महोत्तरीमा आज ३८ परीक्षार्थी र चार निरीक्षक निष्काशित १० जना अभिभावक पनि पक्राउ
प्रकाशित मिति: 5:35:26 pm, March 22, 2015
mahotariगौशाला, चैत ८– महोत्तरीको तीनवटा परीक्षा केन्द्रबाट आज ३८ जना परीक्षार्थी र चारजना निरीक्षक निष्काशन गरिएको छ । प्रवेशिका परीक्षाको तेस्रो दिन आज गणित विषयको परीक्षामा अनियमितता गरेको आरोपमा ३८ जना परीक्षार्थी र दुई शिक्षकसमेत चार निरीक्षकलाई पनि निष्काशन गरिएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको छ ।
त्यस्तै, चिट चोराउन मद्दत गर्न गएका १० जना अभिभावकलाई पनि पक्राउ गरिएको छ ।
परीक्षाको मर्यादा विपरीत कार्य गरेको आरोपमा जिल्लाको त्रिभुवन उच्च मावि गौशालाबाट २२ जना, योगकुमार उमावि बलवा परीक्षा केन्द्रबाट नौजना, र मावि रजखोर परीक्षा केन्द्रबाट सातजना गरी ३८ जना परीक्षार्थीलाई निष्काशन गरिएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।
त्यस्तै, परीक्षाका क्रममा जिल्लाको खयरमारास्थित परीक्षा केन्द्रमा चिट चोराउने मनसायले बिना अनुमति प्रवेश गरेका माइस्थान माविका शिक्षक महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, जलेश्वरस्थित लचमु केन्द्रमा खटिएका वीरचन्द्र झा, रामगोपालपुर केन्द्रका महेश यादवलाई र खखना परीक्षा केन्द्रबाट एकजना निरीक्षकलाई निष्काशन गरिएको छ । पक्राउ गरिएकामध्ये शिक्षक महेन्द्रनारायण श्रेष्ठमाथि केही सार्वजनिक अपराध मुद्दा चलाइएको र बाँकी सबैलाई अनुसन्धानपछि छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।
यसपटकको एसएलसी परीक्षालाई मर्यादित बनाउन खटिएका स्थानीय प्रशासन र शिक्षाको टोलीले परीक्षाको नियमावली विपरीत होहल्ला गरी चिट चोराउने र प्रश्नपत्र चुहाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्णले बताए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook