हाम्रो समय

परकम्प लामो समय जारी रहनसक्छ'

परकम्प लामो समय जारी रहनसक्छ'

काठमाडौ, श्रावण ७ - साउन ६ गते बुधबार राति १०:१४ बजे काठमाडौं केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गयो । वैशाख १२ को ७.६ रेक्टर स्केलको भूकम्पपछि लगातार परकम्प आइरहेका छन् ।

'ठूलो भूकम्पपछि साना भूकम्प आउनुलाई परकम्प भनिन्छ । मुख्य भूकम्पभन्दा परकम्प साना हुन्छन्,' राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, 'परकम्पहरू खतरनाक सावित हुन सक्छन् । तिनको पनि म्याग्निच्युड र केन्द्रविन्दु पूर्वानुमान गर्न सकिँदैन । मुख्य भूकम्पले पहिले नै कमजोर बनाएका संरचनामा थप क्षति पुर्‍याउन सक्छ । परकम्प भइरहेको समयमा सचेत हुनु जरूरी हुन्छ ।'

वैशाख १२ यता बिहीबारसम्म ३ सय ५४ भन्दा बढी परकम्प आएका छन् । 'असर नै नगर्ने ४ रेक्टर स्केलभन्दा साना परकम्प त धेरै आउँछन् । एकै दिनमा ८० देखि सय वटासम्म परकम्प आइरहेका छन्,' अधिकारीले भने, '४ भन्दा माथिका नाप्न मिल्ने परकम्प हुन् ।' सबैभन्दा ठूलो परकम्प बैशाख-१३ मा ६.९ र अर्को बैशाख २९ मा दोलखालाई केन्द्रविन्दु बनाएर ६.८ को आएको थियो ।

विसं १९९० माघ २ गते ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । त्यसको १५ महिनापछि १९९१ को चैतमा प्रकाशित ब्रहमशमशेर जंगबहादुर राणाद्वारा लिखित 'नेपालको महाभूकम्प १९९०' नामक पुस्तकमा लेखिएको छ, 'सो ठूलो कम्पपछिको सानासाना कम्प धेरै गइरहे, अरूसम्म पनि जाँदै छन् । यहाँ भूकम्प जाँच्ने कल नभएकाले कति यस्ता भूकम्प गए, पूरा हिसाब राख्न सकिएको छैन ।'

सन् २००५ अक्टोबर ८ मा पाकिस्तानको मुजफराबादमा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यहाँ १ सय १० परकम्प गएका थिए ।

हाइटीमा सन् २०१० जनवरी १२ मा आएको ७.० रेक्टर स्केलको भूकम्पपछि १२ दिनमा ४.५ मानभन्दा ठूला ८२  परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए । उनले भने, 'त्यहाँ ३२ घण्टाभित्र ५.० मानभन्दा ठूला १२ वटा परकम्प गएको थियो ।'

नेपाल, पाकिस्तान र हाइटी तीनै स्थानमा पूर्वकम्पनचाहिँ अनुभव भएन । परकम्प जाने क्रम केही दिन, महिना, वर्ष, दशक हुँदै शताब्दीसम्म पनि चल्न सक्ने भूगर्भविद्समेत रहेका अधिकारी बताउँछन् । 'सामान्यतः धेरै भूकम्प गइरहने स्थानमा कुनै ठूलो भूकम्पका परकम्प छोटो समयसम्म मात्रै आउँछन् भने भूकम्पीय क्रिया धेरै कम भएको वा हुँदै नभएको स्थानमा ठूलो भूकम्प गयो भने यसका परकम्प सयौं वर्षसम्म आइरहन्छन्,' उनी भन्छन् । उनले सन् १८११ मा अमेरिकाको न्यु म्याडि्रडमा गएको भूकम्पलाई उदाहरण दिँदै भने, 'त्यो भूकम्पका परकम्पहरू दुई सय वर्षपछि हालसम्म पनि आइरहेका छन् ।' उनी परकम्पहरू समयअनुसार कम हुँदै जाने बताउँछन् ।

पहिला सानो कम्पन हुने र पछि ठूलो भूकम्प आउनुलाई पूर्वकम्पन भनिन्छ । 'कुनै स्थानमा आउने भूकम्पको वा पूर्वकम्पनको संख्यामा उल्लेख्य वृद्धि भयो भने त्यसलाई ठूलो भूकम्पको भविष्यवाणी गर्नसमेत प्रयोग गरिन्छ । तर, यो सधैं लागू हुँदैन,' अधिकारीले भने, 'चीनको हेइसङमा ७.३ म्याग्निच्युडको भूकम्प जानुअघि त्यस्तै पूर्वकम्पनका आधारमा भविष्यवाणी गरेर सहर खाली गरिएको थियो । त्यहाँ भविष्यवाणी सही साबित भयो ।'

0 comments

प्रतिक्रिया दिनुश

Facebook