हाम्रो समय

चार तलाबाट खसेकी जेनिशा अस्पतालबाट घर फर्किइन



२०७१ चैत्र १८ बुधवार

काठमाडौं: चार तल्लामाथिबाट खसेर गम्भिर घाइते भएकी बालिका जेनिशा भण्डारी मगंलबार राजधानीको ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

काठमाडौंको गोंगबुस्थित लक्कि गेष्ट हाउसको चार तलामाथिबाट खसेर फलामको सुलीमा परेकी १९ महिने बालिका जेनिशा एक महिनाभन्दा लामो उपचारपछि डिस्चार्ज भएकी हुन् । ग्राण्डी अस्पतालले पत्रकार सम्मेलन गरी जेनिशाको सफल उपचार भएको जानकारी गराएको थियो ।


गत फागुन १२ गते हृदय बिदारक दुर्घटनामा परेकी जेनिशाकी आमा सरस्वती घर सरसफाई र होटलको भाँडा माझेर जीविकोपार्जन गर्दै आएकी थिईन् ।

जेनिशाको उपचारमा संलग्न कन्सल्ट्याण्ट बाल शल्य चिकित्सक डाक्टर आरपी चौधरीले उनको उपचार अत्यन्त चुनौतिपूर्ण अवस्थामा गरेको र ग्राण्डी अस्पताल भन्दा बाहिर यस किसिमको उपचार सम्भव नरहेको बताएका थिए ।
जेनिशाको मृगौलामा समेत चोट लागेकाले तीन सातापछि उनको  अर्को शल्यकृया गर्नुपर्ने समेत डाक्टर आर पी चौधरीले जानकारी गराएका छन् ।
अस्पतालका तर्फवाट बोल्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले उपचारमा सहयोग गर्नुहुने मनकारी र सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए ।

उनले जेनिशाको उपचारमा सहयोगबाट प्राप्त रकम अपुग भएमा पनि अस्पतालले उनको उपचार गर्ने र उनलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

डाक्टर पाण्डेले ग्राण्डी अस्पतालको सेवा सर्वसाधारणमा पुर्याउन पाँचसय रुपैँयाको सुलभ वेड समेत उपलब्ध रहेको जानकारी समेत गराएका थिए ।

छोरी दुर्घटनामा परेपछि उपचार खर्च अभावमा छट्पटाईरहेकी सरस्वती र जेनिशाको दर्दनाक स्वास्थ्य अवस्थाबारेको समाचार बिभिन्न संचार माध्यमहरुमा आएपछि उनको उपचारका लागि देश–विदेशबाट सहयोग प्राप्त भएको थियो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook