हिन्दु राष्ट्रका लागि खुमबहादुरले मागे भारतको सहयोग
तलबार र त्रिशुल उठाउने स्वामीको चेतावनी
२०७२ साउन १० गते १५:३९ मा प्रकाशित१० साउन, काठमाडौंं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्काले टाउको फुटाए पनि राजतन्त्र नआउने बताएका छन् । तर, नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्यो भन्दै उनले भारतलाई गुहारेका छन् ।
विश्व हिन्दु महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भाजपाका विधायक आदित्यनाथ प्रमुख अतिथिका रुपमा थिए । कार्यक्रममा खड्काका साथै राप्रपा महामन्त्री दीपक बोहोरा पनि सहभागी थिए । वन अतिक्रमण गरेपछि विवादमा परेका स्वामी कमलनयनाचार्यको पनि उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री खड्काले राष्ट्रियता जोगाउन हिन्दु राज्य कायम गर्नु पर्ने बताए । तर, राष्ट्रियताको चर्को कुरा गर्दागर्दै खड्काले हिन्दी भाषामा भाषण मात्र गरेनन्, भारतीय सांसद सामू हारगुहार गर्न भ्याए ।
विभिन्न समयमा मन्त्री हुँदा भ्रष्टाचार गरेको ठहर भएपछि जेल सजायँ कटाएका खड्काले जेलबाट छुटेपछि हिन्दु राष्ट्रको नारा अघि सारेका छन् ।
नेपाल भारतको भाइ समान भएको भन्दै खड्काले भारतलाई सहयोगको अनुरोध गर्न आफूहरुको अधिकार भएको खड्काले बताए । नेपालमा हिन्दु राष्ट्रका लागि नैतिक समर्थन गर्नु भारतको दायित्व भएको भन्दै उनले भारतीय प्रधानमन्त्री र भाजपाका नेताहरुलाई ध्यानाकर्षण गराउन आदित्यनाथलाई आग्रह गरे ।
काठमाडौं ठप्प पार्ने कमलनयनाचार्यको चेतावनी
Swami Kamal Nayanacharya_1खड्का अघि गोष्ठीलाई सम्बोधन गर्दै स्वामी कमलनयनाचार्यले हिन्दु राष्ट्र नभए काठमाडौं ठप्प पार्ने चेतावनी दिए ।
स्वामीका रुपमा मञ्चमा उभिएका उनले कहिले तरबार उठाउने धम्की दिए त कहिले नेताहरुलाई देशबाटै भगाउने कुरा गरे ।
नेताहरु प्रधानमन्त्री, मन्त्री हुन आफूकहाँ आउने गरेको तर, हिन्दुराष्ट्र समाप्त पारेको भन्दै उनले देश छाड्न चेतावनी दिए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook