हाम्रो समय

एमाओवादीले कांग्रेस र एमालेलाई पासोमा पार्न खोजेको पौडेको आरोप



काठमाडौं, चैत ८ – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीले सहमतिका नाममा कांग्रेस र नेकपा एमालेलाई पासोमा पार्न खोजेको आरोप लगाउनुभएको छ ।
गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस उपसभापति पौडेलले एमाओवादीले सहमतिका नाममा कांग्रेस र एमालेलाई पासोमा पारी अझै तीन वर्षसम्म संविधान बनाउन नदिने प्रपञ्च रचेको आरोप लगाउनुभयो ।
उहाँले आफूहरुले वार्तामा बोलाउँदा पनि एमाओवादी वार्तामा नआएको बरु उल्टै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जान लागेको भन्दै यसले एमाओवादी वार्ताबाट सहमति खोज्न तयार नरहेको देखिएको दाबी गर्नुभयो ।
उहाँले नेपाली कांग्रेस अब एमाओवादीको प्रपञ्चमा नअल्झिने भन्दै चैत १० गतेपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दुई तिहाइ बहुमतको प्रक्रिया अघि बढाउन लगाउने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले कांग्रेस र एमालेसँग दुई तिहाइ बहुमत रहेको अवस्थामा पनि संविधान निर्माणको प्रक्रिया अवरुद्ध हुनु दुई दलका लागि निकै घातक भएको बताउनुभयो । उहाँहरु दुवैले जतिसक्दो चाँडो संविधान बनाउनका लागि कांग्रेस र एमालेले निर्णय गर्ने हिम्मत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले धनी र गरिबबीच बढ्दै गएको खाडल पुर्ने तथा राज्यसत्तामा सबै जातजाती र भाषाभाषीको समान हक हुने गरी नयाँ संविधान बनाइनुपर्ने अन्यथा आफ्ना संस्थापक नेता विपि कोइरालाको अपमान हुने बताउनुभयो । कांग्रेसका युवा नेता शर्माले संविधान चाँडो बनाउनका लागि प्रमुख राजनीतिक दलका सबै शीर्ष नेताहरु दलीय स्वार्थभन्दा माथि उठ्नुपर्ने बताउनुभयो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook