सुन आयात स्वाट्टै घट्यो
आयात कम हुनुको प्रमुख कारण तस्करी
काठमाडौ, चैत्र २२ - गत आर्थिक वर्षको सुरुको ७ महिनामा १४ अर्ब ९७ करोड रुपैयाँको सुन आयात गरिएको थियो । राष्ट्र बैंकका अनुसार यसपालि त्यही अवधिमा १ अर्ब ८४ करोडको मात्र भित्रिएको छ । यो ८७ दशमलव ७ प्रतिशत कम हो ।
वैधानिक आयात कम हुनुको प्रमुख कारण तस्करी हो । यसले ठूलो मात्रामा राजस्वसमेत गुमेको छ । अवैध रूपमा आएको सुन तोलामा १ हजार रुपैयाँसम्म सस्तो हुने व्यवसायीहरू बताउँछन् । बैंकको प्रशासनिक झमेलालाई पनि उनीहरू दोष दिन्छन् । त्यस्तै विदेशबाट आउँदा तयारी गरगहना र ५० ग्रामसम्म सुन साथमा ल्याउन पाउने नियमले व्यवसायीले व्यक्तिमार्फत झिकाउने क्रम बढेको पाइएको छ ।
'पुराना गहनासँगै ५० ग्राम सुन ल्याउने क्रम बढ्दै गएको छ । तस्करीको सुन पनि बजारमा भित्रिएको आशंका गरेका छौं । माग्ाको केही अंश तस्करीको सुनले परिपूर्ति गरेको छ,' नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने, 'जसले गर्दा आयात कम देखिएको हो ।' उपभोक्ताको क्रयशक्ति घट्दै गएको पनि व्यवसायीको दाबी छ ।
व्यवसायीका अनुसार चीनका खासा र केरुङ दुवै नाकाबाट तस्करीको सुन आउँछ । अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत तस्करीको सुन छिर्छ । अवैध रूपमा भित्रिने अधिकांश सुन भारत पुग्छ । थोरै मात्रामा मुलुकभित्रै खपत हुन्छ । सस्तो हुने भएकाले व्यवसायी बढी त्यसमै आकषिर्त हुँदै गएका छन् । उनीहरूले बैंकको सुन नकिन्दा २ महिनाअघि करिब ४ सय किलो सुन थन्किएको बैंकहरूले बताएका थिए ।
नबिकेकाले केही महिनाअघि तीन महिनाका लागि बैंकहरूले सुन आयात नै रोकेका थिए । त्यसले गर्दा पनि आयात घटेको देखिएको व्यवसायीहरूको दाबी छ । बैंकहरूले होल्डिङ चार्ज, बिमालगायत शीर्षकका शुल्क लिँदा महासंघले तोक्ने भाउभन्दा बढी पर्ने गरेको उनीहरूको गुनासो छ ।
तस्करी बढ्नुको बहाना उनीहरू त्यसलाई समेत देखाउँछन् । 'झमेला र सास्तीबाट बच्न एवं बढी मूल्य तिर्नबाट जोगिन तस्करी बढ्दै गएको हो,' एक व्यवसायीले भने ।
चीनबाट नेपाल हुँदै भारत पुर्याउनेले दोहोरो फाइदा लिन्छ । महासंघका अनुसार एक किलो सुन आयातमा ५ लाख २० हजार रुपैयाँ राजस्व तिर्नुपर्छ । अवैध रूपमा भित्र्याउँदा त्यो जोगिन्छ । नेपालको बाटो हुँदै भन्सार छलेर भारतीय बजारमा पुर्याउँदा एक किलोमा २ लाख ८० हजार भारु -करिब ४ लाख ५० हजार रुपैयाँ) फाइदा हुन्छ । यसबाहेक सुन तस्करीबाट पाइएको भारु सीमा क्ष्ाेत्रमा महँगोमा बिक्छ । एक सय भारु १ सय ६५ सम्ममा बिक्ने गरेको छ । जबकि यसको सटही दर दुइ दशकदेखि १ सय ६० मा स्थिर छ । यी सबै लेखाजोखा गर्दा एक किलो सुन भारत पुर्याउँदा करिब ६ लाख रुपैयाँ नाफा हुने व्यवसायी बताउँछन् ।
राष्ट्र बैंकले अवैध आयात नियन्त्रणमा पटकपटक अनुरोध गरे पनि सम्बन्धित निकाय सफल भएको छैन । महासंघले पनि त्यस्तो सुन रोक्न सरकारी निकायसँग छलफल गरिरहेको शाक्यले बताए । सरकारले नेपालभित्र सुन आयात गर्न बैंकहरूले मात्रै पाउने व्यवस्था गरेको छ । बैंकले दिनको १५ किलो मात्रै सुन बेच्न पाउँछन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook