कामरेडले यसरी चलाए ‘जबरजस्ती करणीको उद्योग’
'तीन श्रीमतीका जोइ, कुना पसी रोई'
२०७१ चैत ६ गते २०:१० मा प्रकाशित
झम्कप्रसाद पराजुली
झम्कप्रसाद पराजुली
फरार रहेका पराजुली नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीे केन्द्रीय सदस्य हुन् । विप्लव समूहमा लाग्नुपूर्व उनी एमाओवादीको बारा जिल्ला कमिटी उपाध्यक्ष थिए ।
आफैलाई बेलाबखत खाना पकाएर खुवाउने आफ्नै कार्यकर्ताकी अवोध छोरीमाथि जबरजस्तीकरणीको उद्योग गरेपछि पराजुली अहिले फरार छन् ।
पार्टीमा शिखर नामले चिनिने ४७ बर्षीय पराजुलीले निजगढमा आफ्नै छोरीसरहकी किशोरीमाथि जबरजस्तीकरणीको उद्योग गरेका हुन् । घटनापछि किशोरीले विष सेवन गरेर आत्महत्याको असफल प्रयाससमेत गरिन् ।
‘किशोरीका बुबासँग पराजुलीको पहिल्यैदेखि चिनजान र राजनीतिक सम्बन्ध थियो’ इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक कैलाश राईले भने- ‘बाबुआमा घरमा नभएका बेलामा पुगेका पराजुलीले किशोरीलाई जबरजस्तीकरणी गर्ने प्रयास गरेछन् । संवेशनशील अंगमा हात लगाएछन् । पीडितले उजुरी दिएपछि हामीले उनको खोजी गरिरहेका छौं ।’
राईका अनुसार पराजुली फागुन ७ गते बिहान साढे ८ बजे पीडित किशोरीको घरमा पुगेका थिए । आफ्ना पिताका साथी रहेका पराजुलीले यस्तो हर्कत गरेपछि किशोरीले बिष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् ।
स्थानीयले किशोरीको उद्धार गरेर निजगढकै अस्पतालमा भर्ना गरेका थिए । त्यसपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो ।
‘किन बिष सेवन गरेको भनेर बुझ्दै जादाँ ती किशोरीले माओवादीका केन्द्रीय सदस्य पराजुलीको हर्कतका बारेमा जानकारी गराइन्, प्रहरी निरीक्षक राईले भने, त्यसपछि जबरजस्ती करणी उद्योगअन्तर्गत पराजुलीमाथि कारवाही अगाडि बढाइएको छ र उनको खोजी भइरहेको छ ।’
घटनापछि पराजुली फरार रहेकाले पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रवीन्द्र रेग्मीले बताए ।
तीन श्रीमतीका जोइ, तीन छोराछोरीका पिता
दोलखा घर भई जनयुद्धकालदेखि नै बारामा बसोबास गर्दै आएका माओवादी नेता पराजुली यौन मामिलामा पहिल्यैदेखि कमजोर मानिन्थे ।
जनयुद्धकालमा मकवानपुरको धियाल गाउँमा एक किशोरीमाथि यौन दुराचार गरेको आरोप लागेपछि उनी केही महिना पार्टीभित्र आन्तरिक कारवाहीमा परेका थिए ।
पराजुलीका हाल तीनजना छोराछोरी छन् । पराजुलीकी पहिली पत्नी जनयुद्धमा सहिद भइन् । सहिदका तर्फबाट एक सन्तानको जायजन्म भयो ।
जनयुद्धकालमा माओवादीको जिल्ला सेक्रेटरीसमेत बनेका पराजुलीले पहिली पत्नीको देहान्तपछि दोस्रो विवाह गरे । तर, पराजुलीलाई चिनेपछि दोस्री पत्नीले उनलाई छाडिन् । सम्बन्धविच्छेद गरेकी दोस्री पत्नी अहिले व्यवसायिक पत्रकारितामा पेशामा आवद्ध छिन् ।
दोस्री पत्नीले छाडेपछि पराजुलीले तेस्रो विवाह गरे । तेस्री श्रीमतीका तर्फबाट उनका थप दुई सन्तान रहेको दोलखाका एक एमाओवादी नेताले बताए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook