लालीगुराँसमय ललितपुर, पुनहिलको झल्को ! (फोटो फिचर)
२०७१ चैत २१ गते ११:२४ मा प्रकाशित
(Source Online Khabar)
तपाईं काठमाडौं उपत्यकामा बस्नु हुन्छ र ढकमक्क लालीगुराँस फूलेको हेर्ने मन छ भने टाढा जानु पर्दैन । राष्ट्रिय फूल लालीगुराँसको लालीमा केहीबेर हराउन मन छ भने राजधानी नजिकैको देविचौरदेखि भट्टेडाँडा सातकन्यातिरको यात्रामा निस्कदा हुन्छ ।
देविचौरका लागि लगनखेल बसपार्कबाट दैनिक बस चल्छन् । आफ्नो निजी सवारीसाधन हुनेहरु लेले टिकाभैरवबाट उत्तरदक्षिण दिशाको बाटो हुँदै देविचौरको वावियो गाउँसम्म पुग्न सक्छन् । हो, यहीबाट शुरु हुन्छ ललितपुरको लालीगुराँस यात्रा ।
तेर्सो तेर्से बाटो, उत्ति उकालो भेटिन्न । सल्लाघारी सुसाउँदै आउने सिरेटोले गर्मी पटक्कै महशुस हुन दिनेेछैन । एक्लै दुक्लै हिड्दा जंगलमा बाघ भालुको डर पनि मान्नु पर्दैन । घाँस दाउरा गर्नेहरु जंगलैभरि भेटिन्छन् । लालीगराँस हेर्दै हिँड्दा अल्छी वा थकाइ लाग्दैन । यदि लागिहालेमा पनि चिन्ता लिनु पर्दैन । बुरुञ्चुलीमाथि देउराली लेकमा होमस्टे छन्, त्यहीँ गएर आराम गर्दा हुन्छ ।
यात्राको पहिलो विसौनी सुन्तलीडाँडा हो । यहाँबाट काठमाडौं उपत्यका छर्लङ्ग देखिन्छ । लालीगुराँसको मनोरम दृष्य अवलोकन गर्दै हिँड्दा बाटोमा देवीगुफा पस्न र पाथीभारा माईको दर्शन गर्न समेत पाइन्छ ।
तिनपानेको बनमा जंगल सफारीको झल्को मेटाउने मृग, खरायो, बँदेल, वनविरालाजस्ता जीवजन्तुको दर्शन नहोला भन्न सकिन्न । कोइलीको कुहू कुहू आवाजसँगै काफल पाक्यो चरीको सुरिलो आवाजले यात्रा थप रोमाञ्चक बन्छ । अनि थकाई लाग्दा धित मरुन्जेल ऐसेलु खानुको छुट्टै मज्जा ।
जंगलको बाटोभरि लालीगुराँसको फूल झरेको देख्दा लाग्छ-हाम्रै स्वागतका लागि बनैभरि फूल विछ्याइएको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook