भ्रमपूर्ण विज्ञापन छाप्ने विरुद्ध मुद्धा दायर गर्ने विभागको तयारी
काठमाडौं, साउन ३०
विभिन्न औषधिको भ्रमात्मक प्रचारप्रसार गर्ने संस्था र सञ्चारमाध्यम विरुद्ध औषधि व्यवस्था विभागले मुद्धा चलाउने तयारी गरेको छ। भ्रमात्मक विज्ञापन प्रचार प्रसार गरेर उपभोक्ता ठगेको भन्दै विभागले यस्ता औषधिहरुको प्रचारप्रसार गर्ने सस्था तथा संचारमाध्यम विरुद्ध अदालतमा मुद्धा दायर गर्ने तयारी गरेको हो।
विभागका महानिर्देशक बालकृण खकुरेलका अनुसार विभागले अहिले यस्ता भ्रमात्मक विज्ञापन प्रचार प्रसार गर्ने संस्था र सञ्चारमाध्यको सूची तयार पार्दैछ। खकुरेलका अनुसार औषधिको प्रचारप्रसार गर्नुपूर्व उक्त विज्ञापनको सन्देश विभागबाट स्वीकृत गर्नुपर्दछ। यसरी विभागले स्वीकृत गरेको औषधिको विज्ञापनलाई मात्रै सञ्चारमाध्यमले प्रचारप्रसार गर्न सक्दछन्।
यस्ता भ्रामक सुचना प्रचार प्रसारमा तुरुन्त रोक्नुपर्ने भन्दै विभागले असार २३ गते एक सुचना निकालेको थियो। तर सुचना निकालेको एक महिना बित्दा सम्म समेत यस्ता प्रचार प्रसार नरोकिएपछि विभागले यस्ता भ्रामक बिज्ञापन गर्ने र गराउने सस्था र सञ्चारमाध्यम दुवै विरुद्ध मुद्दा चलाउने तयारी गरेको हो।
औषधि ऐन २०३५ को दफा १९ र औषधि दर्ता नियमावाली २०३८ को नियम ७ बमोजिम औषधिको बिज्ञापन गर्न औषधि व्यवस्था विभागबाट इजाजत लिनुपर्ने कानुनी प्रावधान रहेको छ। तर यो कानुनी प्रावधानको वर्खिलाप गरि विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यममा अहिले विभागको अनुमती बेगरनै विभिन्न बिज्ञापनको प्रचारप्रचसार गरिरहेको महानिर्देशक खकुरेलले जानकारी दिए।
अहिले शारीरिक मानसिक स्वास्थ्यमा सुधार ल्याउने, उपचार गर्ने, रोगप्रतिरोधात्मक क्षमता बढाउने, अंगको आयत बढाउने, घटाउने,उच्चरक्तचाप, मधुमेह जस्ता रोगमा छुटकारा दिलाउने भन्दै सञ्चारमाध्यममा भ्रमात्मक विज्ञापन प्रचार प्रसार गर्ने गरेको विभागकोे भनाई छ।
आर्थिक लाभको लागि जनताको स्वास्थ्यमा खेलबाड भएको भन्दै विभागले यस्ता भ्रमात्मक विज्ञापन गर्ने र गराउने दुवै संस्था बिरुद्ध मुद्दा चलाउने तयारी गरेको हो।
सञ्चारमाध्यमले औषधिको विज्ञापन गर्नुपूर्व औषधि व्यवस्था विभागबाट उक्त बिज्ञापन स्वीकृत गरेको हो वा होइन भनेर बुझ्नुपर्ने महानिर्देशक खकुरेलको सुझाव छ। अहिले सम्म सन्देश स्वीकृत गराएर करिव ५ वटा औषधिका उत्पादकहरुले मात्रै विज्ञापन गरेको खकुरेल बताउँछन्।
यस्ता औषधिहरु अहिले बजारमा छ्याप्छ्याप्ती भेटिन्छन्। भ्रामक विज्ञापन मार्फत यस्ता संस्थाले ठुलो मात्रामा कारोबार गर्ने गरेका छन् । शतप्रतिशत भन्दा धेरै नाफा हुने यस्ता औषधिका विक्रेताहरुले ठुलो धनराशी विज्ञापनमा खर्चने गरेका छन्।
विज्ञापनको प्रलोभनमा विभिन्न छापा तथा इलेक्ट्रोनिक सञ्चारमाध्यमहरुले अहिले विभागको स्वीकृति नपाएका कैयन विज्ञापन प्रकाशन तथा प्रसारण गरेका छन्। कैयन वर्ष सम्म विभागले यसमा चासो नदिँदा दैनिक यस्ता भ्रामक विज्ञापनबाट ग्राहक लुटिदै आएका थिए।
तर अब भने विभागले यस्ता औषधिको विक्री वितरणलाई निरुत्साहित गर्न लागेको छ। जसको लागी विभागले पहिलो चरणमा यस्ता औषधिको भ्रामक विज्ञापनलाई बन्द गर्ने तयारी गरेको छ। यस्ता औषधिको प्रचार प्रसार रोकिएसंगै यस्ता औषधि राखेका पसलमा विभागले छापा मार्ने तयारी गरेको छ। यस्ता भ्रामक विज्ञापन गर्ने संस्थालाई एक वर्ष कैद वा पाँच हजार जरीवाना वा दुवै हुने व्यवस्था रहेको खकुरेलले जानकारी दिए।
0 comments
प्रतिक्रिया दिनुश
Facebook