हाम्रो समय

स्वदेशमा सिजन सकिएपछि कलाकारहरु धमाधम विदेशतिर





काठमाडौं, २६ चैत – स्वदेशमा कलाकारको सिजन मानिने मेला महोत्सवको समय सकिएपछि हिजोआज उनीहरु विदेशतिर ब्यस्त हुन थालेका छन् । असोजदेखि फागुनसम्मको समयलाई नेपालमा कलाकारको सिजन मानिन्छ । 

त्यस समयमा जिल्ला र गाउँस्तरमा समेत हुने मेला र महोत्सवमा गीत गाउने र आफ्ना कला देखाउने गायक, गायिका कलाकारहरु फागुनपछि भने विदेशमा हुने कार्यक्रममा बोलाइन्छन् । विदेशमा रहेका नेपालीहरुले नेपाली नयाँवर्ष विशेष कार्यक्रम धेरै हुने भएकाले उनीहरुको माग त्यतातिर बढेको हो । 

चर्चित लोक गायक पशुपति शर्मा लामो कार्यक्रम तालिका लिएर अमेरिका पुगिसकेका छन् । उनी करिब दुई महिनाको अमेरिका बसाइमा त्यहाँका थुप्रै ठाउँमा प्रस्तुति दिनेछन् । त्यस्तै गायक प्रमोद खरेल, कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली पनि अहिले अमेरिका नै छन् । चैत १८ गते अमेरिका गएका उनीहरु बिभिन्न शहरमा प्रस्तुतिका लागि दुई महिना बस्नेछन् । 

त्यसैगरी चर्चित लोक गायिका देवी घर्तिमगर, गायक खुमन अधिकारी अहिले संयुक्त अधिराजय बेलायतमा छन् । उनीहरु एक महिनाका लागि वेलायत गएका हुन् । उनीहरुले त्यहाँका धेरै ठाउँ तथा स्कटल्याण्डमा पनि प्रस्तुति दिनेछन् । 

त्यस्तै चर्चित गायिका अञ्जु पन्त, गायक शिव परियारको एक समूह पनि अहिले युके नै छन् । उनीहरुले युकेका धेरै सहरमा कार्यक्रम गर्ने र मे महिनाको दुई तारेखमा नेपाल फर्किने कार्यक्रम छ । 

महानायक राजेश हमाल पनि बैशाख ४ गतेको कार्यक्रमका लागि कतार जाँदैछन् । उनले कतारमा हुने नयाँ वर्ष विशेष कार्यक्रममा नृत्य प्रस्तुत गर्नेछन् । हमाललाई नै साथ दिन अभिनेत्री प्रियंका कार्की पनि उनीसंगै कतार जाँदैछिन् । 

चर्चित गायक राजेशपायल राई पनि नयाँवर्षको कार्यक्रमको लागि कतार जाने तयारीमा छन् । राई कतारपछि पनि अरु थुप्रै देशका कार्यक्रममा व्यस्त हुनेछन् । उनले पनि बैशाख ४ गतेको कार्यक्रममा कतारमा प्रस्तुति दिनेछन् । 

त्यसै कार्यक्रममा अरु धेरै कलाकार पनि कतार जाने भएका छन् । मोडल तथा निर्देशक शंकर विसी, मोडल रश्मी तामाङ, हास्य कलाकार विल्सन विक्रम राई, अभिनेत्री सुष्मा कर्की, पुर्व मिस नेपाल माल्विका सुब्बा, लोक गायक मिलन लामा लगायतका कलाकार पनि कतार जाँदैछन् । 

गायक रामकृष्ण ढकाल पनि नयाँ वर्षमा नेपालकै कार्यक्रम सकेर विदेश जाँदैछन् । उनले बैशाख अन्तिमतिर जापान जान लागेको बताए । 
यसरी विदेशमा बस्ने नेपालीले नेपाली कलाकारलाई बिभिन्न अवसर पारेर प्रस्तुतिका लागि बोलाउने गर्छन् । जसले चलचित्र र संगीत क्षेत्रका कलाकारलाई नेपालीसंग भेटघाट, घुमफिर तथा आयआर्जनको पनि राम्रो अवसर हुने गरेको छ । 

0 comments

प्रतिक्रिया दिनुश

Facebook