हाम्रो समय

मुस्कान सहितको प्रहरीलाई गाउँलेको मुक्का



धनगढी, चैत २१ – प्रहरीले मुस्कान सहितको नागरिक सेवा सुरु ग¥यो । तर प्रहरीको बोली अझै रुखो भएको आरोप हट्न सकेको छैन । प्रहरी र नागरिकबीचको सम्बन्ध सुधारका लागि सुदूरपश्चिमका प्राय सबै ठाउँमा नागरिक भेटघाट कार्यक्रम गरियो तर गाउँलेले भने प्रहरीमाथि नै आक्रमण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा दरबन्दी भई धनगढी नगरपालिकाको–१० मा रहेको अस्थाइ प्रहरी चौकीमा कार्यरत प्रहरी हबल्दार गणेशराज जोशी र प्रहरी जवान थानेश्वर पन्तलाई गाउँलेले आक्रमण गरी गम्भीर घाईते बनाएका हुन् ।
प्रहरी हबल्दार जोशीको नेतृत्वमा खटिएको गस्ती टोलीमाथि घुईयाघाटको श्रीराम इट्टा उद्योग नजिकै आक्रमण भएको हो । ‘चार जनाको संख्यामा हामीहरु इट्टा भट्टा नजिक पुगको थियौं, अचानक ३५÷४० जनाको संख्यामा लाठी, चिरपट बोकेका मानिसले आक्रमण गरे, हामी दुई जना भाग्न सफल भयौं तर दुईजना सहकर्मी भने उम्कन सकेनन’ गाउँलेको आक्रमणबाट उम्कन सफल भएका प्रहरी जवान रविन्द्र नेगीले भन्नुभयो ।
केही दिन अघिदेखि प्रहरीले घरेलु रक्सी बिक्रिमा रोक लगाएको थियो । त्यो कुरा राना समुदायलाइ मन परेको थिएन । ‘हामीले घुईयाघाटका झेली रानाको पसलबाट रक्सी बरामद गरी पोखेका थियौं, त्यसैको प्रतिसोधमा आक्रमण भएको हुनसक्छ’ घाइते प्रहरी हबल्दार जोशीले भन्नुभयो । अस्थाई प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भीम नाथले पनि चोरी तस्करी र मदिरा नियन्त्रण गरेका कारण प्रहरीप्रतिको आक्रोश बढेको स्वीकार गर्नुभयो ।
त्यसको प्रतिवाद स्वरुप प्रहरीमाथि आक्रमण भएको प्रहरी नायब निरीक्षक नाथले बताउनुभयो । तर घुईयाघाटको रानाबस्तीका बासिन्दाले भने प्रहरीले दुई तीन महिनादेखि आफूहरुमाथि ज्यादती गरेको आरोप लगाएका छन् । बेलुका ७/८ बजे रक्सी पसल बन्द गराउने, रक्सी खाएको मान्छे भेटाए कुटपिट गर्ने र महिना भर हुने राना थारुको होलीपर्व पनि राति खेल्न नदिएको उनीहरुको आरोप छ ।
रानाबस्तीकी महिला उषा रानाले अहिले निर्दोषलाई ज्यान मुद्दा लगाएको र आक्रमणमा संलग्न सबैजना फरार रहेको बताउनुभयो । उहाँका पति श्याम रानालाई पनि ज्यान मुद्दा लगाइएको छ । प्रहरीले, घुईयाघाट घटनामा ११ जनालाई पक्रेर ज्यान मुद्दा चलाएको छ भने ११ जनाको नाम पहिचान गरी फरारको सुचीमा राखेको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook