको बिजुली पनि बेला बेलामा अवरुद्ध हुन्छ । यसले गर्दा पानी वितरणमा थप समस्या भएको छ । पानीको चुहावट पनि उचच छ । पुरानै प्रणालीको वितरण सञ्जालले गर्दा ३५ प्रतिशत पनि उपभोक्ताको धारोमा नपुग्दै खेर जान्छ । तानसेनको खानेपानीको समस्या समाधानका लागि प्रयास भने भएका छन् ।
तानसेन–११ प्रभासमा रहेको बाघखोर भुसतहको पानी तान्ने योजना भैरहेको छ । प्रतिसेकेन्ड ६ लिटर सम्म पानी तान्न सकिने अनुसन्धानले देखाएपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको पहलमा काम भैरहेको समितिले बताएको छ । झण्डै १० करोड लागत लाग्ने अनुमान गरिएको परियोजनामा अहिलेसम्म ३० लाख रुपैयाँ खर्च भैसकेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook