कास्कीमा बस दुर्घटना, ५ को मृत्यु, ४७ घाइते
कास्कीमा बस दुर्घटना, ५ को मृत्यु, ४७ घाइते
२०७१ फागुन २२ गते मा प्रकाशित
२२ फागुन, कास्की । कास्कीको सराङकोटमा शुक्रबार विहान यात्रुबस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ४७ यात्रु घाइते भएका छन् ।
bus-Accident-in-sarankot
दुर्घटनामा २ महिला र ३ पुरुषको मृत्यु भएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीकोट काउलेका ५० वर्षीय हरि बहादुर खत्री, सोही ठाउँका ४० वर्षीया गोमा लुइँटेल, पोखरा उपमहानगरपालिका–२६ का ५० वर्षीय लेख बहादुर ढकाल, सोही ठाउँका ४५ वर्षीया तारा थापा र १६ वर्षीय दिवस तिमल्सिना छन् । राउतका अनुसार अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो ।
गम्भीर घाइते भएका पोखरा उपमहानगरपालिका–२६ का आठ महिनाका एलिस थापा र वडा नं. ६ का २५ वर्षीया सविता खड्कालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको प्रहरी उपरीक्षक हरि बहादुर पालले बताए ।
अन्य घाइतेहरुको मणिपाल, सहारा र गण्डकी अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरुलाई प्रहरीले घटनास्थलबाट उद्दार गरी पोखराका विभिन्न अस्पतालमा पठाएको थियो ।
घाइते यात्रुहरुले सहचालकले बस चलाउँदा दुर्घटना भएको दाबी गरेका छन् । तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook