नेपाल बन्दसहित विप्लव माओवादीद्वारा आन्दोलनको घोषणा
प्रकाशित मिति: 4:58:37 pm, March 22, 2015
काठमाडौं, चैत ८ – आफ्ना दुई पोलिटब्यूरो सदस्य सहित १७ जना कार्यकर्तालाई गिरफ्तार गरेपछि आक्रोशित बनेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको छ ।
राजधानीमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको आन्दोलनका कार्यक्रम अनुसार चैत ९ गते कोण सभा र चोक सभा चैत १० गते माइकिंग र चोक सभा ११,१२,१३ र १४ गते प्रचार प्रसार १५ गते जीएमआर कार्यालय घेराउ १६ गते देशका सबै जिल्ला कार्यालय घेराउ १७ गते मशाल जुलुस र १८ गते नेपाल बन्दको आयोजना गरेको छ ।
पत्रकार सम्मेलन मार्फत पार्टीका स्थायी समिति सदस्य धर्बेन्द्र बास्तोलाले संघर्षका कार्यक्रम घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा माओवादी नेता तिलक परियारको पनि सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा संक्षिप्त भनाइ राख्दै बास्तोलाले अबका दिनका संघर्षमा राधेस पन्तको घरमा मात्र हैन प्रधानमन्त्रीको घरमा समेत कालो झण्डा गाढ्ने चेतावनी दिए।
अपर कर्णाली, माथिल्लो मस्र्याङ्दी र अरुण तेस्रो जलविद्युत आयोजनामा राष्ट्रघाती सम्झौताहरु गरिएको र त्यो सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेको भन्दै माओवादीले शुक्रबार नेपाल लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घरमा कालोझण्डा राख्नुका साथै र विरोध प्रदर्शन गरेको थियो ।
सोही कार्यक्रमबाट प्रहरीले पूर्व मन्त्री पोलिटब्यूरो सदस्य समेत रहेका पदम राई र अर्का पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका)लाई गिरफ्तार गरेको थियो ।
उनीहरुसहित प्रहरीले १७ जना कार्यकर्ताहरु गिरप्तार गरी जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा राखेको छ । माओवादीले शुक्रबार गिरप्तार गरिएका आफ्ना नेता कार्यकर्तालाइ ससम्मान रिहाइ गर्न माग गर्दै देशब्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook