हाम्रो समय

एलिस्टर कुक र युवराज सिंहसित खेल्न पाउनु मेरो भाग्य : पारस खड्का


  • Posted: Thursday, Mar 19, 2015 12:12 PM ( 5 minutes ago )
काठमाडौं, चैत ५ - मेरिलेबोन क्रिकेट क्लव एमसिसी एउटा क्लव मात्र होइन । यसले क्रिकेटलाई विश्वभर क्लव स्तरमा पुर्‍याउन सक्रिया भुमिका खेलेको छ । यो क्लव क्रिकेटको मन्दिर मानिने लर्डसको मैदानको सञ्चालक र क्रिकेट नियमको संरक्षक पनि हो । यो क्लवको जर्सी लगाउने इच्छा विश्वभरका क्रिकेट खेलाडीमा हुन्छ, तर सबैले यो सौभाग्य पाउँदैनन् ।
यो पटक नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले यो मौका पाएका छन् । गत वर्ष बंगालादेशमा भएको आइसिसी ट्वेन्टी–ट्वेन्टी क्रिकेट विश्वकप खेलेपछि यो क्लवको ध्यान तान्न सफल भएका पारस मेरिलेबोन क्रिकेट क्लवको टिममा परे । उनले एमसिसीको टिमबाट दुबईमा शुक्रबार हुने इमिरेट्स एयरलाइन्स ट्वेन्टी–ट्वेन्टी प्रतियोगिता खेल्दै छन् । त्यसका लागि पारस दुवई पुगेका छन् । ‘यो मेरा लागि ठूलो मौका हो, यसले नेपालमा क्रिकेटको प्रवर्द्धनमा सहयोग गर्छ ।’ दुबईमा खड्काले भने ‘नेपालमा क्रिकेटको ठूलो महत्व छ ।’ उनले एमसिसीको तर्फबाट यो प्रतियोगिता खेल्न पाउनु शौभाग्य रहेको बताए ।
यो प्रतियोगितामा इंग्ल्याण्डका पूर्व कप्तान एलिस्टर कुक तथा भारतीय कप्तान युवराज सिंहले पनि एमसिसीको तर्फबाट खेल्दै छन् । ‘एलिस्टर कुक र युवराज सिंहजस्ता खेलाडीको टिमबाट खेल्न पाउनु ठुलो कुरा हो ।’ पारसले भने ‘यो मेरा लागि विश्वका महान् खेलाडीसँग आफैंलाई परीक्षण गर्ने अवसर पनि हो ।’
नेपालले दुबईमा धेरै पटक प्रतियोगिता खेलिसकेको छ । खाडीको गर्मीमा क्रिकेट खेल्नु पर्ने भएपनि दुबईमा खेल्दा आफूले रोमाञ्चकता महसुस गर्ने पारसले बताए । उनले दुबईका मैदानमा उपलब्ध सुविधाको पनि प्रशंसा गरे ।
एमसिसीका साथै यो प्रतियोगितामा इंग्ल्याण्डकै लंकासायर, योर्कसायर र ससेक्सको सहभागिता रहने छ । एक दिने यो प्रतियोगितामा एमसिसीले ससेक्सविरुद्ध दोश्रो सेमिफाइनल खेल खेल्ने छ । पहिलो सेमिफाइनल भने लंकासायर र योर्कसायरबीच हुने छ । सेमिफाइनल विजेताबीच शुक्रबार नै फाइनल खेल हुने छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook