३० करोड डलर दिएर एसोसियट फकाउँदै आइसिसी
२०७१ चैत्र १७ मंगलवार
मेलबर्न : आगामी विश्वकप क्रिकेटमा भाग लिने टिमको संख्यालाई घटाएर १० मा झार्ने निर्णयको विरोध सुरु भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष एन श्रीनिवासनले एसोसिउट राष्ट्रलाई निराश नहुन आग्रह गरेका छन्। उनले एसोसियट राष्ट्रको क्रिकेट विकासका लागि ३० करोड अमेरिकी डलर खर्च गर्ने घोषणा पनि गरेका छन्।
आइतबार सकिएको ११औं विश्वकपमा १४ वटा टोलीको सहभागिता रहेको थियो। तर आइसिसीले सन् २०१९ मा आयोजना हुने १२औं विश्वकपमा टिमको संख्या घटाएर १० मा झार्ने निर्णय गरेको थियो।
११औं विश्वकपको फाइनल हेर्न मेलबर्न पुगेका श्रीनिवासनले आगामी विश्वकपमा सहभागी हुन एसोसियट सदस्यलाई पनि अवसर रहेको बताए। उनले टेस्ट खेल्ने मान्यता पाएका टिमबाट आठ टिमको छनोट हुने भएकाले दुई स्थानका लागि ६ वटा एसोसियट टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिए।
एसोसियट राष्ट्र आयरल्यान्डले अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न ११औं विश्वकपमा दुईवटा टेस्ट राष्ट्रलाई समेत हराएको थियो। यसैगरी विश्वकपमा सहभागी स्कटल्यान्ड, युएई र अफगानिस्तानको खेलको समेत प्रशंसा भएको थियो।
भारतका कप्तान महेन्द्र सिंह धोनी र पूर्वखेलाडी सचिन तेन्दुल्करले एसोसियट टिमको पक्षमा वकालत गर्दै आएका छन्। श्रीनिवासनले आइसिसीको लगानीका कारण नै एसोसियटको प्रदर्शन प्रशंसायोग्य बनेको दाबी पनि गरे।
आयरल्यान्डका कप्तान विलियम पोर्टरफि ल्डले विश्वकपमा टिम घटाउने आइसिसीको निर्णय गलत भएको बताए। उनले क्रिकेटलाई विश्वभरि फैलाउनु पर्नेमा उल्टै आइसिसीले टिम संख्या घटाएर क्रिकेटको लोकप्रियतामा आँच पु:याउने कार्य गरेको आरोप पनि लगाए।
विश्वकपमा भाग लिएका चार राष्ट्र आयरल्यान्ड, स्कटल्यान्ड, युएई र अफगानिस्तानबाहेक हङकङ तथा पपुवान्यगिनी अन्तर्राष्ट्रिय एकदिवसीय खेलको मान्यता पाउने अन्य एसोसिएट टोली हुन्।
यी ६ राष्ट्र सहित नेपाल र नेदरल्यान्ड्स भने टिट्वेन्टी मान्यता पाउने एसोसियट राष्ट्र हुन्।
0 comments
प्रतिक्रिया दिनुश
Facebook