चीनले प्रस्ताव गरेको विकास बैंकमा जापान नबस्ने
|
२०७१ चैत्र १७ मंगलवार
टोकियो: चीनले प्रस्ताव तथा नयाँ बन्न लागेको एक एसियाली बैंकमा जापानले नबस्ने सङ्केत दिएको छ।चीनले प्रस्ताव गरेको एक नयाँ बैंक, एसियाली पूर्वाधार विकास बैँकमा जापान नबस्ने भएको हो। नयाँ बैंक निर्माणको सो प्रस्ताव चीनले गरेको छ।
चीनले केही समयमात्र अघि एसियाको बैंकका रुपमा एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी) स्थापनाको प्रस्ताव गरेको थियो। यसअघि चीनका लागि जापानी राजदूतले भने सो बैंकमा जापान पनि सहभागी हुनसक्ने बताएका थिए।
तर आज सो आसयको विपरीत जापानी मन्त्रिपरिषदका मुख्य सचिवले सो कुराको खण्डन गरेका छन्। उनले यस विषयमा जापानले केही नसोचेको पनि बताएका छन्।
यसअघि फाइनान्सियल टाइम्ससँगको कुराकानीमा चीनका लागि जापानी राजदूत मासातो कितेराले सो बैंकमा जापान बस्नसक्ने भनी अन्तरवार्ता दिनुभएको थियो। यस विषयमा जापानी मन्त्रिपरिषदका मुख्यसचिव योसिहिदे सुगाले भने, 'सो बैंकका विषयमा जापानको अडानमा कुनै परिवर्तन आएको छैन, हामीले कुनै नयाँ निर्णय गरेका छैनौँ।'
जापानको राजधानी टोकियोमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा उनले भने, 'मैले पनि यस विषयमा सूचना पाएको छु कि राजदूतले पनि यस बारेमा कुनैपनि प्रतिक्रिया दिएका छैनन्।'
मुख्य सचिव सुगाले यस विषयमा जापानी राजदूतले जापान सहभागी हुने भनेर कुनैपनि अन्तरवार्ता नदिएको जानकारी दिएका छन्। चीनले जापानलाई पनि उक्त बैंकको संस्थापक सदस्यको रुपमा प्रवेशका लागि प्रस्ताव गरेको छ। चीनले संस्थापक सदस्यका लागि आवेदन गर्न यही मार्च महिनाको अन्तिम समय दिएको छ।
सो बैंकको संस्थापक सदस्यताका लागि अष्ट्रेलिया, जर्मन, फ्रान्स, बेलायत, इटाली र रसियाले भने समर्थन गरिसकेका छन्। ती देशले संस्थापक सदस्यताका रुपमा ५० अर्ब अमेरिकी डलर बराबरको पुँजी पनि जम्मा गर्ने जनाएका छन्।
त्यस्तै चीनको अर्को एक छिमेकी देश ताइवानले पनि सो बैंकमा सहभागीताका लागि चाडैं नै आवेदन गर्ने जनाएको छ। तर एसियाकै दोस्रो ठूलो अर्थतन्त्र जापानले भने यस विषयमा केही बताएको छैन। उसले उक्त एसियाली पूर्वाधार विकास बैंकको काम स्पष्ट नभएको र यसको कार्यक्षेत्रका बारेमा पनि कयौँ दुविधा रहेको आरोप लगाएको छ।
जापान एसियाको दोस्रो ठूलो अर्थतन्त्रमात्र होइन एसियाली विकास बैंकको पनि प्रमुख लगानीकर्ता पनि हो। भावी दिनहरुमा चीनले प्रस्ताव गरेको यस विकास बैंक पनि एसियाली विकास बैंककै एक प्रतिस्पर्धी बैंकका रुपमा रहन सक्ने बताइएको छ।
नयाँ बन्न लागेको यस बैंक वर्ल्ड बैंक र एसियन डेभलपमेन्ट बैंक (एडिबी) को एक प्रमुख चुनौतीका रुपमा रहनसक्ने पनि बताइएको छ।
यी दुई बैंकमा अमेरिका र जापानको ठूलो प्रभाव रहेको छ। त्यसैकारण पनि अमेरिकाले यस बैंक स्थापानका बारेमा आलोचना गर्ने गरेको छ। रासस/एएफपी
0 comments
प्रतिक्रिया दिनुश
Facebook