हाम्रो समय

चक्कु प्रहारबाट बाजुराको ब्रह्मतोलामा शिक्षकसहित दुई घाइते


प्रकाशित मिति : विहिबार, चैत १२, २०७१



बाजुरा । बाजुरा जिल्लाको ब्रह्मतोला गाविसमा रहेको पशुपति उच्च माविमा कार्यरत शिक्षक तुलाबहादुर थापा र सोही गाविसका चरणसिंह भण्डारी चक्कु प्रहारबाट घाइते हुनु भएको छ ।

घाइतेको अछामको बयालगडा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । थापामाथि परीक्षामा चिट चोराउन नदिएको भन्दै बुधबार साँझ आफ्नै घरमा खाना खाइरहेको बेला केही युवाको समूहले घरबाहिर बोलाएर चक्कु प्रहार गरेको प्रहरीले बताएको छ ।


थापा अचेत अवस्थामा हुनुहुन्छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्यसमेत रहेका थापालाई एसएलसी परीक्षामा चिट चोराउने नियतका साथ गएका युवाले चक्कु प्रहार गरेको बताइएको छ ।

भण्डारी भने जिल्ला विकास समिति बाजुराको स्थानीय विकास कोषका सामाजिक परिचालक हुनुहुन्छ । भण्डारीको पेटमा चक्कु प्रहार भएको थियो । उहाँको पेटमा गम्भीर चोट लागेको कुरा जिल्ला शिक्षा अधिकारी रामेशराज पौडेलले बताउनुभएको छ ।

घटनामा संलग्न भनिएका बडिमालीका नगरपालिका घर भएका रामबहादुर रोकाया, कुल्देवमाडौँ गाविस घर भएका हेम थापा, बडिमालीका नगरपालिका– ६ का चक्र साउद र रमेशराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको निमित्त प्रहरी प्रवक्ता दानबहादुर रोकायाले बताउनुभएको छ ।

घटनामा संलग्न दुईजना कैलाशमाडौँ गाविसका गणेशराज उपाध्याय र ब्रह्मतोला गाविसका छत्र रौले फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रवक्ता रोकायाले बताउनुभयो । थापाको टाउको, छाती र हातमा चोट लागेको छ ।

नियन्त्रणमा रहेका चारैजनालाई जिल्ला सदरमुकाम मार्तडीमा प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती छ जनाको यस्ता घटनामा धेरै संलग्नता भएको पाइएको छ ।

घटनामा संलग्नलाई कारबाही गर्ने तर घटना किन र कसरी भएको हो भन्नेबारेमा जानकारी नभएको कुरा प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले बताउनुभएको छ । पौडेलले भन्नुभयो “घाइतेहरु गम्भीर भएकाले कारण केही खुलेको छैन ।”

0 comments

प्रतिक्रिया दिनुश

Facebook