शौचालय छैन, घर–घरमा ‘डिसहोम’
सिन्धुपाल्चोक,फागुन २१ – मेलम्ची नगरपालिका–१,फटकशिलाकि सिर्जना दनुवारले आफ्नो घरमा डिसहोम जडान गरेको चैतदेखि २ वर्ष लाग्छ । उनी घरमा टेलिभिजन राखेपछि मख्ख छिन् । साँझ परेपछि टेलिभिजनमा टेलिसियल हेर्नु उनको दैनिकी जस्तै हो । तर, घरमा टिभीसहित स्पष्ट च्यानल आओस् भनेर डिसहोम राखेकी सिर्जनाको घरमा शौचका लागि समान्य चर्पीसमेत छैन । सिर्जना साँझ परेपछि दिसा गर्न जानुपरेमा नजिकैको बाँसको झाँङमा छिर्छिन् । भन्छिन्, ‘कहिले काँहि विरामी भएर दिउँसै चर्पी जाँदा मान्छे आएपछि कयौं पटक भाग्नु परेको छ ।’
फटकशिलाकी सिर्जना दनुवार त एक प्रतिनिधि पात्र मात्र हुन् । फटकशिला गाउँका ज्ञानु दनुवार र दलबहादुर दनुवारलगायत कैयनको कहानी ठ्याक्कै उस्तै छ । उनीहरु सबैको घरमा डिसहोमसहितको टेलिभिजन सेट छ,तर कसैको घरमा पनि सामान्य शौचालयसमेत छैन ।
घरमा डिसहोम राखेर रंगिन टेलिभिजनका पर्दाहरुमा रमाउने उनीहरु शौच गर्नका लागि बारीका पाटा र झाङ झाडीको साहरा लिइरहेका छन् । यसरी उनीहरुले शौचालय नबनाएर सास्ती खेपेको पैसा नभएर होइन,चेतनाको अभावले हो । जिल्लाका ३५ गाविस खुला दिशामुक्त घोषणा गर्ने जिम्मा पाएको सेवक नेपाल÷जनहित ग्रामिण सेवा समितिका कार्यक्रम संयोजक राजेन्द्र शर्मा भन्छन्,‘दनुवार वस्तीका प्रत्येकले घर–घरमा ‘डिसहोम’ जडान गरेका छन् तर चर्पी बनाउँदैन् । पैसा नभएर होइन चर्पी बनाउनुपर्छ भन्ने चेतनाको कमीले उनीहरुले चर्पी नबनाएका हुन् ।
सिन्धुपाल्चोकलाई सन् २०१५ भित्र खुला दिशामुक्त गर्ने भनिए पनि फटकशिलाका दनुवार बस्तीका प्रायः घरमा अझै चर्पी निर्माण गरिएका छैनन् । फटकशिलाका दनुवार बस्तीका प्रत्येक घरमा डिसहोम जडान गरिएपनि उनीहरुले चर्पी बनाउनतिर भने खासै ध्यान दिएको पाइँदैन ।
‘काभ्रेतिर सबै घरमा विना शुल्क चर्पीका प्यान बाँडेका छन्’ सिर्जनाले भनिन्,‘छिमेकी जिल्लामा झैं प्यान पाउछौं कि भनेर चर्पी नबनाएको तर कसैले त्यस्तो सहयोग गरेनन् ।’
सिर्जनाले काभ्रेमा चर्पी बनाउन सहयोग गर्नेहरुले सहयोग नगरेको भन्दै आक्रोस पोखिन् । सिर्जना उल्टै प्रतिप्रश्न गरिन्,‘काभ्रेमा चाहिँ शौचालय बनाउन सहयोग गर्ने,अनि हामीलाई चाहिँ किन सहयोग नगर्ने ?’
फटकशिलाका कतिपयले शौचालय बनाए पनि बजेट अभावमा त्यसलाई पूर्णता दिन नसकेको गुनासो गरेका छन् । दलबहादुर दनुवारले चर्पी निर्माण गरेको ३ वर्ष विते पनि आर्थिक अभावमा अझैसम्म छानो र ढोका हाल्न नसकेको दुखेसो गरे । ‘ढोका र छानो हाल्ने पैसा छैन्,त्यसैले शौचालय बनाए पनि यसलाई पूर्णता दिन सकिएको छैन’ दलबहादुरले भने । दलबहादुरको नजिक जाँदा र बोली सुन्दा गरिबको भाव झँल्किन्छ,तर उनले पनि टेलिभिजन हेर्नका लागि ‘डिसहोम’ जडान गरेको केही वर्ष वितिसक्यो ।
बरु त्यँहाका ७५ वर्षिय गोरे दनुवारले ३ वर्ष लगाएर आफैंले सबै काम गरि चर्पी निर्माण गरेका छन् । ‘मलाई कसैले पनि सहयोग गरेनन्,मैले ३ वर्ष लगाएर चर्पी बनाउँदा खुशी छु’, गोरे भन्छन्, ‘चर्पी बनाइ नसक्दै मर्छु कि जस्तो लाग्याथ्यो तर भगवानले पनि साथ दिए,अब चर्पी बनाइ सकेरै मर्न पाउने भए । धेरै खुसी छु ।’
महिनैपिच्छे रिचार्ज गर्नुपर्ने डिसहोम जडान गर्न सक्नेले चर्पी बनाउन सक्दैनन् भन्ने तर्क हास्यास्पद भएको शर्मा बताउँछन् । शर्मा उक्त गाउँका प्रत्येक घरका व्यक्ति विदेश गएकाले चर्पी बनाउन आर्थिकरुपमा समस्या नभएपनि उनीहरुमा चेतनाको अभावले यस्तो समस्या आएको बताउँछन् । ‘उनीहरुमा चर्पी बनाउनुपर्छ भन्ने चेतनाको विकास नै नभएको देखिन्छ,त्यसैले उनीहरु मनोरञ्जनमा रमाएर चर्पी नबनाइ जीवन गुजारा गरिरहेका छन्,’ शर्मा भन्छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook