बाँझोपनको पीडा हल गर्ने सजिलो उपाय
ओयसनेपाल डटकमले लेखेको छ ।रमाइलो प्रसंग, विवाह भएको बाह्र वर्षसम्म सन्तान नभएपछि इश्वरी विकले घरभित्र मात्र होइन समाजबाट पनि रुखो व्यवहार सहनुपर्यो।
आफ्नै लोग्नेले पनि सम्पूर्ण दोष लगाउँदै अर्को बिहे गर्ने धम्की दिएपछि सन्तान प्राप्तिका लागि उनले मन्दिरहरु चहार्दै भाकलसमेत गरिन् तर उनको कोख बाँझै रह्यो। काखमा आफ्नै बच्चा खेलाउने इच्छाले लोग्नेसँग काठमाडौं आएर जँचाउँदा बच्चा नहुनुको भेद थाहा पाएपछि उनी छक्क परिन्। भेद खुलेपछि उनका श्रीमान्ले नै पश्चात्ताप गरे।
दुवैलाई निःसन्तान केन्द्रमा उपचार गराउँदा इश्वरीको पाठेघरको मुखमा सानो घाउ देखियो, जुन उपचार गराउँदा ठीक हुन्थ्यो। विडम्बना, उनको लोग्नेको वीर्य जाँच गराउँदा शुक्रकीट नै नभएको पाइयो। अन्त्यमा कृत्रिम उपचार प्रविधिद्वारा सन्तान जन्मिएपछि परिवारमा खुसी छाएको छ। एक अध्ययनअनुसार नेपालका विवाहित दम्पतीमध्ये झन्डै १५ प्रतिशतले विभिन्न समस्याले गर्दा सन्तान जन्माउन सकेका छैनन्। निःसन्तान हुनुको पीडासँगै आपसी मनमुटाव, पारिवारिक पीडा र समाजको होच्याउने व्यवहारले दम्पतीलाई ठूलो चोट पुर्याइरहेको हुन्छ। त्यसमा पनि विशेषगरी महिलामाथि नै सम्पूर्ण दोष थोपर्ने गरेको पाइन्छ।
डेढ दशकदेखि निःसन्तान दम्पतीलाई परामर्श र उपचार सेवा दिंदै आउनुभएकी स्त्रीरोग तथा हर्मोन विशेषज्ञ डा।उमा श्रीवास्तव महिला वा पुरुषमध्ये कुनै एक अथवा दुवैमा समस्या भयो भने सन्तान नहुने बताउनुहुन्छ। सन्तान नहुनुमा ३५ प्रतिशत पुरुष, ३५ प्रतिशत महिला र झन्डै ३० प्रतिशत दुवै दम्पतीमा समस्या रहेको पाइएको छ। परिवार नियोजनका साधन प्रयोग नगरीकन दम्पतीबीच शारीरिक सम्बन्ध भएको दुइ वर्षसम्म पनि गर्भ रहन नसकेको खण्डमा निःसन्तान अथवा बाँझोपन भएको मानिन्छ।
यौनसम्पर्कको बेला साधनको प्रयोग गरिएको छैन भने झन्डै ८० प्रतिशत दम्पतीको एक वर्षमै सन्तान जन्मिन्छ। त्यस्तै गरी झन्डै ९० प्रतिशतको विवाह गरेको दुइ वर्षामा बच्चा जन्मिनसक्छ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook