हाम्रो समय

किन भयो मोर्चाको आमहडताल फिर्ता?



07 Apr 2015 | 20:11pm
मङ्गलबार २४ चैत्र, २०७१

काठमाडौं-एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले बुधबार र बिहीबारका निर्धारित आमहडताल फिर्ता लिएको छ। सिंहदरबारमा मंगलबार बसेको बैठकले मोर्चा संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा लामो छलफल गर्दै बाँकी दिनको आमहडताल फिर्ता लिएको हो। मोर्चाले मंगलबार, बुधबार र बिहीबार गरी तीनदिने आमहडताल घोषणा गरेको थियो।

पहिलो दिनको आमहडताल सफल भएको जिकिर गर्दै संयोजक दाहालले उद्योगी, व्यवसायी तथा नागरिक समाजको आग्रहमा आमहडतालका बाँकी कार्यक्रम फिर्ता लिइएको बताए। ‘उद्योगी, व्यवसायी तथा नागरिक समाजका अगुवाको आग्रहमा पूर्वनिर्धारित आमहडतालका बाँकी कार्यक्रम फिर्ता लिने निर्णय मोर्चाको बैठकले गरेको छ,' अध्यक्ष दाहालले सञ्चारकर्मीसँग भने, ‘अब आन्दोलनको स्वरूप बदल्छांै।
मोर्चाले आगामी दिनमा कस्तो खालको आन्दोलनका कार्यक्रम हुने विषयमा भने कुनै निर्णय सार्वजनिक गरेको छैन।
मंगलबार बिहान उद्योगी तथा व्यवसायीको एउटा समूहले संयोजक दाहाललाई भेटेरै आमहडतालका बाँकी कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए। उद्यमीको उक्त आग्रहअनुरूप मोर्चाको बैठकमा आमहडताल फिर्ताको प्रस्ताव गर्ने बचनबद्धता दाहालले दिएका थिए।
साँझ बसेको मोर्चा बैठकमा सहभागी तराई–मधेसकेन्द्रित दलको एक नेताका अनुसार पहिलो दिनको आमहडतालमा अपेक्षित उपस्थिति नभएको तर्क संयोजक दाहालले गरेका थिए। ‘पहिलो त उद्यमी र व्यवसायीको आमहडताल फिर्ता लिन आग्रह गर्नुभएको छ,' दाहाललाई उद्धृत गर्दै ती नेताले भने, ‘दोस्रो कुरा, आमहडतालको पहिलो दिन सोचेअनुरूप कार्यकर्ता र जनता सडकमा ओर्लिएनन्, तीन दिनसम्म आमहडताल लम्ब्याउन नसकिने देखियो, त्यसकारण यो आमहडताल फिर्ता लिएर नयाँ कार्यक्रम बनाएर जाउँ।'
माघ ५ गते संविधानसभाभित्र विपक्षी मोर्चाका सभासदले संघर्ष गरेकाले माघ ६ को बन्द भव्यताका साथ सफल भएको दाहालको भनाइ थियो।
बैठकमा तराई–मधेसकेन्द्रित दलसहित अन्य साना दलले घोषित कार्यक्रमअनुसार नै जान जोड गरेका थिए। तर, संयोजक दाहालले आमहडतालमा  प्रतिवाद हुन सक्ने खतरा औंल्याएका थिए। ‘२३ गतेको संविधानसभा बैठकबाट सत्तारूढ दल प्रक्रियामा गएको भए आन्दोलन उचाइमा जान सक्थ्यो, तर सभाध्यक्षले बैठक ३० गते पुर्यायउनुभयो, यो बीचमा केही भएको पनि छैन,' दाहाललाई उद्धृत गर्दै अर्का नेताले नागरिकसँग भने। उनका अनुसार संयोजक दाहालबाहेक अन्य सबै दलका नेता आमहडताललाई निरन्तरता दिनुपर्ने पक्षमा थिए।
मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित रहेको उक्त बैठकको अन्त्यमा मात्रै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बोलेका थिए। ‘प्रचण्ड (दाहाल) जीको आमहडताल फिर्ता लिने प्रस्तावमा पहिला नै बोल्यो भने सत्तामा जान खोज्यो भनेर यहीँबाट आरोप लाग्छ, म अन्तिममा बोल्छु' भन्दै गच्छदारले उपस्थित सबैले बोलिसकेपछि मात्रै आफ्नो धारणा राखेका थिए। ‘म प्रचण्डजीको प्रस्तावलाई समर्थन गर्छु, तर यहाँ भएका कुरा चाहिँ बाहिर नजाओस् है,' गच्छदारले भनेका थिए।
सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोलगायतले घोषित कार्यक्रम स्थगित गरे ‘युद्धमा उत्रिएर मैदानबाट भागेको' सन्देश जाने भन्दै निरन्तरता दिन आग्रह गरेका थिए। तर, दाहालले भने तीन दिनसम्म हडताल लम्ब्याउन नसकिने निरन्तर जिकिर गरेपछि तीन घन्टासम्म चलेको बैठकले बन्द फिर्ता लिने र नयाँ कार्यक्रम चलाएर अघि जाने निर्णय भएको हो।
तयारीका क्रममा तथा हडतालको पहिलो दिन पक्राउ परेकाको रिहाइ र घाइतेको उपचारको व्यवस्था गर्ने माग गर्ने तथा चैत २६ गते रौतहट सदरमुकामममा सभा गर्ने निर्णय बैठकले गरेको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook