डीआईजीबाट राजीनामा दिन्छु, ग्रीनकार्ड छोड्न सक्दिन
सशस्त्रभित्र सयभन्दा बढीले राजीनामा दिने
प्रकाशित मिति : २०७२ श्रावण २२ शुक्रबार
काठमाडौं । सशस्त्र प्रहरी बलको डीआइजी दुर्गा कुवरले डीआईजी पद त्याग गरेर अमेरिकाको ग्रीनकार्ड बोक्छु भनेर राजीनामा दिएपछि प्रशासन संयन्त्रभित्र ठूलै चर्चा सुरु भएको छ । कुवरले राजीनामा पत्र आइजीपी कोषराज वन्तलाई बुझाउँदै सबैले सुन्नेगरी भनेका थिए– म डीआईजीबाट राजीनामा दिन्छु, ग्रीनकार्ड छोड्न सक्दिन ।
सशस्त्र प्रहरी बलले ग्रीनकार्ड, पीआर लिनेहरुले साउन मसान्तभित्र जागीर रोज्ने कि विदेश भनेर रिपोर्ट गर्न फर्मान जारी गरेपछि यति खेर सशस्त्रभित्र सयभन्दा बढीले राजीनामा दिने मनस्थिति बनाएको खबर छ । नेपाल प्रहरीभित्र यसको दोब्बर संख्यामा ग्रीनकार्ड, पीआर होल्डर सुरक्षाकर्मी रहेका छन् ।
तर तिनले संविधान जारी होला, मन्त्री फेरिएलान् र कडीकडाउ स्थितिलाई बदल्न सकिएला भनेर ,पर्ख र हेर’ गरिरहेको खबर छ । यस्तै खबर नेपाली सेनाभित्रबाट पनि आइरहेका छन् । सेनाभित्र त नक्कली प्रमाणपत्र र नागरिकता पेश गरेर जागीर खाने, बढुवा हुने ठूलै पदधारी पनि रहेको खबर छ । सेना आफैले छानबिन सुरु गरेको छ ।
अख्तियारले छानबिन थालेको नक्कली प्रमाणपत्रको निरन्तरता कडीकडाउका साथ अघि बढाएको भए सबै निजामती लगायका क्षेत्रबाट झण्डै २० हजारको जागीर चट हुनसक्थ्यो र योग्य युवाहरुले स्थान पाउन सक्ने थिए । तर, अत्यधिक राजनीतिकरणका कारण दबाब र प्रभावबाट जागीर खानेहरुको अहिले पनि बोलवाला चलिरहेको छ र हुनसक्छ ग्रीन कार्ड र पीआर काण्ड पनि फासफुस भएर जानेछ । त्यसै पनि नेपालमा सत्ता परिवर्तनसँगै पुराना निर्णय रद्दीको टोकरीमा फाल्ने चलन छ ।
स्मरणरहोस् सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालका पूर्व–मन्त्री, प्रधानमन्त्री, सचिव र राजदूतहरु नै ग्रिनकार्ड, पीआर होल्डरहरु रहेका छन् । यसैवीच फ्रान्सका लागि नेपाली राजदूत अम्बिका लुइटेलसँग बेलायतको पीआर भएको खुलासा भएको छ ।
परराष्ट्रका कर्मचारीसँग यस्तो पीआर, ग्रीनकार्ड हुनु स्वभाविक हो । भनिन्छ, सूचना बेचेर दूतावासहरुसँग साखुल्ले हुने कर्मचारीहरुको परराष्ट्र र गृहमा व्यापक बोलवाला रहेको छ । त्यताका केही कर्मचारी नेपाल सरकारको मात्र होइन, विभिन्न दूतावासको तलव, भत्ता, सुविधा र ह्वीस्की अधिक नै खाने गरेका छन् , राजतिलकले समाचार छापेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook