लिपुलेकबारे यथार्थ जानकारी दिने पुस्तक आयो
केही महिनायता भारत र चीनबीच भएको व्यापारिक सम्झौतामा नेपाली भूमि लिपुलेकलाई केन्द्र बनाउने प्रावधान राखिएपछि नेपाल र भारतका विज्ञहरुबीच सो भूमि नेपालको र भारतको भन्ने विवाद चलिरहेको छ । सरकारी तहमा भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।
यसै क्रममा लिपुलेकबारे केन्द्रित रहेर तयार पारिएको पुस्तक ‘लिपुलेक नाकाः भ्रम र यथार्थ’ शनिबार सार्वजनिकिकरण गरिएको छ ।
प्रा डा गोपाल सिवाकोटी र पत्रकार दिपेन्द्र रोकायले लेख्नुभएको पुस्तकको नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले एक कार्यक्रमबीच लोकार्पण गर्नुभयो ।
पुस्तकमा परिचय, कालापानीको नालीबेली, भूमिका नेपालको सम्झौता भारत र चीनको, लिपुलेकमा चासो र चिन्ता, नेपालको जमिनमाथि आक्रमण, ऐतिहासिक प्रमाण, लिपुलेकबारे चीनको धारणा, जिउँदो साक्षी, लिपुलेक चीनको भनी भ्रम पार्ने प्रयास समेतगरी नौ विषयका साथै अनुसूचीमा विभिन्न सहमति, ज्ञापनपत्र समावेश गरिएको छ ।
अध्यक्ष वैद्यले सानो आकारको पुस्तकमा एक पटक सबै नेपालीले पढ्नैपर्ने ठूलो र गहन विषयवस्तु समेटिएको भन्दै लेखकद्वयलाई धन्यवाद दिनुभयो । उहाँले राष्ट्रियताको सम्बद्र्धन हुनेगरी कृति रचना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रियता र जनतन्त्रका लागि हरेक नेपालीले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “लिपुलेकबारे पुराना नक्सा, सो क्षेत्रको जग्गाको स्थानीय नेपालीले मालपोत तिरेको रसिद, जनगणना सबैले त्यो क्षेत्र नेपालको भएको यथेष्ट प्रमाण छन् । भारत र चीनले नेपालीको सार्वभौमिकततलाई चुनौति दिँदै नेपालको भूमि लिपुलेकबारे गरेको सम्झौता सच्याउनुपर्छ ।” मुलक सानो भयो भन्दैमा ठूलो मुलुकले हेप्ने र सानो मुलुक सहेर बस्ने कार्य हुन नसक्ने भन्दै लिपुलेकबारे जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
पूर्व सभासद् एवम् महिला नेत्री शान्ता श्रेष्ठले सङ्घीयतामा जाँदा देशभित्रै जिल्ला टुक्रयाउँदा विरोध गर्नेहरुले नेपालको भूमि लिपुलेक अर्को मुलुकमा मिलाउँदा मुकदर्शक भएर बस्न नसुहाउँने टिप्पणी गर्नुभयो ।
लेखक सिवाकोटीले लिपुलेकबारे विवादास्पद धारणा सार्वजनिक भइरहेको बेला त्यसको वास्तविकता जनमानसमा उजागर गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिनुभयो । पैरवी प्रकाशनले प्रकाशित गरेको पुस्तकको मूल्य रु १९५ रहेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook