प्रधानमन्त्री नआएपछि १० लाख स्वाहा
ललितबहादुर बुढा | २०७१ चैत्र १६ सोमबार
सातवटा खसीको मासु खेर गयो
सुर्खेत : सुर्खेतमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला नआएपछि उनको स्वागतका १० लाख बढी खर्चेर गरिएको तयारी व्यर्थ भएको छ ।
भेरी–बबई डाइभर्सन आयोजनाको शिलान्यास गर्ने कार्यक्रममा प्रधानमन्त्रीसहितको उच्चस्तरीय सरकारी टोली सोमबार सुर्खेत नआएपछि उक्त आयोजनाको १० लाख रुपैयाँ स्वाहा भएको हो ।
प्रधानमन्त्री आउने भनेपछि आयोजकले कार्यक्रमस्थल बवईमा तामझामका साथ तयारी गरेका थिए । आयोजनाको शिलान्यासमा प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री बामदेव गौतम, सिचाइँमन्त्री एनपी सावदसहितका सरकारी अधिकारी आउने कार्यक्रम थियो ।
तर, सोमबार बिहानैदेखिको वर्षाका कारण काठमाडाैंबाट हेलिकोप्टर उड्न नसकेपछि अन्ततः दिउँसो २ बजे कार्यक्रमै स्थगित भयो । सोमबारको शिलान्यास कार्यक्रम स्थगित भएपछि आयोजनाको करिब १० लाख रुपैयाँ खेर गएको हो ।
राष्ट्रिय गौरबको घोषणा गरिएको यो आयोजनाको शिलान्यास प्रधानमन्त्रीबाटै गराउने लामो कसरत गरिएको थियो । त्यसैले शिलान्यासस्थलमा तामझामपूर्ण तयारी थियो ।
नेपालगञ्जबाट सामान ल्याएर मञ्च निर्माण र सजावट गरियो । कार्यक्रमस्थलमा भोजका लागि सातवटा खसी काटिए भने दुईवटा खसी काट्न बाँकी थिए । कार्यक्रममा आउने करिब एक हजार बढीलाई खाना पकाइएको थियो । कार्यक्रम स्थगित भएपछि खाना नै नखाई धेरै सहभागी फर्किए ।
कार्यक्रमस्थलको सुरक्षाका लागि बाँके र सुर्खेतबाट सुरक्षाकर्मी परिचालन भएका थिए । सिचाइँ सविच, सिचाइँ विभागका महानिर्देशक, सरकारी कर्मचारी, राजनीतिक दलका कार्यकर्तादेखि जिल्लाका सभासदसमेत कार्यक्रमस्थलमा थिए ।
झाँकी र बाजागाजासहित हातमा फूलमाला लिएर प्रधानमन्त्रीको स्वागतका लागि स्थानीय प्रतिक्षारत थिए । तर, वर्षाका कारण हेलिकोप्टर उड्न नसक्ने भन्दै काठमाडौंबाट प्रधानमन्त्री नआएपछि आयोजनाको शिलान्यास हुन सकेन ।
त्यही कारण कार्यक्रमको तयारीमा लगाइएको १० लाख रुपैयाँ खेर गएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकालले जानकारी दिए ।
‘प्रधानमन्त्री आउने भएपछि हामीले शिलान्यासको लागि भव्य तयारी गरेका थियौं’, उनले भने, ‘वर्षाले उहाँहरु आउन सक्नु भएन । शिलान्यासका लागि करिब १० लाख जति खर्च हुने पूर्वानुमान हाम्रो थियो, त्यति खर्च भएजस्तो छ ।’
सोमबार स्थगित कार्यक्रम मौसममा सुधार भए मंगलबार प्रधान्मत्रीबाटै गरिने बताइएको छ । यदि प्रधानमन्त्री मंगलबार आएमा कार्यक्रमको तयारीमा थप रकम खर्च हुने भएको छ ।
आयोजनाको शिलान्यासमै लाखौं रकम खेर फालिएको भन्दै स्थानीयले भने असन्तुष्टी जनाएका छन् । उनीहरुले काठमाडौँबाट सरकारी टोली आउन नसके पनि स्थानीय अधिकारीबाटै आयोजनाको शिलान्यास गर्नुपर्नेमा जोड दिएका छन् । य
सो भएमा आयोजनाको रकम सदुपयोग हुने उनीहरुको भनाइ छ । यो आयोजना अन्र्तगत १२ किलोमिटर सुरुङ खनेर सुर्खेतको भेरी नदीको पानी बवई नदीमा खसालेर ४८ मेगावाट विद्युत उत्पादन गर्ने तथा बाँके र बर्दियामा सिचाइँ गर्ने लक्ष्य राखिएको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook