प्रवेशाज्ञा प्रक्रिया निजी कम्पनीलाई दिनेबारे श्रम समितिले गृहमन्त्रीलाई डाक्यो
25 Mar 2015 | 16:25pm
बुधबार ११ चैत्र, २०७१
काठमाडौँ-सरकारले विदेशी नागरिकलाई प्रवेशाज्ञा जारी गर्ने प्रक्रियाको जिम्मेवारी निजी कम्पनीलाई दिने तयारीका सन्दर्भमा जानकारी लिन संसदीय समितिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बोलाउने निर्णय गरेको छ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बुधबारको बैठकमा बोल्ने अधिकांश सभासद्ले प्रवेशाज्ञा दिने प्रक्रियाको जिम्मेवारी निजी कम्पनीलाई दिनु राष्ट्रघात हुने भन्दै तत्काल सो निर्णय गर्न रोक्न समितिले निर्देशन दिनुपर्ने माग गरेका थिए ।बैठकमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का नेता माधव नेपालले प्रवेशाज्ञाको प्रक्रिया सरकारले निजी कम्पनीलाई दिने तयारी गर्नु विचित्र रहेको भन्दै यो गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए ।
उनले पैसा र कमिसनको खेलमा यस्तो कार्य गर्न खोजिएको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नहुने बताए ।उनले भने, "आज प्रवेशाज्ञा निजी कम्पनीलाई दिने भन्लान्, भोलि मुलुक नै निजी कम्पनीलाई दिने भन्लान्, यस्ता गैरजिम्मेवारपूर्ण कार्य रोक्नैपर्छ ।"बैठकमा सभासद् चुडामणि जङ्गलीले प्रवेशाज्ञा निजी कम्पनीलाई दिने प्रक्रिया तत्काल रोक्न समितिले निर्देशन दिनुपर्ने माग गरे ।
सभासद् श्याम श्रेष्ठले प्रवेशाज्ञाजस्तो संवेदनशील विषयमा सरकारले हेलचेक्र्याइँ गर्न खोजेको भन्दै यसले मुलुककै प्रतिष्ठामा आँच आउने बताए।
समितिका सभापति प्रभु साहले प्रवेशाज्ञाका विषयमा विभिन्न टिप्पणी आएको र त्यसलाई रोक्न निर्देशन दिनुपर्ने माग बैठकमा सभासद्हरुले राखेपछि त्यसबारे यथार्थ बुझ्न गृहमन्त्री र पररराष्ट्रमन्त्रीलाई आगामी बैठकमा डाक्ने निर्णय गरिएको जानकारी दिए ।उनले विदेशीलाई त्यस्तो जिम्मेवारी दिने तयारी भए त्यो गलत हुने बताउँदै त्यस्ता कार्य समतिले रोक्ने प्रस्ट पारे ।
बैठकमा सभासद्हरुले राष्ट्रिय सुरक्षा, गोप्यता र मुलुकको इज्जतमै दाग लाग्ने कार्य गर्न गृहमन्त्रालय उद्धत रहेको भन्दै सो कार्यका लागि नेपालको अध्यागमन विभाग नै योग्य रहेको धारणा राखेका थिए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook