म लोग्ने छोड्न चाहन्छु : आशा लामा
Posted: Tuesday, Apr 07, 2015 14:20 PM
काठमाडौं, चैत २४ - ‘आज पनि पिट्यो, सधैं यसरी पिट्छ, आज त हम्मरले नै हिर्कायो ।’ गफ गरिहेका मानिसले कुरै कुरामा भनेका यी शब्दले नैकाप तीनथानाको उकालो चढिरहेका मेरा पाईलामा अचानक ब्रेक लागे जस्तो भयो ।
पछाडि फर्केर हेर्दा जो कसैको पनि जीउ सिरिंग हुने दृश्य देखियो । त्यहाँ शरीरमा चोट र खत भरिएकी एक ख्याउटी र निन्याउरी महिला ठिंग उभिएकी थिईन् । महिलाको टाउको, अलि उच्चालिएको र बाङगो देखिन्थ्यो । श्रीमानको पिटाई र हरेक दिन भोग्नुपरेको हिंसाले महिला थकित, गलित र मानब कंकाल जस्तै देखिन्थिन् ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा देशभरि महिला हिंसा विरुद्ध एक महिने अभियान चलिरहेका बेला काठमाडौं शहरमा हिंसाको यो रुप र हिंसाका बारे वरपरका छिमेकीले गरेका टीका टिप्पणी सुन्दा धेरैलाई आश्चर्य लाग्नुपर्ने हो । तर, यी महिला लामो समयदेखि नैकाप तिनथाना वरपरका मानिस गफाडीहरुको लागि गफको नियमित बिषय भएकी थिईन् ।
नाम आशा लामा (परिवर्तित नाम) । साथमा ४ वर्षको छोरो । केहीबेर उभिएर लुखुरलुखुर हिडिँरहेकी आशासित कुराकानी थालेपछि दुखका पत्रहरु प्याजका बोक्रा जसरी निस्कन थाले । काठमाडौंमा जन्मेकी आशाको माईतीबाट लोग्नेको घर पनि धेरै टाढा होइन रहेछ ।
घर माइती नजिक नजिक हुँदा पनि किन उहाँमाथि भैरेहेका हिंसा विरुद्ध कोही बोलेन ?
उहाँ अर्थात काठमाडौं तीनथानकी आशाले भन्नुभयो ‘सानैमा विवाह भयो, आमा पनि साथमा छैनन्, कसलाई गएर के भन्नु ?’
अर्थै थाहा नहुँदा विवाह बन्धन बाँधिएकी आशा लामाले यसरी रातो दिन श्रीमानको पिटाई खानुपर्ला भन्ने सोच्नु भएकै थिएन ।
नाच्ने गाउने, हाँसखेल गर्दै बाबुआमाको काखमा रमाउने १२ बर्षको उमेरमा बाबुले बिहे गरेर अर्केलाई सुम्पिदिए । त्यस दिनदेखि उहाँको उज्यालो मुहारमा ग्रहण लागेको छ । हरेक दिनजसो पिट्ने श्रीमान देखेर उहाँ आजित हुनु भएको छ । विवाहको अर्थ पनि थाहा नपाउँदै विवाह बन्धनमा बाँधिएकी आशालाई अहिले विवाह शब्ददेखि नै दिक्क लाग्छ ।
बाबुले कान्छी आमा ल्याएपछि उमेर नपुग्दै १२ वर्षमा आशा लामाको विवाह भयो । आमा हुँदाहुँदै बाबुले किन अर्की ल्याए भन्ने कुरा न आमाले थाहा पाएकी छिन्, न त आशालाई नै केहि थाहा छ । तर आफ्नो छोरीलाई ठूलो भारी सम्झिएका बाबुले उपयुक्त वर छान्न समय खर्चेनन, हतारमा केटाको आनीबानी र व्यहोरा नहेरि हतारमा बिहे गरेर विदाई गरे । अहिले बाबुको गल्तीको सजाय आशाले भोग्दै हुनुहुन्छ ।
४ वर्षको छोरा च्यापेर आँसु बगाउनु बाहेक उहाँले अरु विकल्प देख्नु भएको छैन । आँखामाथि निलडाम र शरीरका अरु भागमा लागेको चोट देखाउँदै लामाले भन्नुभयो ‘अरुको कुरा सुनेर सधैं जसो पिट्छ, हम्मरले समेत हिर्काउँछ ।
ओरोलो लागेको मृगलाई बाछोले पनि खेद्छ भने जस्तो दुखमा परेकी उहाँका आफ्नै पनि यतिबेला पराई भएका छन् । श्रीमानले निर्घात कुटपीट गर्दा पनि छुटाउने कोही छैनन् । आफ्नै बाबु र २ जना दाजुभाईले पनि श्रीमानकै पक्ष लिएपछि कसैलाई केहि भन्न मन लाग्दैन उहाँलाई ।
‘आमा टाढा छिन्, काँडाघारीमा बस्छिन्, उतै मार्बल बनाउने काम गर्छिन, जान पनि गाह«ो छ’, सिकुटे शरीरमा खोल हालेको जस्तो ठूलो देखिने कुर्ताको फेरो समाउँदै लामाले भन्नुभयो ।
लामाको विहे भएको धेरै भएको छैन । १२ वर्षमा विहे भएकी उहाँ अहिले त्यस्तै १८÷१९ वर्ष जति हुनुभयो । तर उहाँलाई देख्ता त्यस्तो लाग्दैन । उहाँलाई देख्ने धेरैले ३०÷३५ बर्षकी ठान्छन् ।
‘विहे गरेको त्यस्तै ५÷६ वर्ष भएको हुँदो हो’, लामाकै छिमेकी एक दिदीले भन्नुभयो ‘रातो दिनको कुटाई र टाईममा खान नपाउँदा ज्यान सुकेर सिन्की भैसक्यो, दिमागमा नै असर परेको जस्तो छ ।’
छिमेकी दिदीले भने जस्तै समयमा नै खानपान नभएर नै हो कि लामा धेरै बासको भाटा जस्तै सिकुटी देखिनुहुन्छ ।
डाक्टरले ‘आन्द्रा सुकेको छ छिट्टै उपचार गर्नु भनेका छन्’ आफ्नो बिमारी बताउँदै लामाले भन्नुभयो, ‘तर एक छाक खान र लाउन नै समस्या भएकी मैले उपचार र अपरेशन गर्ने खर्च कहाँबाट ल्याउनु ?’
लामाको घरमा उहाँ सहित सासुससुरा, देवर देवरानी, श्रीमान र छोरा छन् । संयुक्त परिवार भए पनि उहाँ भने काम गर्ने खेततिरै झप्रो बनाएर बस्नु हुन्छ ।
जिन्दगी कसरी बिताउन चाहनुहुन्छ ? सबै कुरा थाहा पाएपछि पनि मैले यो प्रश्न रोक्न सकिन । तर लामाको जवाफ एकदम स्पष्ट, सरल र धेरै महिलालाई बिचलित पार्ने खालको छ 'उ (लोग्ने) सँग छुट्टिन चाहन्छु । छोराको लागि एक्लै बस्न चाहन्छु । आफैं काम गर्न चाहन्छु ।’
शिक्षित हुन् या अशिक्षित, हरेक महिलाले विवाह पछिको जीन्दगी लोग्नेसँग बिताउन पाईयोस्, परिवार सुखी होस, घर शान्त होस् भन्ने चाहान्छन् । तर जिन्दगी सबैका लागि चाहे जस्तो हुँदैन । आशाको जीवन न त देखे जस्तो, न त सम्झे जस्तो ! त्यसैले त गीतमा भनिएको होला :
सोचे जस्तो हुन्न जीवन
सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन...!
0 comments
प्रतिक्रिया दिनुश
Facebook