हाम्रो समय

डिएसपीसँग ‘अप्रिल फुल’ मनाउँदा फन्दामा


Posted: Wednesday, Apr 01, 2015 17:18 PM
  ओखलढुंगा, चैत १८– अप्रिल १ मा आफन्त वा साथीभाइलाई ढाँटेर रमाइलो गर्नु स्वाभाविक मानिन्छ । तर प्रहरीसँगै अप्रिल फुल मनाउन खोजियो भने के होला ? ओखलढुंगाका एक व्यक्ति जिल्ला प्रहरी कार्यालयका डिएसपी डम्बरबहादुर विकसँग ‘अप्रिल फुल’ मनाउन खोज्दा फन्दामा परेका छन् ।
घटना रोचक छ । एका बिहानै डिएसपी विकसहित जिल्ला न्यायाधीश सुभाषबाबु पुरी, प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई सँगै चिया पिइरहेका थिए । एक्कासी ९८४२९७२८०८ नम्बरबाट डिएसपी विकलाई फोन आयो । फोन गर्ने व्यक्ति थिए, पात्ले गाविसका डिकबहादुर तामाङ । ‘तामाङले ‘गाउँमा मान्छे झुण्डिएर मरेको’ खबर गरे’ डिएसपी विकले भन्नुभयो, ‘सुरक्षा प्रमुख भएकाले श्रीचौर गाविसबाट प्रहरी टोली परिचालन गरेँ ।’
प्रहरी टोली पाँच/छ घण्टा लगाएर पात्ले पुगी खोजीनीति गर्दा कतै मान्छे मरेको फेला परेन । प्रहरीले डिएसपीलाई फोन आएको नम्बरमा टेलिफोन गरेर केरकार गर्दा जवाफ आयो, ‘अप्रिल फुल मनाएको हजुर ।’ एका बिहानै अप्रिल फुल भनेर डिएसपीलाई ढाँट्ने र प्रहरीलाई दुःख दिने तामाङलाई व्यक्तिलाई पक्राउ गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बैद्यनाथ यादवले जानकारी दिनुभयो । तामाङलाई कारवाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ । सुरक्षा र ज्यान जस्तो संवेदनशील विषयमा अप्रिल फुल भन्दै अनावश्यक दुःख दिनेलाई कारवाही गरिने डिएसपी विकले बताउनुभयो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook