हाम्रो समय

५० स्मार्टफोन सित्तैमा दिने मोबाइल कार्निभल न्युरोडमा



05 Apr 2015 | 17:27pm
आइतबार २२ चैत्र, २०७१

५० स्मार्टफोन सित्तैमा दिने मोबाइल कार्निभल न्युरोडमा
काठमाडौं— नयाँ वर्षको अवसर पारेर मोबाइल पाको, न्यूरोड क्षेत्रमा आयोजना हुन लागेको मोबाइल कार्निभल तथा महोत्सवमा १ करोड रुपैंयासम्मको डिस्काउन्टको घोषणा गरिएको छ। यही चैत २८ गतेदेखि १ गतेसम्म आयोजना हुने नेपालको सबैभन्दा ठूलो महोत्सवको अवधिभर उपभोक्ताले विभिन्न स्किममार्फत कुल १ करोड रुपैंयासम्मको छुट दिइने भएको आयोजकले जनाएको छ।



'हामीले हरेक ग्राहकहरुलाई मोबाइल खरिदमा आकर्षक छुट दिनेछौं, जसले ग्राहकहरुको नयाँ बर्ष उल्लासमय हुनेछ' आयोजकमध्येको एक पाको युथ क्लबका अध्यक्ष अमृत मानन्धरले भने। उनले

महोत्सव अवधिभर हरेक ग्राहकहरुले छुट प्राप्त गर्नेगरी कुल १ करोड रुपैयाँसम्मको छुट रहेको बताए।

मोबाइल महोत्सवको अवधिभर पाको, न्यूरोड क्षेत्रमा मोबाइल खरिद गर्ने एसएलसी दिएका विद्यार्थीहरुमध्ये १ जनालाई ५० हजार रुपैंयासम्मको छात्रवृत्ति दिइनेछ। एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई लक्की ड्रमार्फत मोबाइल खरिदमा विशेष उपहारसहित छुट पनि दिइने सामसङ मोबाइल एण्ड इलेक्ट्रोनिक्स प्रालिका अध्यक्ष गुरुदत्त शर्माले बताए।

महोत्सवलाई आकर्षक बनाउन र अधिकतम ग्राहकहरुले फाइदा उठाउन भनेर महोत्सव अवधिभर ५० वटा स्मार्टफोनहरु ग्राहकहरुलाई उपहारमा दिन लागिएको टेलि टू प्रालिका निर्देशक रोशन विष्टले जानकारी दिए।

मोबाइल कार्निभल तथा महोत्सव अवधिभर १० लाख उपभोक्ताहरुको सहभागिता हुने अपेक्षा आयोजकको छ।

मोबाइल कार्निभल तथा मोबाइल महोत्सव २०१५ मा ताम्राकार कम्प्लेक्सका सबै मोबाइल पसलहरुको सहभागिता हुनेछ। कार्निभलमा मोबाइल म्युजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिंग जोन, गणेश पुजा तथा मोबाइल एक्सपो समाबेश गरिएको छ।

कार्निभल २०७१ चैत २८ गतेदेखि २०७२ वैशाख १ गतेसम्म पाको न्यूरोड क्षेत्रमा आयोजना हुनेछ। कार्निभल तथा नयाँ वर्षको अवसर पारेर ल्याईने विभिन्न स्कीमहरु भने वैशाख १५ गतेसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्।

२०० भन्दा बढी मोबाइल पसल तथा शोरुमहरु रहेको पाको न्यूरोड तथा ताम्राकार कम्प्लेक्स क्षेत्रमा हाल २५ भन्दा बढी मोबाइल ब्राण्डका आधिकारीक सर्भिस सेन्टरहरु संचालनमा रहेका छन्।

मोबाइल कार्निभल २०१५ मा सामसङ, हुवावे, माइक्रोसफ्ट तथा नोकिया, सोनी, एप्पल, जियोनी, कलर्स, डिटिसी, माइक्रोम्याक्स, इन्टेक्स, सेलकोन, लाभा, बिक्यू, जोलो, विनकम, फ्लाई, भिडियोकोन, बर्डलगायतका मोबाइल ब्राण्डहरुको सहभागिता रहने जनाइएको छ।

कार्निभलमा मोबाइल एशोसियसन, पाको न्यूरोड मोबाइल व्यवसायी, ताम्राकार कम्प्लेक्स तथा यो क्षेत्रमा रहेका व्यापार संघहरुले सहभागिता जनाउने छन्।

0 comments

प्रतिक्रिया दिनुश

Facebook