एसएलसी दिने एक छात्राको मृत्यु
प्रकाशित मिति: 12:21:00 pm, March 27, 2015
उदयपुर, चैत १३– रौता– ९ मुर्कुची घर भई त्रियुगा नगरपालिका– १४ स्थित चुहाडे परीक्षा केन्द्रमा प्रवेशिका परीक्षा दिँदै आएकी १८ वर्षीया तारा मगरको रहस्यमय मृत्यु भएको छ ।
गए राति ११ बजे त्रियुगा नगरपालिका– ७ मोतीगडास्थित जङ्गलको नयाँ पानीट्यांकी नजिकै मगर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख टेकबहादुर गुरुङले बताए ।
मगरको मृत्युपछि उनका साथी त्रिनपा– ९ देउरी बस्ने १९ वर्षीय मिलन श्रेष्ठ, १८ वर्षीया सविता तामाङ र रवीनलाई प्रहरीले घटनास्थलबाट नै पक्राउ गरेको छ ।
बिहीबारको परीक्षा सकेर मगर रौता– ९ बस्ने आफ्नै छिमेकी साथी तामाङसहित तीन दिनअघि चिनजान भएका श्रेष्ठसँग घुम्न निक्लेको प्रहरीले बताएको छ । घुम्न निक्लिने क्रममा उनीहरु साँझ ८ बजेतिर मोतीगडास्थित जङ्गल र पानी ट्यांकी पुगेका थिए ।
प्रहरीका अनुसार पानी ट्यांकीमा पुगेपछि श्रेष्ठ र मगर तथा तामाङ र रवीन जोडी भई राति ११ बजेसम्म बिताएका थिए । अभियुक्त श्रेष्ठको बयानअनुसार मगरको ट्यांकी माथि चढ्दा अचानक लडेर मृत्यु भएको बताए ।
मृतक मगरको पछाडि कम्मरमा गहिरो चोट लागेको घटनास्थल पुगेको प्रहरीले बताएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको छ । अभियुक्तसँग प्रारम्भिक बयान लिने कार्य सुरु भएको प्रहरी प्रमुख गुरुङले बताए ।
उनको मृत्यु हत्या हो वा लडेर हो भन्ने कुरा अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले बताएको छ । अनुसन्धानका क्रममा उनीहरुले अत्याधिक मादक पदार्थ सेवन गरेको जनाइएको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook