डाक्टरको सेतो कोट रोगको घर, सेतो कोटमाथि प्रतिबन्ध लगाउन माग
२०७२ साउन ७ गते ९:४१ मा प्रकाशित
डाक्टरहरुको पहिचान भन्नु नै लामो सेतो कोट हो । डाक्टरहरुले सेतो कोट लगाउने प्रचलन १९ औँ सताब्दीबाटै चलेको पाइन्छ र अहिले यो प्रचलन विश्वव्यापी बनिसकेको छ । डाक्टर भनिसकेपछि सफा हुनैपर्छ, डाक्टरले लगाउने लुगा पनि सफा हुनुपर्छ, नत्र उपचार गर्ने डाक्टरबाट उल्टै रोग संक्रमणको डर हुन्छ । अरु रङका कपडामा फोहोर खासै नदेखिने हुनाले होला डाक्टरहरुले सेतो रङको कोट लगाउने गरेको, ता की कोट अलिक फोहोर हुनेबित्तिकै देखिइहाल्छ र लगाउनेवालालाई सफा गर्न कर लाग्छ ।
तर सरसफाइ तथा संक्रमणहीनताको प्रतिक मानिने डाक्टरको त्यहीँ सेतो कोट रोगका किटाणुहरुको घर रहने गरेको अध्ययनले देखाएको छ । डाक्टरले लगाउने सेतो लामो कोटका कारण विरामीहरुमा रोग फैलिने खतरा उच्च रहेको भन्दै डाक्टरलाई लामो सेतो कोट लगाउन बन्देज गरिनुपर्ने जिकिर अनुसन्धानकर्ताहरुले गरेका छन् ।
भारतको बैंगलोरस्थित येनेपोया मेडिकल कलेजका शोधकर्ता एडमण्ड फर्नान्डेजले गरेको अध्ययनले डाक्टरहरुले लगाउने लामो सेतो कोटमा ठूलो संख्यामा हानिकारक जिवाणुहरु रहने हुँदा डाक्टरको कोटबाटै संक्रमण फैलिने र त्यसले विरामीलाई नै ठूलो हानी नोक्सानी पूराउने खतरा रहेको पुष्टि भएको छ ।
शोधकर्ता फर्नान्डेजका अनुसार लामो साइजको सेतो कोटमा जिवाणुयुक्त फोहोर ठूलो मात्रामा हुने र त्यसले अस्पतालमा रोगको संक्रमण फैलाउन ठूलो योगदान पूराउँछ ।
भारतका अस्पताल तथा मेडिकल कलेजहरुको उदाहरण दिँदै उनले डाक्टर तथा डाक्टरी पढ्ने विद्यार्थीहरुका लागि आफुले लगाएको सेतो कोट फेरिरहने उपयुक्त ठाउँ पनि नहुने हुँदा उनीहरुले कलेज तथा अस्पताल बाहिर पनि सेतो कोट लगाएरै हिड्ने र अन्य कामकाज र घुमफिर पनि गर्ने बताउँदै यसो गर्दा लगाएको कोटमा फोहोरमैला तथा जिवाणुहरु टाँसिने गर्छन् । उनका अनुसार जुनियर डाक्टरहरुले त सपिङ गर्दा र सिनेमा हेर्दा समेत विरामी जाँच्दा लगाउने सेतो कोट लगाउने गरेको पाइएको छ । अनि यसरी बाहिर हिँडडुल तथा अन्य काम गर्दा लगाएको सेतो कोट डाक्टरहरुले विरामीको उपचार गर्ने बेलामा पनि फेर्दैनन् । कोटको सफाइ पनि समयमै हुँदैन र केही हप्तामा मात्र कोट धुने गरिन्छ । यसो गर्दा ती कोटहरु किटाणुको लागि स्वर्ग बन्ने र डाक्टरका कोटबाटै रोगको संक्रमण फैलिने गरेको उनको भनाइ छ ।
उनका अनुसार सेतो कोट डाक्टरको सम्मान तथा इज्जतको प्रतिकको रुपमा कतिपयले लिने गरेको भएपनि सेतो कोट लगाउँदैन व्यवसायिकता तथा व्यक्तित्व नझल्किने र उल्टै रोगको खतरा बढ्ने दाबी उनको छ । बिरामीसँग हँसिलो मुख लगाएर व्यवहार गर्नु र सफा लुगा लगाउनु सेतो कोट लगाउनुभन्दा बढि महत्वपूर्ण हुने भन्दै उनले डाक्टरको कोटबाट हुने संक्रमण रोक्नका लागि चिकित्सा विद्यार्थी तथा डाक्टरहरुलाई सेतो कोट लगाउन बन्देज लगाइनुपर्ने उनको माग छ ।
स्मरण रहोस् बेलायतले सन् २००७ देखि नै डाक्टरहरुलाई लामो सेतो कोट लगाउनबाट बन्देज लगाएको छ । त्यस्तै अमेरिकाले सन् २००९ मै यस्तो बन्देज लगाउने प्रयास गरेको भएपनि डाक्टरहरुकै विरोधका कारण सम्भव भएन । एजेन्सीको सहयोमा
0 comments
प्रतिक्रिया दिनुश
Facebook