हाम्रो समय

सरकार आफै बाँड्दै छ 'अफिम'



२०७१ चैत्र १४ शनिबार

 सरकारी अस्पताल र एनजीओमार्फत प्रतिबन्धित औषधिको नि:शुल्क वितरण

धरान : लागूपदार्थ प्रयोगकर्तालाई कुलतबाट छुटाउने नाममा सरकारले अफिमबाट निर्मित प्रतिबन्धित औषधि वितरण गरिरहेको छ।
अफिम'

गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयको संयुक्त छलफलपछि मन्त्रिपरिष्दको स्वीकृतिमा ओएसटी कार्यक्रममार्फत सरकारले मेथाडोन र बुप्रिनर्फिन नामका लागूपदार्थ वितरण गर्न सुरु गरेको हो। यी दुवै औषधीमा अफिमको अत्यधिक मात्रा हुन्छ। मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै सरकार आफैले यी औषधीको विक्रीवितरणमा रोक लगाएको छ।

सरकारले देशका विभन्न सरकारी अस्पताल र एनजीओमार्फत लागूपदार्थ प्रयोगकर्तालाई नि:शुल्क रूपमा यस्तो औषधि वितरण गर्न थालेपछि यसको चौतर्फी विरोध सुरु  भएको छ। सरकारले सञ्चालन गरेको लागूपदार्थ वितरण कार्यक्रमले मानवजीवनमा गम्भीर असर पर्ने र ज्यानै जानसक्ने खतरा बढेको भन्दै पूर्वका पूर्वलागूपदार्थ प्रयोगकर्ताहरूले उक्त कार्यक्रम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

पूर्वलागूपदार्थ प्रयोगकर्ताहरूको संस्था रिकभरी धरानले प्रतिबन्धित औषधी वितरण बन्द गर्नका लागि सरकारलाई दबाब दिन अभियान थालेको छ। नेपालजस्तो अति गरिब देशमा ९० प्रतिशत हिरोइन वा अफिमबाट निर्मित मेथाडोन र बुप्रिनर्फिन वितरण गर्नु मानवस्वास्थ्यका लागि अत्यन्तै खतरा भएको पूर्वलागूपदार्थ प्रयोगकर्ता तथा रिकभरी धरानका सल्लाहकार प्रवीण राईले बताए।

उनले सरकारले वितरण गर्दै आएको मेथाडोन र बुप्रिनर्फिन नामको लागूपदार्थ हाल नेपालमा प्रयोग गर्दै आएको लागूपदार्थभन्दा अति खतरनाक भएकाले सरकारले यस विषयमा गम्भीर ध्यान पु:याउनसमेत सुझाव दिए।

सरकारले पूर्वका कोसी अञ्चल अस्पताल, मेची अञ्चल अस्पताल र काठमाडौं उपत्यकाका वीर अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताल र मानसिक अस्पतालमा समेत उक्त कार्यक्रम लागू गरिसकेको छ। कोसी अञ्चलमा दैनिक एक सयजनालाई मेथाडोन वितरण गरिँदै आएको कोसी अञ्चल अस्पतालका डा. रोशन पोखरेलले बताए।

दुई वर्षअगाडि कोसी अञ्चलमा लागू गरिएको यस कार्यक्रमबाट विराटनगरका रिक्सा चालकले समेत मेथाडोन प्रयोग गर्ने गरेका छन्। विराटनगरकै रिचमन्ड फेलोसिफका कार्यक्रमनिर्देशक संजिप चापागाईंले आफ्नो सुधारगृहमार्फत विराटनगरका एक सय ६० जना लागूऔषध प्रयोगकर्ताहरूलाई मेथाडोन वितरण गरिँदै आएको बताए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook