किर्ते सहीछाप गर्ने इञ्जिनियरसहित तीनजना पक्राउ, मुद्धा नचलाउन दबाब
गोरखा, ११ चैत । गोरखा नगरपालिकाका सब–इञ्जिनियर एक निजी कम्पनीका इञ्जिनियरसहित एक सर्बसाधारणलाई प्रहरीले पक्राउ गरेको छ।
सरकारी सही र छाप किर्ते गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिकाका सब इञ्जिनियर निशान पाठक, वल्डक्यापिटल कन्सल्टेन्सीका इञ्जिनियर सनद श्रेष्ठ र गोरखा नगरपालिका ११ दसकिलो निवासी सुन्तली थापालाई प्रहरीले पक्राउ गरेको हो।
नगरपालिकाले रोक्दा रोक्दै सुन्तली थापालाई घर निर्माणका लागि स्थायी इजाजत र सम्पन्नताको नक्कली प्रमाणपत्र दिइएको छ। गत माघको ११ गते प्रदान गरिएको ती प्रमाणपत्रमा कार्यकारी अधिकृत चन्द्रा थापा, फाँटवाला कर्मचारी रमण कट्टेल, सब–इञ्जिनियर निशान पाठकको किर्ते सही र नक्कली छाप भेटिएपछि नगरपालिकाले छानवीका लागि प्रहरीमा उजुरी दिएको कार्यकारी अधिकृत चन्द्रा थापाले जानकारी दिइन्।
घर आचारसंहिता बिपरीत निर्माण भएको भन्दै नगरपालिकाले निर्माण सम्पन्नताको प्रमाणपत्र रोकेको थियो।तर थापाले ‘वैंकिङ कारोबारका लागि’सिफारिस लिन निर्माण सम्पन्नताको प्रमाणपत्र लिएर नगरपालिकामा आएपछि किर्ते गरी प्रमाणपत्र लिइसकेको रहस्य खुलेको नगरपालिकाका थापाले बताइन्।
‘सडक सीमा क्षेत्र छोएकाले हामीले घर निर्माण सम्पन्नताको प्रमाणपत्र रोकेका थियौं’ उनले भनिन् ‘तर प्रमाणपत्र लिएर सिफारिस बनाइदिन अनुरोध गर्दै उहाँ नगरपालिकामा आउनु भयो। अनि हामीले शंका लागेर कागजात लियौं। हेर्दा त निर्माण सम्पन्नताको प्रमाणपत्र पनि नक्कली, स्थायी इजाजत प्रमाणपत्र नि नक्कली रहेछ ।’
सो प्रमाणपत्रमा शाखा परिवर्तन भइसकेका रमण कट्टेलको हस्ताक्षर छ । साथै स्वीकृत गर्ने कार्यालय प्रमुखको हस्ताक्षर मिति माघको ११ गते छ भने सिफारिस गर्ने कर्मचारीको सही माघ ११ गते गरिएको छ । सबै सही पनि नक्कली र छाप पनि नक्कली रहेको उनले बताइन् ।नगरपालिकाको भवन आवास शाखाको घर नक्सा उपशाखामा रहेको सुन्तली थापाको नामको घर निर्माण सम्बन्धी फाइलसमेत गायब भएको नगरपालिकाले जनाएको छ ।
मुद्धा नचलाउन दबाब
सरकारी कार्यालयका प्रमुख सहितका कर्मचारीको किर्ते सहीछाप गरेको अभियोगमा पक्राउ परेका तीनजनालाई मुद्धा दर्ता नगर्न प्रहरीमा दबाब आएको छ। बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेका पत्रकारहरुसंग प्रहरी प्रमुख अर्जुन चन्दले आफूलाई मुद्धा नचलाउन चर्को दबाब आइरहेको खुलाएका हुन् ।
तर कहाँबाट दबाब आएको भने उनले स्पष्ट पार्न चाहेनन्।
‘मुद्धा नचलाउन हामीलाई दबाब आइरहेको छ’ उनले भने ‘तर हामी मुद्धा चलाउछौं ।’ मुद्धा दर्ताका लागि प्रहरीले आबश्यक प्रक्रिया अघि बढाइरहेको उनले जनाए । उनीहरुको घरबाट बुधबारै कागजातहरु जफत गरेको छ । साथै अनुसन्धानका लागि नगरपालिकाबाट पनि आबश्यक कागजात झिकाइसकेको प्रहरी नायब उपरीक्षक अर्जुन चन्दले जानकारी दिए। बिरुद्ध मुलुकी ऐनको सरकारी सहीछाप किर्ते गर्ने महल अन्तर्गत मुद्धा दर्ता गर्ने पनि उनले बताए।
0 comments
प्रतिक्रिया दिनुश
Facebook