हाम्रो समय

'अमेरिका मेरो जीवनको एक्सिडेन्ट थियो'



27 Mar 2015 | 12:10pm
शुक्रबार १३ चैत्र, २०७१

;अमेरिका मेरो जीवनको एक्सिडेन्ट
अभिनेता सरोज खनाल अमेरिका बस्ने थालेको १५ वर्ष नाघिसकेको छ। तर, धेरै नेपाली फिल्मप्रेमीका मानसपटलमा उनको तस्बिर ताजै छ। किनभने, फिल्म 'प्रेमपिण्ड', टेलिफिल्म 'भीडदेखि भीड'सम्म आदिमा उनले गरेको बेजोड अभिनयलाई आज पनि अभिनयपारखी सम्झन्छन्। यतिबेला उनी फिल्ममा फेरि फर्कने मनस्थिति बनाइरहेका छन् र सदाका लागि नेपाल फर्किने योजना पनि उनको। उनीसँग डिबी खड्का र अम्मर जिसीले गरको अन्तरंग कुराकानीः




यसपल्ट नेपाल किन आउनुभयो?
काठमाडौँमा घर बनाउँदै छु। त्यो लगभग पूरा हुँदैछ।

धेरै मान्छे अमेरिकाबाट फर्किंदैनन्। तपाईंले यतै बासस्थान बनाउनुभएछ!
अमेरिका बस्ने चाहना कहिल्यै थिएन मेरो। अमेरिका एक किसिमको 'एक्सिडेन्ट' हो, मेरो जीवनको। म घुम्न गएको मान्छे, ग्रिनकार्ड पाइन्छ भनेर भनिदिए। पाइन्छ भने लिइराखौँ भन्ने भएर लिइयो। आफ्ना लागि भन्दा पनि छोराछोरीको भविष्यका लागि उतै बस्ने सोच बनाइयो। त्यतिबेला छोराछोरीको भविष्यका लागि आफ्नो भविष्यलाई तिलाञ्जली दिएँ। भाग्यमा विश्वास त छैन तर 'लाइफ साइकल' भन्ने हुँदो रैछ मान्छेको। 'यो अवधिमा यो कुरा तैँले भोग्नुपर्छ' भन्ने तय भएको हुँदो रहेछ क्यारे। मैले पनि जीवनका केही समय अमेरिकामा बिताउनुपर्ने रहेछ। मैले जतिखेर छोराछोरी लगेँ, उनीहरूलाई त्यहाँ छोडेर यता फर्कने कुरा आएन। अब छोराहरू सेटल भइसके। 'बुवा, आफ्नो क्षेत्रमा जे गर्न मन छ, गर्नुस्, जानुस्' भने उनीहरूले। त्यसैले आफ्नै देश फर्किने विचारमा पुगेँ।

भनेपछि, यत्रो समय बस्दा पनि अमेरिकाले मोहनी लगाउन सकेन?
मान्छेले गफ हाँक्यो भन्लान्। हरेक दिन आफ्नै देश, आफ्नै क्षेत्र सम्भि्करहेको हुन्थेँ। हरेक पल नेपाली दाजुभाइको माया 'मिस' गरिराख्थेँ। म अमेरिकामा कहिले पनि खुशी भइनँ। कहिले पनि विश्वको शक्तिशाली, विकसित देशमा छु भनेर खुशी हुन सकिनँ। त्यहाँ त मलाई नेपाली 'सर्कल'बाहेक कसैले पनि चिन्दैन। जुन सम्मान, माया यहाँ पाउँथे, त्यहाँ त्यसको कल्पनासम्म गर्न सकिन्नथ्यो।

अमेरिकासँग धेरै चीज छ। धेरैलाई मोहनी लगाएको छ। यति हुँदाहुँदै पनि त्यहाँ के–के चिजले मन भाँच्दा रहेछन्?
हामी अमेरिकामा जो प्रवासी हुन्छौँ, त्यहाँका नागरिक होइनौँ, दोस्रो दर्जाका नागरिकमा पर्छौं। त्यो हिसाबले उनीहरूले हामीलाई हेप्छन् नै। अमेरिकाको सिद्धान्त नै छ– दुनियाँलाई पेलेर बस्ने। डीभी परेर डाक्टर र वकिल जान्छन्। उनीहरूलाई पनि कुनै मान्यता दिँदैन। 'ए बाबा, मेरो देशमा म यस्तो थिएँ' भनेर हरेकले खिन्न महसुस गर्छ त्यहाँ। नेपालमा डाक्टर थिएँ, वकिल थिएँ, कलाकार थिएँ, सचिव थिएँ वा मन्त्री नै थिएँ भन्ने भए पनि त्यहाँका लागि शून्य हो। यसकारण मैले 'यूएसए'को आफ्नै परिभाषा बनाएको थिएँ। यूएसए अर्थात् 'यू स्टार्ट अगेन।'

त्यहाँ बस्दा सबैभन्दा धेरै चित्त दुखेको क्षण कुन हो?
पहिलोपटक 'फ्ल्यास' गर्दैछु यो कुरा। एकपटक फास्टफुड चेनमा स्टोरभित्र काम गर्दै थिएँ। त्यहाँको सिस्टम डाइनिङ रूममा पनि खाने, ड्राइभ थ्रू पनि खाने। एकजनाले गाडीमै खानेकुरा अर्डर गर्योि। त्यहीँ खायो। मलाई केही कुरा माग्यो, जुन 'सिस्टम'ले बाहिर दिन मिल्दैनथ्यो। मैले नदिएपछि उसले 'यू बास्टर्ड पाकिस्तानी' भन्यो। मलाई एकदम रिस उठ्यो। त्यो ड्राइभ थ्रूबाट हाम्फालेर त्यसकै गाडीमा गएर झम्टिन पुगेँ म। त्यो कुरा मैले गर्न हुन्थेन। 'लिगल केस' चलेको भए धेरै ठूलो 'इस्यू' हुन्थ्यो। उसले पछि माफी माग्यो। विषेशगरी त्यहाँका पुराना अमेरिकीहरू 'रेडनेक' भनिनेले साह्रै हेप्छन्। उनीहरू अति नै साम्प्रदायिक छन्। 'हाम्रो मुलुकमा विदेशी आएर यस्तो गर्योि' भन्दै आरिस गर्छन्।

त्योभन्दा पहिला म एउटा डिपार्टमेन्टल स्टोरमा काम गर्थें। खानाहरू र्यााकमा राख्नुपर्थ्यो। मालिकले थाहा पाएको रहेछ, म नेपालको अभिनेता हुँ भन्ने। र्या्कमा यसो घुमिरहेको थिएँ। उसले भन्यो, 'तँलाई यसरी काम गर्दा नेपालमा हिरोइनहरूसँग गीतमा नाच्दै घुमेको जस्तो लाग्यो होला, हगि?' भन्यो। मलाई एकदम 'पिन्च' भयो। एउटा कुनामा गएर रोएँ।

अमेरिकाको सपना देख्ने धेरै छन् यहाँ। यही अपेक्षाले तपाईंलाई पछ्याउने कति हुन्छन्?
हरेकपटक आउँदा सबैले चासो राख्थे, अमेरिका जाने 'प्रोसेस'का लागि सोध्थे। कसैलाई पनि मैले उता जान प्रोत्साहन गरिनँ। 'प्लिज तपाईंहरू नआउनस्, यहाँ केही पनि छैन' भन्थेँ । 'जे छ, यहीँका नागरिकका लागि मात्र छ, हामी दोस्रो दर्जाका नागरिक हुन आउनेे हो' भन्थेँ। उता गइसकेपछि पनि मकहाँ आउँछन्। धेरैको पहिलो वकिल पनि मै नै हुँ। नेपालका धेरै राम्रा मान्छे त्यहाँ देख्दा दुःख लाग्थ्यो।

तपाईंले आफूलाई चिन्नेहरू अहिले कत्तिको भेट्नुहुन्छ?
काठमाडौँमा धेरै परिवर्तन भएको छ। तर, मेरा फ्यानहरू घटेका रहेनछन्। मलाई अहिलेसम्म बिर्सेका रहेनछन्। यो 'केस'मा म आफूलाई भाग्यमानी ठान्छु। यत्रो समयसम्म मान्छेहरूले 'प्रेमपिण्ड', 'भीडदेखि भीडसम्म' सम्भि्करहेका रहेछन्। 'दाइजस्तो एक्टिङ गर्ने मान्छे भएन' भन्छन् निर्माता–निर्देशक। मलाई आफू त्यस्तो अब्बल अभिनेता हुँजस्तो लाग्दैन।

जतिबेला फिल्म उद्योगमा आउनुभयो, त्यतिबेला 'गुड लुकिङ' हिरो चलेका थिए। तपाईंको एक्टिङ कसरी खोजियो जस्तो लाग्छ?
यसमा पनि म भाग्यमानी रहेछु। जम्मा मैले ३३ वटा मात्र फिल्म खेलेँ। तर, म स्टेजबाट आएको हुनाले राम्रो रोल मलाई दिइन्थ्यो। त्यतिबेला धेरै कलाकारको कमजोरी भनेकै रोल पाएपछि होमवर्क गर्न नखोज्ने हुन्थ्यो। अहिले मेहनत गर्ने भाइबहिनीहरू पनि हुनुहुन्छ। म दिइएको चरित्रमाथि 'रिसर्च' नै गर्थें । 'भीडदेखि भीडसम्म' गर्दा पागलसँग संगत गरेर उसको हाउभाउ 'स्टडी' गरेँ।

'मौन आकाश'मा पनि धेरै दुःख गरेँ, जसले मलाई सरोज खनाल पनि बनायो। सुटिङ सुरु हुनुअघि ३० दिनसम्म लगातार बहिराहरूसँग गएर बसेँ। उनीहरूको भाषा सिकेँ। त्यसरी मेहनत गर्थें म।

फिल्म करिअरमा भविष्य उज्ज्वल नभएको समयमा तपाईंलाई के कुराले यसमा लाग्न प्रेरित गर्‍यो?
मेरो जीवनको अर्को 'एक्सिडेन्ट' यो पनि हो। किनभने, यो क्षेत्रमा आउँछु भन्ने सोचेकै थिइनँ। आईएससी पढ्दै गर्दा आफ्नै जिल्ला चितवनका साथी खेम शर्मासँग भेट भयो। गफैगफमा खेमसँग 'मलाई पनि एक्टिङ गर्न मन छ यार, कहीँ घुसाऊ न' भनेँ। उनी आरोहण समूहसँग आबद्ध थिए। उनले निर्देशक बद्री अधिकारीलाई भेट्न भने। म लगातार सात दिनसम्म गएपछि उहाँलाई कालिकास्थानको स्कुलमा नाटक रिहर्सल गराइरहेको भेटेँ। भूमिका मागेँ। नाटकको सबै रोल बाँडिसकिएको थियो। साढे दुई घण्टा लामो नाटकमा दुई मिनेट रोल बाँकी थियो। कसैले पनि नगरेकाले मेरो फेला पर्योँ। त्यो नाटकको हिरो मेरो स्कुलदेखिको साथी नरेन्द्र थापा थिए। 'मायाप्रीति' भन्ने फिल्म बन्ने कुरा भएपछि उनले रिहर्सलको अन्तिम चरणमा नाटक छाडे। रोल सामान्य भएकाले सबैको संवाद मैले पढेर सुनाउनुपर्थ्यो। जसले जहाँ बिर्सन्छ, त्यहाँ सम्झाउने। स्त्रि्कप्ट नै कण्ठ थियो। तीन दिनपछि नाचघरमा नाटक देखाउनुपर्ने थियो। 'सरोज, तिमीलाई यो डायलग सबै कण्ठ छ है' भनेर सोध्नुभो डाइरेक्टरले। त्यसपछि मलाई हिरो बनाइयो। मेरा जीवनमा जति पनि कुरा भए, संयोगले भए जस्तो लाग्छ।

तपाईं भाग्यलाई मान्नुहुन्न। दुनियाँले भन्ने भाग्यकै खेल तपाईंको जीवनमा भइरह्यो!
म यसलाई भाग्य नभनेर 'एक्सिडेन्ट' भन्छु। मैले यो समयमा यस्तो भोग्नुपर्छ भनेर तय भएको थियो। भाग्यमा थियो भन्ने कुरा कसले देखेको छ? भाग्यमा छ भनेर डोकोमा दूध दुहुँदा त अडिँदैन। मैले ती संयोगहरू 'क्यास' गरेँ।

तपाईंको जीवनको लक्ष्यचाहिँ के थियो?
पाइलट हुने लक्ष्य थियो। त्यही भएर आईएससी पढेँ। अमेरिका गइसकेपछि पनि एकपटक प्रयास गरेँ। पहिला मैले जानेबित्तिकै हलिउडमा 'ट्राई' गरेँ । त्यहाँ 'ट्युसन फी' तिर्न सक्ने अवस्था देखिएन। ६० हजार डलर लाग्थ्यो पढ्नलाई। त्यतिले मात्रै पनि भूमिका पाउने ग्यारेन्टी थिएन। त्यसपछि म पाइलट पढ्न टेक्सस गएँ। मैले ग्राउन्ड कोर्सचाहिँ सकेँ। फ्लाइङ गर्ने बेला फेरि मलाई आर्थिक समस्या पर्यो । पर मिनेट २ सय ५० डलर तिर्नुपर्ने थियो। एकडेढ घण्टा हरेक दिन उडाउनुपर्ने। मैले त्यत्तिकै छाडिदिएँ।

हलिउडमा त्यसपछि 'ट्राई' गर्नुभयो?
गरिनँ। एउटा नाटकचाहिँ गरेँ। हामीजस्ता दोस्रो दर्जाको नागरिकले त्यहाँ छिर्न पनि मुश्किल छ। कि त असाधारण प्रतिभा भएको कलाकार हुनुपर्योा। म त्यस्तो पनि छैन।

त्यतिबेला यहाँ त तपाईंबाट धेरै अपेक्षा गरिएको थियो है!
हो। मैले छोड्ने बेलामा सातवटा फिल्ममा साइन गरिसकेको थिएँ। तीनवटा फिल्मको सुटिङ सकेको थिएँ। उता जाने निश्चित भएपछि श्रीमतीलाई फोन गरेर 'यो फिल्ममा यति पैसा लिएको छु , फिर्ता गरिदेऊ' भनेँ। अत्यन्त दुःखद क्षण थियो त्यो।

अझैपनि फिल्ममा केही गर्छु भन्ने लाग्छ?
यहाँ त यो धार, त्यो धार भन्दा रहेछन्। म धारसार जान्दिनँ। जनताको मन छुने धारमा फिल्म बनाउँछु। मलाई सुहाउने भूमिकामा अभिनय पनि गर्छु

बीपी कोइरालाको 'तीन घुम्ती'मा आधारित फिल्म बनाउने भन्ने कुरा थियो। त्यो अर्कैले लगेछ!
त्यो फिल्म 'फ्लोर'मा गइसकेछ। त्यो कथाचाहिँ मलाई एकदम मन परेको थियो। धेरैचोटि पढेँ।

निर्माता र अभिनेता बन्ने सुर छ?
छ। निर्देशन चाहिँ गर्दिनँ। त्यो खुबी मसँग छैन।

तपाईंलाई चित्तदुख्दो हो है। त्यतिबेला त्यस्ता दर्शक भएका बेला बाहिरिएको र अहिले फिल्मै नचल्ने चिन्ता गर्नुपर्दा?
त्यो बेला त नेपाली फिल्मको सुनौलो समय हो। त्यो समय अब फर्किन गाह्रै छ। अहिले धेरैले फिल्मलाई सोखका रूपमा लिए। पहिला यूएसमा पनि नेपाली फिल्म जाँदा 'क्राउड' हुन्थ्यो। अहिले मुश्किलले सयजना पनि जम्मा गर्न सकिन्न। नेपाली फिल्मप्रति वितृष्णा जाग्ने खालका फिल्म देखाइयो। विश्वास अझै छ, फेरि दर्शक फर्किन्छन्।

अमेरिकामा पनि नेपाली फिल्म राम्रै हेरिन्छन् रे। नेपाली फिल्मको स्वाद लिन आउँछन् कि केवल 'सिम्प्याथी'का लागि?
यहाँको मार्केटमा त्यो फिल्मको चर्चा–परिचर्चा कत्तिको भयो? त्यसमा निर्भर गर्छ। जस्तो मैले 'नाइँ नभन्नू ल २' देखाउँदा दर्शक ओइरिए। जहाँ गए पनि 'हाउसफुल' भयो। त्यहाँ माया गर्छन्, रमाइलो पनि मान्छन्। आफ्नो देशबाट अलि टाढा भएपछि देशसँग जोडिएका हरेक कुराको माया पनि लाग्छ। हामीभन्दा पनि भुटानी शरणार्थीले गर्दा नेपाली कला र संस्कृति जगेर्ना भइरहेको छ अमेरिकामा। उनीहरू नेपाली संस्कृतिलाई निकै माया गर्छन्।

जमघट ठूलो छ नेपालीको। कत्तिको सांस्कृतिक कार्यक्रम हुन्छन्?
एकदम छ। यहाँ १५ दिन जति मनाउने तिज १० दिन मनाउँछन् त्यहाँ पनि। म गत वर्ष तिजका बेला टेक्सस पुगेको थिएँ। नेपाली सांस्कृतिक पहिरनसहित सात सयजना महिलाको भीडमा मैले भाषण गर्नुपर्दा 'नर्भस' भएँ।

नेपाली फिल्ममा फेरि फर्कन होमवर्क त निकै गर्नुपर्ला नि?
घमण्डका साथ भन्छु, अभिनयमा मैले त्यति धेरै 'होमवर्क' गर्नुपर्दैन। मसँग त्यही 'स्पिरिट'मा अभिनय गर्ने क्षमता अझै छ । किनभने, म बेलाबेलमा उता पनि स्टेज शो गरिरहन्छु। हो, 'फिजिकल्ली' बूढो भइयो। जुन कुरा चाहेर पनि ढाँट्न सकिन्न। यद्यपि, हलिउडमा हुने हो भने भर्खर हिरो हुने बेला हो यो। अलिकति चाउरी परेपछि, कपाल फुलेपछि त्यहाँ हिरो भइन्छ। आफूलाई सुहाउने खालको रोल पाएँ भनेदेखि दर्शकलाई निराश बनाउँदिनँ।

उमेरअनुसार मेन्टेन गर्नुभा'छ शरीर। सँगैका साथीहरू भेट्दा फरक देखिनुहुँदो हो।
यसबारे भर्खरकै रमाइलो प्रसँग छ। अस्ति साथीको छोराको व्रतबन्ध थियो। ए जनालाई आफू भन्दा पाको देखेर मैले 'नमस्कार हजुर' भनेँ। उसले नमस्कार फर्काउनुको साटो 'ए गधा, नमस्ते भन्छस् सँगै पढेको साथीलाई' भन्यो। एकछिनसम्म हाँस्यौँ। साथीहरू बूढो देखिन्छन्। ममा फिल्म क्षेत्रमै फर्किने चाहना सदा रहेकाले फिटनेसमा ध्यान दिइरहेको हुन्छु। यो हिउँदमा हल्का मोटाएँ। अब 'एक्सरसाइज' थाल्छु।

व्यायाममा के–के गर्नुहुन्छ?
जिम गर्छु। मलाई मसल बनाउनु छैन। भुँडी लाग्न नदिने मात्र हो। उमेरले पनि शरीरमा बोसो आउने बेला भयो। चाउरी पर्ने बेला पनि भयो। ठिक्क मिलाएर गर्छु। यहाँका पत्रकार साथीहरूले मलाई पुरानो नायक भनेर लेख्नुहुन्छ। जुन कुरामा मेरो असहमति छ। नायक कहिले पनि पुरानो हुँदैन। अहिले पनि प्रेमपिण्ड हेर्दा म 'योङ' नै छु नि। अभिनेता पुरानो हुन्छ, नायक पुरानो हुँदैन।

बूढो भन्दा पिरलाग्दो रहेछ?
होइन। अरू जस्तो म उमेर पनि ढाँट्दिनँ। फेसबुकमै पनि आज म यति वर्ष पुगेँ भनेर लेख्छु। खुशी के लाग्छ भने उमेरभन्दा १०–१२ वर्ष कम नै देखिन्छु। अहिले म ५१ वर्षमा हिँड्दै छु।

अब धेरै समय तपाईं नेपालमा भेटिनुहुन्छ?
अब यतै बस्ने। तर, छ–छ महिनामा उता गएर ग्रिनकार्ड रिन्यूचाहिँ गर्छु। छोराहरू उतै छन्। कहाँ गएर बसुँला भन्ने भएन।

अमेरिकाको मायाले छाडि नै हालेको चाहिँ छैन?
हामीले तिरेको 'सोसल सेक्युरिटी ट्याक्स' ६० वर्ष नपुगेसम्म फिर्ता पाइँदैन। जुन दिन म ६० वर्ष पुग्छु, त्यो दिन म जहाँ बसे पनि मैले २२ सय डलर प्रतिमहिना पाउँछु। त्यो अमेरिकाले दिने होइन, मेरो पसिना हो, अधिकार पनि हो। ६० वर्षपछि ग्रिनकार्ड त्यागेर जहाँ बसे पनि केही हुँदैन।

शुक्रवारबाट

0 comments

प्रतिक्रिया दिनुश

Facebook