राजेश हमालले भने- जुवा खेलेरै राष्ट्रपतीय प्रणाली रोजेको हुँ !
करिश्माले भनिन्- नचल्ने चलचित्र फ्याँकिन्छ !
२०७२ साउन ९ गते २०:३४ मा प्रकाशित९ साउन, काठमाडौं । मुलुकमा राजनीतिकर्मी, बुद्धिजीवी र सर्वसाधारण नागरिकहरु संसदीय प्रणाली ठीक कि राष्ट्रपतीय प्रणाली ठीक भनेर विवाद गरिरहँदा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुखको प्रक्षमा उभिएका छन् ।
शनिबार ललितपुरको होटल हिमालयमा भएको राजनीतिक बहसमा सहभागी हुँदै नायक हमालले आफूले रिस्क मोलेर जुवा खेले जसरी नै राष्ट्रपतीय प्रणालीलाई समर्थन गरेको बताए ।
उता नायिका करिश्माले चाँहि प्रत्यक्ष निर्वाचित कार्यकारी सरकारको पक्षमा जाँदा जनता र राजनीतिज्ञवीच सीधा कनेक्सन हुने र परम्परामा ब्रेक लाग्ने भन्दै संसदीय प्रणालीको विकल्प खोज्न आवश्यक रहेको तर्क गरिन् ।
नचल्ने चलचित्र जसरी हलमा पुगेपछि फ्याँकिन्छ, त्यसैगरी जनताको पक्षमा काम नगर्ने नेता फ्याँकिने नायिका मानन्धरले लाक्षणिक अभिव्यक्ति दिइन् ।
कार्यक्रममा बोल्दै अर्का चलचित्रकर्मी तुलसी घिमिरे र अशोक शर्माले पनि प्रत्यक्ष निर्वाचित कार्य प्रमुख हुनुपर्ने तर्क गरे । नायक हमाल र नायिका मानन्धरको भनाइ, उनीहरुकै शब्दमा :
जुवा खेलेरै राष्ट्रपतीय प्रणाली रोजेको हुँ : राजेश हमाल
जनताले नेताहरुबाट जस्तो अपेक्षा गरेका थिए, त्यसको विपरीत पाएपछि जनता यतिबेला निराश बन्दै गइरहेका छन् । विगतका अनुभव हामीले बटुल्ने हो भने सत्तामोह, व्यक्तिगत स्वार्थ, दलीय स्वार्थ बढी देखियो । राष्ट्र र जनताप्रतिको भावना धेरै कम भयो ।
यही भएर पनि होला शायद नेपाली जनताले आज हामी जुन राजनीतिक प्रणाली अभ्यास गरिराखेका छौं, यही प्रणालीमै त्रुटी छ कि भन्ने निर्णयमा पुगेका होलान् । यसको विकल्प अहिलेको भन्दा धेरै राम्रो हो भन्ने हिसाबबाट होइन कि शायद यो प्रणालीमै कुनै दोष छ कि, अर्को प्रणाली अपनायौं भने शायद राम्रो हुन्छ कि ? शायद जनताले चाहेको यस्तै हुन सक्छ ।
अर्को विकल्पको राजनीतिक प्रणाली यो भन्दा धेरै उच्च हो भन्ने सोचाइबाट पक्का पनि हामीले त्यस्तो खोजेका होइनौं । हामी जनताको सोचाइ के हो भने लोकतान्त्रिक प्रणालीमै अर्को कुनै अप्सन छ भने यो फेलियर भइसकेको ठाउँमा अर्को अप्सन किन प्रयोग नगर्ने ? यही भनेरै शायद नयाँ विकल्पमा आवाज उठेको हुनुपर्छ ।
यो आवाज उठाउने मान्छेले यो सोचिराखेको छैन कि अर्को विकल्पमा जानेवित्तिकै राष्ट्रले तुरुन्तै निकास पाइहाल्छ । त्यसमा कुनै किसिमको नोक्सान हुँदैन भनेर हामीले सोचिराखेका छैनौं । हामीले त हेर्नोस् रिस्क मोलेरै, लोकतन्त्रमा यो कदम जुवा खेलेरै, शायद यो निकासले गर्ला भन्ने सोचेरै हामीले यो च्वाइस गरेका हौं ।
हामीले जुन देखिराखेका छौं, त्यो नभएर अर्कोतिर बढ्ता राम्रो होला कि ? म एउटा उदाहरण दिन चाहन्छु, नेपालमा सामान्य पेट दुखेर डाक्टर कहाँ गयो भने डाक्टरले के भन्छ भने तपाई दुईचार दिन भात नखानोस्, रोटी खानोस् । इण्डियामा चाँहि डाक्टरले भन्छ रे, तपाई दुईचार दिन रोटी नखानोस्, भात खानोस् ।
त्यसैले यो राष्ट्रपति प्रणाली नै देशको निकास हो भन्दा पनि यो अप्सनलाई ट्राई गरौं । शायद यसले निकास देला कि ? यसमा जुन रिस्क हामीले मोलिराखेका छौं, त्यो वास्तविकतामा परिणत हुन सक्दैन भन्ने होइन । जुन लोकतन्त्र सुनिश्चित होस् भन्छौं, त्यही पनि खतरामा पर्न सक्ने आधारहरु छन् ।
त्यसकारण मेरो पनि यो छनोट यसमा (राष्ट्रपतीय प्रणालीमा) हुनुको कारण एकदमै निर्धक्कका साथ अब यो संसदीय प्रणाली खराब हो र राष्ट्रपतीय प्रणालीले मात्रै निकास दिन्छ, त्यसकारण म यसैमा लाग्छु भनेर लाग्नु भन्दा पनि नेपालीजनतासँगै मैले पनि एउटा रिस्क मोलेको हो । एउटा जुवा खेलेरै शायद नेपाल र नेपाली जनतालाई यो प्रणालीले निकास देला कि भन्ने हिसाबले म आएको हो ।
अप्सनको कुरा गर्दा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीयमध्ये कुन राम्रो हो भनेर सोच्ने हो । हामीलाई लक्ष चाहिएको हो, माध्यम भन्दा पनि । तर, हामी नेपाली जनतालाई लोकतन्त्र धेरै पि्रय छ । त्यो चाहिँ हामी गुमाउन चाहँदैनौं । त्यसको छातामुनि रहेर जुनै पनि अप्सनमा जान सकिएला । त्यसैले यो सेकेन्ड अप्सनलाई रिस्क मोलेर किन प्रयोग नगर्ने ?
करिश्मा मानन्धर भन्छिन्- नचल्ने चलचित्र फ्याँकिन्छ !
म सामान्य जनताको हिसाबले मात्रै बोल्न चाहन्छु । म प्रयक्ष निर्वाचित सरकारको पक्षमा छु । विगत ०४६ सालयताका सरकारलाई हेर्दा परम्परागत लाग्छ । कतिपयले २/३ पटक प्रधानमन्त्री हुँदा पनि केही गर्न नसकेको अवस्था छ । प्रत्यक्ष कार्यकारी भयो भने यो परम्पराले पनि ब्रेक पाउँछ । परम्परागत सिस्टमले पनि ब्रेक पाउँछ ।
नेपालमा के देखिन्छ भने पोलिटिसियन र जनतावीच कनेक्सन नै छैन । जब जनताले प्रत्यक्षरुपमा आफ्नो नेतृत्व चयन गर्छ, त्यो भनेको कनेक्सन हुनु हो । किनकि जनताले आफ्नो रोजाइले नेतृत्वको चयन गर्छ । त्यसैले यो अहिलेको परिस्थितिमा मलाई एकदर्म सान्दर्भिक लाग्छ । यसको नकारात्मक पक्षहरु मलाई त्यति ज्ञान छैन । तर, एउटा सामान्य जनताको नजरबाट हेर्दाखेरि के लाग्छ भने आफूले आफ्नो नेतृत्व चयन गर्न पाइन्छ, त्यो हुनुपर्छ ।
हाम्रो चलचित्रको भाषामा म भन्न चाहन्छु, हामी चलचित्र बनाउँछौं र हलमा ल्याउँछौं । यति नराम्रो भएको खण्डमा स्वतः त्यो चलचित्र चल्दैन र फ्याँकिन्छ । तर, राजनीतिमा ८ हजार मत पाएको नेता विभिन्न कारणले नेतृत्वमा पुग्छ । उसले जनतालाई दिन सक्ने न्याय के हो ? चलचित्रकै भाषामा भन्नुपर्दा नराम्रो चलचित्र फ्याँकिन्छ, त्यसैले नेतृत्वमा पुगेको व्यक्तिले देशका लागि राम्रो गर्नैपर्छ । त्यसैले जनताले नै नेतृत्व चयन गर्न अत्यन्त जरुरी छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook