हाम्रो समय

डाक्टर केसीलाई एमाले नेताहरु भेट्दै


अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बारे शनिबार जानकारी लिंदै पुर्व प्रधानमन्त्री एवं एमाओवादी नेता बाबुराम भट्टराई । तस्विर साभार बाबुराम भट्टराईको फेसबुक
काठमाडौ, चैत्र १४ - मेडिकल शिक्षामा सुधारको माग गर्दै शिक्षण अस्पतालमा आमरण अनसन बसेका प्रा.डा. गोविन्द केसीलाई भेट्न सातौं दिन एमाले नेताहरु अस्पताल पुग्दैछन् । अहिले दिउसो ३ बजे एमाले उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराईसहितका नेताहरु अस्पताल पुग्दैछन् । 'अनसनले उहाँको स्वास्थ्यस्थिति खराब भएकाले भेट्न जान लागेका हौं,' सचिव भट्टराईले ईकान्तिपुरलाई बताए ।

डा. केसीले उठाएका प्रमुख मागमध्ये मेडिकल कलेजहरुलाई दिन लागिएको सम्बन्धन रोक्नुपर्ने भन्ने पनि छ । यो माग विरुद्ध केही एमाले सभासद्हरुले बोल्दै आएका छन् । पार्टी निकट सहकारीले चलाउन लागेको मनमोहन मेडिकल कलेज केसी अनसनले गर्दा सम्बन्धन नपाउने कलेजमा पर्छ । एमाले सभासद् राजेन्द्र पाण्डे तथा वंशिधर मिश्रले यसअघि व्यवस्थापिकामा नै डाक्टर केसीको विरोध गरेका थिए । मिश्रले त केसीलाई 'पागल'को संज्ञा दिएका थिए । यो सहकारीमा १ सय ४६ एमाले सभासद्हरु सदस्य रहेको बताइएको छ ।

उनको स्वास्थ्यस्थिति बिग्रिन थालेपछि आज डाक्टर केसीलाई भेट्न एमाओवादी नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्राई र नारायणकाजी श्रेष्ठ प्रकाश अस्पताल पुगे । दुवै नेताहरुले केसीका मागप्रति ऐक्यबद्धता जनाए । आजै सरकारका मुख्य सचिव लिलामणि पाैडेलले पनि उनलाई भेटेका छन् ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook