हाम्रो समय

मच्छिन्द्रनाथको साइत पूजामा अनौठो चलन


Posted: Sunday, Apr 05, 2015 08:41 AM
शर्मिला राजोपाध्याय्/ उज्यालो । काठमाडौं, चैत २२ – रातो मच्छिन्द्रनाथको महास्नानसँगै आइतबार बेलुकी रथ निमार्णको लागि साइत पूजा हुँदैछ । मच्छिन्द्रनाथको महास्नान गरिएकै दिन रथ निर्माणको लागि साइत पूजा गर्ने चलन छ ।
यसपाली रातो मच्छिन्द्रनाथको रथयात्राको १२ वर्षे विशेष जात्रा भएकोले  रथको साइत पूजा ललितपुरको बुंगमतीमा हुँदैछ । अरु बेला साइतपुजा पुल्चोकमा हुने गर्दछ ।
साइत पूजा भनेर रथ बनाउने काठको पूजा गर्ने हो । रथलाई थेग्ने चारवटा काठलाई बाराही समुदाय र यंवा समुदायका नाइकेले पूजा गर्दछन् । रथ बनाउने क्रममा बाराही समुदायले काठसँग सम्वन्धित  सबै काम गर्दछ भने यंवा समुदायले डोरीसँग सम्वन्धित काम गर्दछ ।
साइत पूजा गर्ने चलन अनौठो खालको छ । रातो मच्छिन्द्रनाथलाई चारवटा चाँदीको कलशमा मह र दूघ मिसिएको जल राखेर चारजना पुजारीले डबलीको चारैदिशाबाट नुहाइदिने धार्मिक प्रक्रियालाई महास्नान भनेर भनिन्छ । यसरी महास्नान गरेपछि पुजारीले  बाराही समुदायका नाइके र यंवा समुदायका नाइकेलाई मन्दिरमा चढाएको चामल दिनुपर्ने चलन छ । चामल दिँदा बाराही नाइकेलाई २४ अँजुली र यंवा नाइकेलाई १२ अँजुली छुट्याइन्छ ।
त्यस्तै पुजारीले उनीहरुलाई फूल, धुप,अबिर लगायतका धार्मिक साम्रागी पनि दिन्छन् । सामग्री पाएपछि दुवैजना नाइकेले जुत्ता नलगाएर, कसैसँग नबोलेर मन्दिरको तीनफेर घुम्ने गर्छन् । यसरी घुम्दा चामल छर्किनु पर्दछ ।
मन्दिरको परिक्रमापछि दुवैजना नाइके महास्नान गरिएको डबलीमा गएर त्यहाँ विराजमान रातो मच्छिन्द्रनाथको मूर्तिलाई पनि चामल छर्किदै तीनफेर परिक्रमा गर्दछन् । यसरी मन्दिर र मूर्तिको परिक्रमा गरेपछि उनीहरु रथ बनाउने ठाउँमा जान्छन् ।
त्यहाँ रथ बनाउनको लागि चार वटा खम्बालाई मिलाएर राखिएको हुन्छ ।  पुजारीले दिएको बाँकी भएको चामल र पहिल्यै मिलाएको पूजा थालीबाट उनीहरुले पूजा गर्दछन् । पूजा गर्दा बाराही नाइके पूर्वतिर फर्कन्छन् भने यंवा नाइके पश्चिमतिर फर्कन्छन् । नेपाल भाषामा हामो की तायगु भनेर भनिने साइत पूजा गरेको भोलिपल्ट रथ निर्माणको काम शुरु हुन्छ ।
यसरी पूजा गरेको १५ दिनपछि रथ बनाउने पर्ने समयसीमा हुन्छ । यसपाली भने त्रयोदशी तिथि नभएको कारण १४ दिनमा बनाउनुपर्दछ । झण्डै ६५ फिटको निकै अग्लो रथ एउटा पनि किला नराखीकन तयार हुन्छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook