विष्फोटले विद्यार्थीमा त्रास भएपछि अनुसन्धान समिति गठन हुने
प्रकाशित मिति : शुक्रबार, चैत ६, २०७१ |
प्यूठान। बिहीबार ओखरकोट–५ आहालखोलामा भएको बम विष्फोटले आज एसएलसी परीक्षा दिने परीक्षार्थीमा त्रासको वातावरण श्रृजना भएपछि जिल्लास्तरबाट विद्यार्थी परामर्श गरिएको छ ।
परीक्षामा सहभागी विद्यार्थीहरुले बम विष्फोटले त्रास श्रृजना गरेको भन्दै परीक्षानै प्रभावित भएको बताएका छन् । विद्यार्थीहरुको परीक्षा प्रभावित हुननदिन जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले सम्बन्धीत विद्यालयका शिक्षकद्वारा विद्यार्थी परामर्श दिनुभएको छ ।
परामर्शपछि विद्यार्थीहरुमा केही सहज वातावरण श्रृजना भएको शिक्षा अधिकारी भट्टराईले बताउनुभयो । बम विष्फोट भएको क्षेत्र प्रभात मावि आहालखोलामा गौमुखि उच्च मावि ठुलाबेँशिका विद्यार्थीले परीक्षा दिँदै आएका छन् ।
त्यस्तै, प्रभात मावि आहालखोलाका विद्यार्थीहरुले लक्ष्मी मावि बाङ्गेमरोडबाट परीक्षा दिँदै आएका छन् । दुबै विद्यालयमा परीक्षा सुरु हुनुभन्दा पूर्व र परीक्षा सकिएपछि विद्यार्थीलाई सामुहिक परामर्श दिइएको र परीक्षाकेन्द्र सुरक्षीत रहेको शिक्षा अधिकारी भट्टराईले बताउनुभयो ।
यसैबीच, बिहीबार बम विष्फोटमा मृत्यु भएका ६५ वर्षीय नमाकुमारी पोख्रेलको आज अन्तेष्टि गरिएको छ । जिल्ला अस्पताल बिजुवारमा पोष्टमार्टम पछि आहालखोलामा अन्तेष्टि गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राध्यापक विष्णु पोख्रेल तथा पत्रकार प्रमोद पोख्रेलको घरदेखि ५० मिटर टाढा आलुबारीमा बिहिबार दुर्घटनाहुँदा उहाँका आमा नमाकुमारीको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । घटनास्थलमा भेटिएका प्रमाणलाई शनिबार काठमाडौँ अनुसन्धान व्यूरोमा पठाउने र आइतबारदेखि छानविन सुरुहुने उहाँले बताउनुभयो ।
विष्फोटक पदार्थहरुको अनुसन्धानपछि सेनाले प्रयोग गर्ने या अन्य निकायले प्रयोग गर्ने विष्फोटक पदार्थ रहेको खुल्नसक्ने उहाँको भनाइ छ । विष्फोटक पदार्थको अनुसन्धान पछि आवश्यकताअनुसार केन्द्रीय तथा जिल्लास्तरमा अनुसन्धान कमिटी गठन हुनसक्ने प्रहरीले जनाएको छ ।
घटना योजनाबद्ध रहेको भन्दै घटनाका बारेमा तत्काल अनुसन्धान गर्नका लागि कमिटि गठन गर्नुपर्ने नेपाली काँग्रेस प्यूठानका सचिव शिव रिजालले बताउनुभयो ।
मृतकका छोरा विष्णु नेपाल प्राध्यापक सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा प्रमोद स्वर्गद्वारी साप्ताहिक पत्रिकाका प्रकाशक सम्पादक हुनुहुन्छ । उहाँ नेपाल उद्योग वणिज्य सङ्घको मध्यपश्चिम क्षेत्रीय सदस्य, जिल्ला सचिवालय सदस्य तथा खलङ्गाबजार ईलाकाको अध्यक्षसमेत रहनुभएको छ ।
नमाकुमारीको परिवारमा श्रीमान्सहित चार भाई छोरा र उहाँहरुका परिवार रहेका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook