डलर तस्करीमा चिनियाँ नागरिक !
२०७१ चैत्र १४ शनिबार
काठमाडौं : चिनियाँ महिला ठूलो परिमाणको अमेरिकी डलरसहित पक्राउ परेकी छन्।
चिनियाँ नागरिक यिङ लोउले बोकेको ब्याग डिपार्चर होल्ड ब्यागेज चेकिङ क्षेत्रमा राखिएको एक्सरे मेसिनमार्फत जाँच गर्दा एक लाख १३ हजार दुई सय ५० डलर फेला परेको हो।
बिहीबार राति उनी चाइना साउदर्न एयरको उडानबाट गोन्जाओ जान लागेकी थिइन्।' कम बोल्ने लोउले आफूलाई कपडा व्यापारीका रूपमा प्रहरीसमक्ष चिनाएकी छन्। प्रहरीले भने उनीमाथि शंका गरी अनुसन्धान थालेको छ।
यिङको नेपाल आगमन यो पहिलो भने होइन। उनी सन् २०१४ मा १६ पटक र २०१५ मा १२ पटक नेपाल आउजाउ गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
६ महिनाको व्यापारिक भिसामा नेपाल प्रवेश गरेकी यिङबाट प्रहरीले बरामद गरेको अमेरिकी डलरको आधिकारिक स्रोत खुलेको छैन।
उनले कालो ब्यागभित्र फ ल्सबटम बनाएर अमेरिकी डलर राखेकी थिइन्।
खासाबाट सुन तस्करीमा सक्रिय चिनियाँ नागरिकले राजधानीमा सुनको कारोबारपछि मनी एक्सचेन्जमार्फत विदेशी मुद्रा सटही गरी चीन भित्र्याउँदै आएको दाबी प्रहरीको छ।
कपडा व्यापारबाट आएको आम्दानी भने पनि उनीसँग कुनै बिलभरपाई नभेटिएपछि उक्त विदेशी मुद्रा सुन तस्करीकै हुनसक्ने आशंका प्रहरीको छ।
विमानस्थल प्रहरीका अनुसार ठूलो परिमाणको डलरसहित चिनियाँ नागरिक पक्राउ परेको यो पहिलो घटना हो।
यसअघि भारतीय र नेपालीमात्रै पक्राउ परेका थिए। विमानस्थल प्रहरीले दुई साताअगाडि भारतीय नागरिक मनोहरलाल कृपालदास असुदानीलाई एक लाख ७९ हजार आठ सय ५० अमेरिकी डलर र अन्य विदेशी मुद्रासहित पक्राउ गरेको थियो।
घटनाबारे सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विमानस्थल सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थले भने, 'डलर तस्करले सडक मार्गबाट तस्करी गर्दै आए पनि रुट परिवर्तनका लागि हवाईमार्ग रोज्न ट्रायलका रूपमा यिङलाई प्रयोग गरेको आशंका छ।'
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले विदेशी मुद्राको आयातनिर्यातमा कस्ता व्यक्ति प्रयोग भएका छन्, त्यसको विश्वसनीयता राज्यले खोज्नुपर्ने बताए।
महानगरीय प्रहरी परिसर हनुमानढोकाले २०७० चैन २२ गते १४ जना चिनियाँ नागरिकलाई कोटेश्वरबाट तीन लाख ९७ हजार एक सय २८ डलरसहित पक्राउ गरेको थियो।
ठमेलमा चिनियाँ गतिविधि बढ्यो
पछिल्लो समयमा ठमेलमा चिनियाँ गतिविधि बढेको निष्कर्ष निकाल्दै प्रहरीले निगरानी बढाएको छ।
चिनियाँ रेस्टुराँ खुलेपछि गतिविधि ह्वात्तै बढेको भन्दै प्रहरीले अवैध गतिविधि हुने आशंकामा निगारनी बढाएको महानगरीय प्रहरी अपराध महशाखाका एक प्रहरी अधिकृतले बताए। 'नेपालमा धेरै चिनियाँ पर्यटकका रूपमा आउने गरेका छन्।
सबै पर्यटक घुम्नमात्रै आउँछन् भन्ने छैन। अवैध गतिविधिका गिरोह पनि नआएका भन्न सकिन्न। ठमेलमा अहिले शंकास्पद गतिविधि देखिएका छन्', हनुमानढोका प्रहरीका एक अधिकृतले भने।
0 comments
प्रतिक्रिया दिनुश
Facebook