हाम्रो समय

तेजाब खन्याउने युवकलाई ‘ज्यान मार्ने उद्योग’


कानूनविद् भन्छन्-१० देखि १२ वर्ष थुन्नुपर्छ
२०७१ चैत ६ गते १७:४० मा प्रकाशित

६ चैत, काठमाडौं । दुई किशोरीमाथि तेजाब आक्रमण गर्ने जीवन बिकलाई प्रहरीले ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाउने भएको छ ।
तेजाब आक्रमणसम्बन्धी अपराधबारे कानूनमा अलग्गै व्यवस्था नभएकाले प्रहरीले बिकलाई ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा चलाउन लागेको हो ।
‘तेजाव आक्रमणकारीलाई मुलुकी ऐनको ज्यान मार्ने अन्तरगत मुद्दा अघि बढाउने तयारी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय हनुमानढोकाका डीएसपी दिनेश आचार्यले अनलाइनखबरसँग भने ।
तर, शुक्रबार सरबारी विदा परेकाले प्रहरीले बिकलाई आइतबारमात्रै अदालतमा पेश गर्ने भएको छ ।

मुलुकी ऐनको ज्यान ज्यान सम्बन्धी महलमा तेजाब आक्रमणबारे कुनै उल्लेख छैन । ज्यानसम्बन्धी महलको १६ नम्बरमा ज्यान मर्न सक्ने कुनै कुरा गरेमा ज्यान मरेको भए १० वर्षदेखि १५ वर्ष र नमरेको भए ५ वर्षदेखि १२ वर्षसम्म जेल सजायँ हुने उल्लेख छ ।
कानूनमा दुविधा, अपराधीलाई सुविधा ?
फौजदारी न्याय सिद्धान्तअनुसार कुनै पनि अपराधबारे कानूनमा स्पष्ट उल्लेख भएन भने अपराधीले कानून नहुनुको सुविधा पाउने र उनीहरु उम्कन सक्ने खतरा रहन्छ ।
विज्ञहरुका अनुसार ज्यान मार्ने उद्योगसम्बन्धी अपराध हुनका लागि ज्यान मार्ने मनसाय आवश्यक हुन्छ । दुई किशोरीमथि एसिड प्रहार गर्ने युवकको ज्यान मार्ने मनसाय थियो कि थिएन भन्ने कुराले यो मुद्दामा प्रभाव पार्ने देखिन्छ ।
एसिड आक्रमणकारी बिकलाई पक्राउ गर्न प्रहरील सफल भए पनि उनीमाथि कस्तो सजायँ हुन्छ भन्नेबारे नेपालमा स्पष्ट कानूनी व्यवस्था छैन ।
युवतीमाथि तेजाब खन्याउनेलाई फाँसीको सजायँ हुनुपर्ने जनमानसबाट आवाज उठिरहेको छ । तर, नेपालमा मृत्युदण्डको व्यवस्था नभएकाले २० वर्षीय जीवन बिकले त्यस्तो सजायँ पाउने स्थिति छैन ।
नेपालमा महिलामाथि तेजाब खन्याउने अपराधीलाई सजायँ गर्ने विशिष्ट कानून नै अहिलेसम्म बनेकै छैन । त्यसैले अन्य कानूनको सहारामा तेजाब आक्रमणकारीलाई मुद्दा चलाइनुपर्ने कानुनविदहरु बताउँछन् ।
तेजाब आक्रमणकारीलाई सार्वजनिक अपराध वा कुटपिट अन्तरगत मुद्दा चलाउँदा अपराधीलाई थोरैमात्र सजायँ हुने भएकाले प्रहरीले भनेजस्तै ज्यान मार्ने उद्योगअन्तरगत नै मुद्दा चलाइनुपर्नेमा कानूनविदहरु पनि सहमत देखिन्छन् ।
प्रेस काउन्सिलका अध्यक्षसमेत रहेका बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीको विचारमा तेजाब आक्रमणकारीमाथि मुलुकी ऐनको ज्यानसम्बन्धी महल अनुसार ज्यानमार्ने उद्योगमा १० वर्षको जेल सजायँ हुन सक्ने देखिन्छ ।
अधिवक्ता हरि मैनालीका अनुसार एसिड आक्रमणकारीलाई ज्यान मार्ने उद्योग अन्तरगत ४ देखि १२ वर्षसम्म जेल सजायँ हुन सक्छ । अदालतले पीडित किशोरीका लागि क्षतिपूर्ति समेत भराउन सक्छ ।
मैनालीका अनुसार एसिड आक्रमणमा छुट्टै कानून नभए पनि अपराधीले उम्कन पाउने छैन । सबैखाले फौजदारी अपराधैपिच्छे अलग-अलग कानून बनाउन सम्भव नहुने मैनाली बताउँछन् ।
‘यसप्रकारका जघन्य अपराधलाई जघन्य अपराधको श्रेणीमा राखेर हदैसम्मको सजायँ गरिनुपर्छ,’ मैनालीले अनलाइनखबरसँग भने,’यस्ता प्रकारका अपराधको तुलनामा, अपराधको वर्गीकरण कारवाही प्रभावकारी हुन सकेको छैन ।’
अधिवक्ता दिलकुमारी राईको विचारमा छुट्टै कानूनले सम्बोधन नगरेका विषयलाई पनि मुलुकी ऐनअन्तरगत कानूनी कारवाहीको दायरामा ल्याउन सकिन्छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook