हाम्रो समय

बिदा भए रामनाथ



चैत २२ print


नेकपा एमालेका पोलिटब्युरो सदस्य रामनाथ ढकालको ५२ वर्षको उमेरमा आज दिउसो ग्र्यान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ।
आइसियुमा उपचार गराइरहेका बेला उनलाइ दिल्ली लैजान चैत १४ गते नै एयर एम्बुलेन्ससमेत बोलाइएको थियो। तर, मौसमले साथ नदिएपछि र स्वास्थ्य समस्या झन् बढ्दै गएर एयर एम्बुलेन्ससम्म लैजान पनि समस्या हुने भएपछि दिल्ली नलैजाने निर्णय गरिएको थियो।
ढकाललाई टिबी भएपछि भारतमा उपचार गराएर साढे चार महिनादेखि औषधी पनि सेवन गरिरहेका थिए। एमाले महाधिवेशनलगत्तै उनी उपचारका लागि दिल्ली गएका थिए। त्यतिबेलै रक्तकोषिकासम्बन्धी रोग पहिचान भएको थियो।
पछिल्लोपटक उनी ग्र्यान्डीमा भर्ना भएको केहीबेरमै फोक्साको झन्डै ८० प्रतिशत भागले काम गर्न छाडेको थियो। लगत्तै किड्नी र अन्य विभिन्न स्वास्थ्य समस्या पनि देखिएको भन्दै चिकित्सकहरूले पार्टीका नेताहरूसित परामर्श गरेका थिए। नेता ढकालको उपचारको व्यवस्था मिलाउन एमालेका पदाधिकारीहरू निरन्तर अस्पताल पुगेका थिए। नेता ढकाल अस्पताल भर्ना भएदेखि निरन्तर उनको रेखदेखमा खटिएका एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले अस्पताल र चिकित्सकहरूको निरन्तर प्रयासपछि पनि नेता ढकाललाई बचाउन नसकिएको बताए।
को हुन् उनी?
स्पष्टवक्ता, जुझारु र समाजसेवामा रुची राख्ने नेता ढकाल एमालेमा उदीयमान र सम्भावना भएका लोकप्रिय नेता थिए। ढकालको जन्म २०१९ पुस ५ गते गुल्मीको खड्गकोट गाविस-३ उपल्लो कोरेङमा भएको थियो। दीनानाथ ढकाल र देवकला ढकालका छोरा ढकालले २०३६ सालबाट राजनीतिक यात्रा थालेका थिए। उनले त्यो बेलाको नेकपा मालेको विद्यार्थी संगठनबाट राजनीतिमा पाइला हालेका थिए। नेकपा एमालेको पोलिट्ब्युरो सदस्य ढकाल भदौमा भएको नवौं महाधिवशेनबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए।
राजनीतिमै सक्रिय रहँदा २०४४ सालमा पहिलोपटक पक्राउ परेका ढकालले पटक-पटक गरी डेढ वर्ष जेल जीवन बिताएका थिए। २०५० सालमा अनेरास्ववियुको अध्यक्ष भएका ढकाल एमाले पार्टी केन्द्रीय विभाग सचिव, लुम्बिनी अञ्चल समन्वय कमिटी सचिव र हालै लुम्बिनी अञ्चल इन्चार्ज भएका थिए। तर, विडम्बना उनले इन्चार्जको जिम्मेवारी पाए पनि बहन गर्न भने पाएनन्।
एमालेको हालै सम्पन्न नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएपछि हाल एमाले पोलिट्ब्युरो सदस्य थिए। यो पटक पनि पार्टीले उनलाई लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी दिएको थियो।
पञ्चायतकालमा उनीमाथि पटक-पटक आक्रमण हुनुका साथै हत्या प्रयाससमेत भएको थियो। लुम्बिनी अञ्चलबाट एमालेको आशालाग्दा नेताका रूपमा राजनीतिक क्षेत्रमा उदाएका नेता ढकाल एमाले पार्टीभित्र मात्र होइन, सर्वसाधारणका बीचमा समेत लोकप्रिय थिए। काठमाडौँ बुढानीलकण्ठमा बस्दै आएका ढकालका पत्नी, दुई छोरा र एक छोरी छन्।
यसैबीच नेता ढकालको निधनपछि उनको गृह जिल्ला रुपन्देहीका पार्टीका नेता कार्यकर्ता शोकमग्न भएका छन्। ढकालको निधनबाट एमाले लुम्बिनी अञ्चलको पार्टीको आन्दोलनलाई अपूरणीय क्षति पुगेको एमाले रुपन्देहीले जनाएको छ। एमाले रुपन्देहीका सचिवालय सदस्य बलहादुर आचार्यले नेता ढकालको निधनले पार्टीलाई अप्ठ्यारो पर्दा पार्टीका नेताहरूबीच मध्यमार्गी भूमिका निर्वाह गर्ने एकजना होनहार व्यक्ति गुमाएको प्रतिक्रिया दिए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook