डेढ लाख घूससहित प्राधिकरणका कर्मचारी पक्राउ
रौतहट, चैत्र १७ - बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका सुपरभाईजर उमेश यादवलाई डेढलाख घुसको रकमसहित मंगलबार पक्रेको छ । मिल सञ्चालनको लागि थि्रफेज लाइन जडान गर्न सेवाग्रहीसँग घूस लिएका यादवलाई अख्तियारको टोलीले पक्रेको छ ।
अख्यिारको बर्दिवास सम्पर्क कार्यालयका डीएसपी सन्तोष आचार्य र केन्दि्रय कार्यालय काठमाडौका शाखा अधिकृत कृष्ण दाहालसहितकोे टोलीले स्थानीय अल्पाईन होटलबाट यादवलाई पक्रेको हो । रङ्गपुर गाबिस-२ का बैजु साहले सेलर मिल सञ्चालन गर्न थि्रफेजसहितको मिटर माग गरेपछि यादवले जडानका लागि घूसको रकम माग गरेका थिए । गत माघ ९ गते प्रशाखामा मिटर जडान गरी पाउँ भनी निवेदन दिए पनि कर्मचारीको बार्गेनिङ्गले काम अघि बढ्न नसकेको साहको गुनासो थियो । साहले घूसको रकम दिन भान्जा मुहेश गुप्तालाई प्रयोग गरेका थिए । प्रक्रियागत काम गर्न नमानी घूस मागे पछि अख्तियारलाई गुहारेको साहले जनाए ।
रकम लिएलगत्तै अख्तियारको टोली तत्कालै होटल पुगि यादवलाई नियन्त्रणमा लिएका थिए । यादवलाई घूसको रकमसहित नियन्त्रणमा लिइएको अधिकृत दाहालले जनाए । यादवले लाईन जडान गर्न साहको भान्जामार्फत रकम लिएको स्वीकारेका छन् ।
यादवले घूसवापत प्राप्त गरेको हजारको डेढलाख नोट खल्तीबाट निकालेर सार्वजनिक गरेका थिए । प्राधिकरणको नियममा थ्रिफेज लाईन जडान गर्न ४० देखि ४५ हजारसम्म राजस्व लाग्छ । एक महिना अघि प्राधिकरणको बिरगज शाखामा सरुवा भएका यादव रवाना नलिई बसेका थिए ।
यादवलाई अनुसन्धानका लागि राजधानी लैजाने तयारीमा मुचुल्का गरेको अख्तियारका कर्मचारी सामु स्थानियले निकै आक्रोस पोखेका थिए । बिद्युत कर्मचारीको हरकतले सेवाग्रही मारमा परेको भन्दै कडा कारबाही गर्न स्थानीयले अनुरोध गरेका थिए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook