हाम्रो समय

विमानस्थल आज पनि ५ बजेसम्म बन्द

टर्किस विमान उचालियो, रातारात ग्राभेलिङ

२०७१ फागुन २२ गते मा प्रकाशित


२२ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज तेस्रो दिन पनि बेलुका पाँच बजेसम्म बन्द हुने भएको छ ।
बुधबार विहान दुर्घटनाग्रस्त टर्किस एयरको जहाज धावन मार्गबाट हटाउन नसक्दा आज तेस्रो दिन पनि विमानस्थल बन्द गरिएको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवन्धक पूर्णप्रसाद चुडालले शुक्रबार बेलुका ५ बजेसम्मका सबै उडानहरू स्थगित गरिएको अनलाइनखबरलाई बताए ।
त्रिभुवन विमानस्थल कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी शुक्रबार विहान १० बजेदेखि विमानस्थल खुल्ने जानकारी दिएको थियो ।
तीन दिनसम्म अन्तरराष्ट्रिय हवाइ सेवा ठप्प हुँदा विमानस्थलमा यात्रुहरुको विजोग भएको छ । त्यसैगरी विदेशका विभिन्न विमानस्थलमा समेत नेपाल आउन लागेका यात्रुहरु अलपत्र परेका छन् ।
भारतबाट आएको प्राविधिक टोलीले विहीबार रातभरि विमान हटाउने प्रयास गरेको थियो । तर, अहिलेम्म जहाज हटाउन सकेको छैन । जहाजलाई अहिले जमिनमा खाल्डो खनेर बेलुन राखी हावा भरेर उचालिएको छ ।
दुर्घटनाग्रस्त विमान उचालियो
बुधबार बिहान टर्कीको स्तानबुलबाट आएको दुर्घटनाग्रस्त विमानलाई धावनमार्गबाट हटाउन नसकिएपछि भारतबाट एयरफोर्सको जहाजमार्फत प्राविधिक र उद्धार सामाग्री झिकाइएको छ । trukis1
विहीबार दिउँसो १ बजे १२ जना प्राविधिकसहित आएको भारतीय टोलीले रातभरिमा बेलुनमार्फत जहाजलाई उचाल्न सफल भएको छ । विमानको पछाडिको दायाँतिरका चक्काहरू काम लाग्ने अवस्थामा पाइएका छन् भने वायाँतर्फका चक्का भने चारवटै ड्यामेज भएका छन् । ड्यामेज चक्कामध्ये दुईवटा फेरिएको बताइएको छ।
विमानस्थलका कायमुकायम महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले जहाजको पछाडिको चक्का फेरिसकेको जानकारी दिँदै अगाडिको भागलाई ट्रेलरमा राखेर गुडाई धावनमार्गबाट हटाउने अनलाइनखबरलाई जानकारी दिए ।
रातारात ग्राभेलिङ गरियो
विमान सेवा खुलाउन विमानस्थलका कर्मचारीहरु अहोरात्र खटिइरहेका छन् ।
झार भएको ठाउँमा थेचारिएको विमानलाई धावन मार्गमा ल्याउनका लागि करिब सय मिटर बाटो खन्ने तथा ग्राभेलिङ गर्ने काम रातभरी नै भएको महाप्रबन्धक श्रेष्ठले बताए ।
दुर्घटनाग्रस्त विमानको ‘नोज गियर’लाई धावन मार्गमा ल्याउन सय मिटर जति गुडाउनुपर्ने हुन्छ । जहाजलार्इ ‘ट्याक्सी वे’ हुँदै करिब चार/पाँचसय मिटर टोइङ बारमार्फत गुडाएर एप्रोन (जहाज पार्किङ गर्ने ठाउँ)मा पुर्‍याइने छ ।
विमान सेवा सुचारु भएपछि यात्रुहरुको मर्कालाई ध्यान दिँदै यात्रुको चाप नघट्दासम्म विमानस्थल २४ सै घण्टा सुचारु गर्ने तयारी भइरहेको समेत विमानस्थल अधिकारीहरुले बताएका छन् ।
यसअघि सार्क सम्मेलनमा पनि विमानस्थल २४ सै घण्टा सञ्चालनमा आएको थियो ।
-

0 comments

प्रतिक्रिया दिनुश

Facebook