हाम्रो समय

अर्को चैतमा लोडसेडिङ चारदेखि पाँच घण्टा मात्रै


 1st April 2015 | १८ चैत्र २०७१


काठमाडौं : आगामी वर्षको हिउँदमा चारदेखि पाँच घण्टामात्रै लोडसेडिङ हुने भएको छ। नेपाल-भारत अन्तर्देशीय प्रसारण लाइनको निर्माण पुरा भएसँगै लोडसेडिङ ह्वात्तै घट्ने भएको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले अहिले निर्माण भइरहेका संरचना राम्रोसँग अगाडि बढे अर्को वर्ष लोडसेडिङ चार घण्टामा ल्याउन सकिने बताए।

'नेपाल-भारत क्रस बोर्डर ट्रान्समिसन लाइन बनेपछि हामीले भारतबाट एकसय ५० मेगावाट बिजुली किन्नै पर्छ,' काफ्लेलाई उदृत गर्दै बिजमाण्डूले लेखेको छ, 'हामीले आउने वर्षबाट नै त्यो बिजुली खरीद गर्न सक्छौं, एकसय ५० मेगावाट थपिने बित्तिकै लोडसेडिङ चारदेखि पाँच घण्टामा झर्नेछ।'

काफ्लेका अनुसार चैतमा सबैभन्दा धेरै बत्तीको माग हुने गरेको छ। अहिले भारतबाट दुईसय ५० मेगावाट बिजुली आयात भइरहेको र प्रसारण लाइन बनेपछि आयात बढेर चारसय मेगावाट पुग्ने छ। यस्तै नेपाल भित्र पनि केही सानातिना आयोजनाको पनि निर्माण पुरा हुने भएकाले लोडसेडिङ व्यवस्थापन गर्न प्राधिकरणलाई सहज हुने छ।

दीर्घकालीन अन्त्यका लागि

काफ्लेका अनुसार लोडसेडिङ दीर्घकालीन रुपमा व्यवस्थापन गर्न नेपालमा कम्तिमा एउटा ठुलो जलाशययुक्त आयोजना बन्नै पर्छ। अब छिट्टै नै निर्माण सम्पन्न हुने आयोजनाहरु माथिल्लो तामाकोसी, त्रिशुली थ्री ए, चमेलिया र कुलेखानी बने पनि हिउँदमा यसले मात्रै लोडसेडिङ अन्त्य नहुने काफ्लेले बताए ।

दीर्घकालीन लोडसेडिङ अन्त्य गर्न
दुधकोशी तीनसय मेगावाट
अपर अरुण
तामाकोशी पाँचौं
उत्तरगंगा
'यी आयोजना बनेपछि वर्षायाममा हामी बिजुली निर्यता गर्न सक्ने अवस्थामा पुग्छौं,' काफ्लेले भने, 'हिउँदमा हाम्रै स्रोत परिचालन गरी लोडसेडिङ अन्त्य गर्न हामीले बुढीगण्डकी जस्तै जलाशययुक्त आयोजना बनाउनै पर्छ ।'

प्रसारण लाइन बनेसँगै १२ सय मेगावाट आयात निर्यात

नेपाल-भारत अन्तर्देशीय प्रसारण लाइनको काम निर्धारित समय भन्दा करिब दुई महिना चाँडै सकिने अनुमान प्राधिकरणको छ। 'हामीले यही सेप्टेम्बरमा काम सकिने अनुमान गरेका थियौं,' काफ्लेले भने, 'अहिलेकै अवस्था मान्ने हो भने जुनमा नै काम सकिने पक्का छ।'

यो प्रसारण लाइन बनेसँगै एकहजार दुईसय मेगावाट बिजुली नेपालमा आयात गर्न र नेपालबाट पनि सकिन्छ। अहिले भइरहेका १३ वटा प्रसारण लाइनबाट बिजुली आयात गर्न मात्रै मिल्ने भए पनि अब बन्ने प्रसारण लाइनबाट निर्यातसमेत गर्न सकिन्छ।
ट्रान्समिसन लाइन निर्माणको काम भइरहे पनि सब स्टेसन निर्माणको काममा केही ढिलाइ हुने संभावना रहेको काफ्लेले बताए।

दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्न आवश्यक पूर्वाधार निर्माण:
तामाकोशीको पूर्णता
खिम्ती ढल्केवर ट्रान्समिसन लाइनको निर्माण
चारसय केभिए पूर्वपश्चिम ट्रंक लाइन निर्माण
हेटौंडा-ढल्केबर-दुहवी र ढल्केबर मजफ्फपुर अन्तर्देशीय प्रशारण लाइनको निर्माण

रन अफ दि रिभर 'वेट'मा मात्रै

'जबसम्म एउटा स्टोरेज प्रोजेक्ट बन्दैन, तबसम्म हामी हाम्म्रै स्रोतबाट लोडसेडिङ अन्त्य गर्न सक्दैनौं,' काफ्ले भन्छन्, 'रन अफ दि रिभर भनेको वेटमा मात्रै हो, ड्राइमा त हामीलाई आयात गर्नै पर्ने हुन्छ । त्यसैले अबको जोड स्टोरेज प्रोजेक्टमा नै हुनुपर्छ ।'

काफ्लेले अहिले निर्माण सम्पन्न हुन लागेका आयोजना रन अफ दि रिभर भएकाले यिनीहरुले दीर्घकालीन रुपमा हिउँद याममा लोडसेडिङ अन्त्य नगर्ने बताए ।

काफ्लेका अनुसार माथिल्लो तामाकोशी पूर्ण रुपमा संचालनमा आएको हिउँदमा नेपालमा माग भन्दा बिजुलीको आपूर्ति धेरै हुने छ । 'तामाकोशी बनेपछि हाम्रो डिमान्ड भन्दा सप्लाइ धेरै हुन्छ,' काफ्लेले भने, 'त्यतिबेला हामीले भारतमा पनि निर्यात गर्न सक्छौं ।'

0 comments

प्रतिक्रिया दिनुश

Facebook