'ट्याक्सी जलाए, मलाई पनि मार्न खोजे'
२०७१ चैत्र २४ मंगलवार
(ललितपुरको बालकुमारीमा बन्दकर्ताले पेट्रोल छर्केर जलाएको ट्याक्सी )
ज्यान त जोगियो, पापीहरुले मेरो खुसी खरानी बनाए
काठमाडौं : बिहान पाँच बज्दै थियो। ललितपुरको बालकुमारीस्थित सडक किनारमा निरज बाँनिया बा १ ज १८७७ नम्बरको ट्याक्सी रोकेर बसेका थिए। बन्दको त्रास छँदै थियो।
विमानस्थलमा आफन्तलाई पुर्याएर एकछिन त्यहाँ अडिएका मात्र थिए। एक्कासी केही व्यक्ति आएर भने, दाई अस्पताल जानुपर्यो।बन्दको डरले ट्याक्सी चलाउने मन निरजलाई थिएन तर अस्पताल जाने जस्तो मानवीय कुरा भएकोले उनले हुन्न भन्न सकेनन्।
'हुन्छ' भन्न नपाउँदै ती व्यक्तिहरु ट्याक्सीभित्र छिरे। सिटमा बस्नसाथ सलाइ कोरेर एक्कासी आगो लगाए। ट्याक्सी गुड्दै गर्दा ट्याक्सीभित्र एक्कासी आगो दन्कियो। यात्रु बनेर बसेका ती व्यक्ति भागिसेका थिए। उनी पनि तत्कालै ट्याक्सीबाट निस्के। भाग्दाभाग्दै पनि उनको टाउकोमा आगोले छोएको निरजले बताए। 'अस्पताल जाने भनेपछि हुन्न भन्न सकिनँ तर झन्डै मलाई पनि जलाएनन्, घटनापछि निरजले भने, मलाई पनि मार्न खोजेका थिए। भाग्यले ज्यान त जोगियो तर मेरो खुसी पापीहरुले खरानी बनाए।' निरजको लाइसेन्स र केही नगदसमेत जलेको छ।
बन्दकर्ता आफै यात्रु बनेर बिहान सबेरै निरज बाँनियाको ट्याक्सी छिनभरमै यसरी खरानी बनाए।उनीहरुले चालकलाई पनि भित्रै राखेर जलाउने प्रयास गरेका थिए। सिट बेल्ट नबानेकोले निरज पनि तुरुन्त ट्याक्सीबाट भाग्न सके।तर ट्याक्सी चलाएर घरपरिवार पाल्दै आएका निरजको खुसी बन्दकर्ताले एक छिनमै खरानी बनाए। 'सडक किनारमा ट्याक्सी रोक्न पनि नपाइने। मैले के अपराध गरेको थिए, उनले भने, मेरो ट्याक्सी जलाएर बन्दकर्ताले के पाए ?
ट्याक्सी जलेको घटना हेर्न पुगेका एकजनाले भने, बन्दकर्ताले ट्याक्सी जलाएर रोमाइलो गरे। यस्तो अपराध गर्न पाइन्छ । ट्याक्सी जलाउने योजना बनाएर नै उनीहरु यात्रु बनेर त्यहाँ पुगेका थिए। ट्याक्सीभित्र छिर्नसाथ उनीहरुले पेट्रोल छर्केर जलाएका थिए। ट्याक्सी पुरै ध्वस्त भएको छ। त्यसपछि चालकका आफन्त र स्थानीय जम्मा भएर बन्दविरुद्ध केही प्रदर्शन गर्दै आक्रोश व्यक्त गरे।
निरजकी पत्नीले क्षतिपूर्तिको टुंगो नलाग्दासम्म ट्याक्सी उठाउन नदिने भन्दै निकैबेर जलेको ट्याक्सीको हुटमा बसेकी थिइन् । सम्झाइ बुझाइ गरी जलेको ट्याक्सी महानगरीय प्रहरी परिसर ललितपुरमा लगेर राखेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook