हाम्रो समय

तिम्रो सम्झनामा अन्तिम सम्बोधन



प्रकाशित मिति: 12:05:15 pm, April 04, 2015

हिजोआज मन चैते हुरीजस्तै कहाँ हो कहाँ पुग्न खोजे जसरी वेग लिन्छ । मनभित्रका उकुसमुकुस सबै बढारिएर आउँछ । फेरि क्षणभरमा नै मन्थर भएर मभित्रको म खोज्दै थपक्क बस्छ । अनि, त्यति नै बेला बुढापाकाले भन्ने गरेको उखानमा मन एकनाशले टक्क अडिन्छ, ‘वन डढेको सबैले देख्छन्, मन डढेको कसैले देख्दैन ।’ त्यसैले पनि होला म पीडामा जलिरहँदा कठैबरा भन्ने कोही छैन । कोही भएको भए मनले सान्त्वना पक्कै पनि पाउँथ्यो होला नि ।
sandip bhatta
हिजो सँगै रहँदाका दिन सम्झन्छु । मन एक्कासि भक्कानिएर आउँछ । एक्कासि आँखाबाट तिमी आँसु भएर बग्न खोज्छौ । जब प्रेसर कुकरमा हावाले ठाउँ नपाउँदा सिठीको रूपमा हावा बाहिर आउँछ नि, हो त्यसैगरी तिमीलाई सम्झँदा कहिलेकाहीँ धेरै यादहरुको भारीले मनमा नअटी आँखाको बाटो हँुदै भाग्न खोज्छौ तिमी ।
जब एकान्तमा बस्दा कसैको यादमा आँखाको नानीबाट टिलपिल टिलपिल भएर तप्पतप्प भुइँमा खस्छ नि, त्यही भुइँमा खस्ने आँसुको थोपा हो प्रेम । त्यसैले पनि मैले औधि प्रेम गर्न थालेको छु तिमीलाई ।
प्रेम जति सुन्दर छ, त्यति नै पीडादायक र भयानक पनि रैछ । थाहा छ तिमीलाई, म आज कति धेरै खुसी छु ? कारण, तिमी खुसी छौ, फेरि तिम्रो खुसीमा रमाउने बानी परेको छ नि त ।
मेरा फेसबुकका मित्र धड्कन पुडासैनीले आफ्नो फेसबुकमा लेखेको कुराले मलाई एकचित्त बनाउँछ, ‘भित्तामा जति शक्ति लगाएर बल हान्छौँ, त्यति नै शक्ति लगाएर बल फिर्ता आउँछ । प्रेम पनि त्यस्तै हो । तर, दिनेले जति दिन्छ नि पाउनेले त्यति नपाउँदा असन्तुलन हुन्छ ।’
मैले पनि निकै बल प्रयोग गरेको थिएँ, तिम्रो माया पाउन । तर, तिमीले त्यति लिन नसक्नाले असन्तुलन भएको छ, मेरो प्रेम । त्यही असन्तुलनले होला आज मैले यो जीवन तिमीविनाको अभावमा तिम्रा यादहरुमा बिताउँदै छु । मैले त दिएको थिएँ । तर, तिमीले जतन गर्न सकिनौ । फेरि तिमीलाई जतन गर्न जरुरी पनि थिएन । जतन गरेर मजस्तो बेकम्मासँग तिमीले आफ्नो मनकारी मान्छे पनि त पाउन सक्ने थिइनौ ।
मलाई विगतले सताउँछ, वर्तमानले पिरोल्छ र भविष्यले तर्साउँछ । जे गरे नि सुख छैन, सधैँ तनाव छ । जिन्दगीमा हो तनाव नै तनाव र अभाव नै अभावका बीच चल्दै छ मेरो दैनिकी । मैले तिमीलाई कति माया गर्छु, त्यो तिमीले कहिल्यै महसुस गरिनौ ।
किनकि, तिमीलाई माया केलाई भनिन्छ भन्नै थाहा छैन । चोट दिने र लिने दुवै छन् यहाँ । त्यसैले एकथरि चित्त बुझाउँछन्, अर्कोथरि चित्त दुखाउँछन् । म पनि चित्त बुझाउनेमा पर्छु । जीवन भनेकै यादहरु सँगालेर बाँच्ने कला त रैछ नि । जतिवेला तिमीले मसँगको दूरी बढाएकी थियौ नि, त्यति बेलादेखि नै मैले आफूभित्रको भ्रम हटाएको छु । हुन त म हिजो पनि एक्लै थिएँ, आज पनि एक्लै । फरक यति हो, हिजो कोही नभएर एक्लो थिएँ, आज तिमी भएर पनि एक्लो छु ।
हाम्री आमाले भन्नुहुन्थो, ‘धेरै माया थोरै दिन, थोरै माया धेरै दिन ।’ यो कुरा आमाले मलाई पहिल्यै बुझाइदिएको भए र मैले बुझेको भए यो पहाडले किचेको जिन्दगी बोकेर कहाँ बाच्नुपथ्र्यो र ?
केही चोटहरु छन्, नदेखिने गरी गढेका । जसले यो मनलाई क्षणभरमै बहकाएर म रुन पुग्छु । रुन त म शिशुमा पनि रोएको थिएँ । तर, पहिलेको रुवाइ र अहिलेको रुवाइ फरक छ । पहिले जसरी आवाजहरु निकालेर रुन्थेँ नि, हो अहिले म त्यसरी रुन्न । तर, अहिले पनि रुन्छु, अहिलेको रुवाइ फरक छ । अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने विद्यालयमा प्रिन्सिपललाई लेखेको चिठीमा यसो पनि भनेका थिए, मेरो छोरालाई दिल खोलेर हाँस्दाहाँस्दै गम्भीर हुन कति जरुरी छ भन्ने कुरा सिकाइदिनू । मैले पनि यो कुरा मेरो जीवनमा थाहै नपाई लागू गर्न पुगेँछु ।
हुन त पहिले पनि कहाँ हाँसेको थिएँ र ? हाँसो पनि मेरो जीवनमा बिजुली चम्केसरि मात्रै आउँछ । आएको महसुस गर्न नपाउँदै क्षणभरमा नै विलीन हुने गरी । मैले जसलाई परेलीले ढाकेर राखेकोे थिएँ नि, आज त्यही आँखाको नानीले मलाई रुवाएर गएको छ ।
मलाई थाहा छ, तिमीबाट भाग्नु आफैँबाट भाग्नु हो, फेरि पनि तिम्रो याद मेरो दैनिकी भएको छ, श्वास फेरेजस्तै । जिन्दगी नै तिम्रै हो भनेर सुम्पँदा पनि आज तिमी जसरी टाढा भयौ नि, यो सिंगो माया गर्ने साँचो प्रेमीहरुको प्रहार हो ।
मलाई आज आएर महसुस हुँदै छ, यो दुनियाँमा बिनास्वार्थ माया गर्ने कोही त्यस्तो पात्र छ भने आमाबाहेकको कोही छैन ।
हो, आमाबाहेक कोही छैन । तर, मैले आमालाई गर्नुपर्ने भन्दा बढी माया तिमीलाई गरेँ र गर्छु । थाहा छैन, किन यस्तो गर्दै छु ।
एक साहित्यकारले भनेको जस्तै ‘प्रत्येक दिन म तिमीलाई धेरै मन पराउँछु । आजभन्दा बढी, हिजोभन्दा धेरै र भोलि भन्दा कम ।’ हो यी वैज्ञानिक रोसेमोन्डे जेरार्डले भनेजस्तै म पनि तिमीलाई औधि माया गर्छु, जुन माया म सानो छँदा झोलुंगोमा खेलाउँदै गर्दा मेरो आमाले भन्नुहुन्थो । एकादेशमा माया गर्ने राजा र रानी थिए भनेर, हो त्यस्तै माया । आमाको कथामा राजा र रानी निकै खुसी थिए । निकै सुखी थिए । एकअर्कालाई निकै माया गर्थे । तर, आज मलाई भने ठ्याक्कै त्यसको उल्टो भएको छ ।
सबैले बलेको आगो ताप्छन्, तिमी ताप्दिनौ मेरो मुटु जलिरहेको छ ? संगीतकार अर्जुन पोखरेलले चलचित्र स्टुपिड मनमा रहेको ‘तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्’ भन्ने गीतको प्रमोसन गर्ने क्रममा भनेका थिए, ‘जापानमा एकचोटि भूकम्प जाँदा उद्धार गर्ने क्रममा भग्नावशेष उत्खननका क्रममा एक जोडीलाई अंगालोमा मृत भेटे । त्यसैले यहाँ हरफ आयो, ‘आकाश झरे सहन्छु, दुःख परोस् सहन्छु तर तिमी हुनुपर्छ मेरो छेउ ।’ संगीतकारका कुरा म तिमीसँग दाँज्दै थिएँ । हामीसँगै जिउन पो सक्दैनौ त सँगै मर्न त सक्छौ नि ?
आजभन्दा बढी, हिजोभन्दा धेरै र भोलि भन्दा कम ।’ हो यी वैज्ञानिक रोसेमोन्डे जेरार्डले भनेजस्तै म पनि तिमीलाई औधि माया गर्छु, जुन माया म सानो छँदा झोलुंगोमा खेलाउँदै गर्दा मेरो आमाले भन्नुहुन्थो ।
मैले देखेको सपना त आज पनि मसँग जीवित नै छ, गएकी त तिमी मात्र हौ । मलाई आजकल तिम्रोबारे निकै चिन्ता लाग्छ, यति धेरै माया गर्ने मेरो माया त सम्हाल्न नसक्ने तिमीले कसको माया सम्हाल्न सकौली र खै ? मभित्रको म कहिलेकाहीँ उनको बारेमा नसोचु भन्छ, अनि मलाई सम्झाउन खोज्छ । घाम ढले पनि रातमा त चन्द्रमा चम्किएकै छन् नि भन्दै सम्झाउन खोज्छ । फेरि म एकोहोरो भएर आफूलाई त्यसो गर्न हुँदैन भन्दै एकनाशले एकटकले उनीमा नै आफ्नो भविष्य देखिरहन्छु ।
बाटो बिराउनेहरु नि आखिर बाटोमै त भेटिने हुन् नि भन्दै मन बुझाउन खौज्छु । हाँस्ने ओठभन्दा रुने आँखा माथि भएकाले हुन सक्छ, सधैँ आफू माथि भएको प्रभुत्व जमाउन खोजिरहन्छ, यो आँखाले मेरो जीवनमा । तर, मलाई भगवानसँग गुनासो पनि यही हो, संसारमा भएका सात अर्ब मानिसमध्ये मलाई नै किन यति विघ्न परीक्षा लिइरहेको छ ।
प्रेम जति सुन्दर छ, त्यति नै पीडादायक र भयानक पनि रैछ । थाहा छ तिमीलाई, म आज कति धेरै खुसी छु ? कारण, तिमी खुसी छौ, फेरि तिम्रो खुसीमा रमाउने बानी परेको छ नि त ।
प्रेम प्राप्ति मात्र होइन, सम्बन्धहरुको स्वीकारोक्ति पनि हो । योे जीवन म मुसो र बिरालोबीच हुने दौडसँग दाँज्छु । त्यसमा प्रायजसो जित मुसोको हुन्छ । किनकि मुसो जीवनका लागि दौडन्छ भने बिरालो खानका लागि ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook