भुईंचालोपछि १ हजार प्रतिशतले बढे विद्यार्थी
शिक्षक नहुँदा समस्या
भुईंचालो जानुअघि सेलाङ २ मा रहेको जीर्ण भवनको कक्षाकोठामा विद्यालयभरकै जम्मा ११ विद्यार्थीलाई दुई शिक्षकले अध्यापन गर्दथे। विद्यालय सेवा क्षेत्रभित्र रहेका १७ घरधुरीका बालबालिका गोरखनाथ प्राविमा अध्ययन गर्दथे।विद्यार्थी हाजिर कापीमा जम्मा ११ जना रहेको सो विद्यालय धेरैजसो दिन शिक्षकले मात्र विद्यालय कुर्नुपर्ने अवस्था आउँथ्यो। अनि कतिपय दिनमा आधाको संख्यामा उपस्थित विद्यार्थीलाई पढाउन शिक्षक बाध्य हुन्थे। त्यतिबेला शिक्षकलाई दिन कटाउन हम्मे हम्मे पर्थ्याे। कुनै समय शिक्षकलाई विद्यालय कुरेर बस्नपर्ने अवस्था आउँथ्यो।
गोरखनाथ प्राविका शिक्षकलाई अहिले पहिलाको अवस्था दिउँसो देखेको सम्झना सपना जस्तै लाग्छ। अहिलेका लागि दन्त्य कथा जस्ता लाग्ने ती क्षणहरु इतिहास भइसकेको। न्यून विद्यार्थी भएकैले झण्डै–झण्डै अर्काे कुनै नजिकैको विद्यालयसँग गाभिन लागिएको गोरखनाथ प्राविमा अहिले विद्यार्थी चापका कारण शिक्षकलाई भ्याइनभ्याई भएको छ। विद्यार्थी राख्ने स्थानको अभावले मात्रै हैन शिक्षक नभएकाले पढाउन मुस्किल भएको छ। कक्षा १ देखि ५ सम्म सञ्चालित यो विद्यालयमा भुईंचालोकै कारण एक्कासी विद्यार्थी बढेका हुन्। भुईचालोअघिको विद्यार्थी संख्या तुलना गर्ने हो भने यो विद्यालयमा अहिले विद्यार्थी हाजिर कापीको तथ्यांकले १ हजार प्रतिशत भन्दा बढीले बढेको देखाउँछ। तर शिक्षक भने उही दुई जनामै सिमित छन्।
भूईंचालोले गोरखनाथ प्राविलाईसमेत विस्थापित बनायो। विद्यालयसँगै सेवा क्षेत्रमा रहेका सबै घर विस्थापित बने। उनीहरु पहिले बसोबास गरेको थातथलोभन्दा झण्डै दुई किलोमिटरमा रहेका सुरक्षित स्थानमा स्थानान्तर भए। समुदाय त्यही बनेपछि स्थानीयवासीले विद्यालयसमेत त्यही राखेर बालबालिकालाई अध्यापन गराउन थाले।
हिमाली गाउँ सेलाङस्थित बाँसखर्कमा नयाँ बस्ती बस्न थालेपछि वरपरका पनि आउन थाले। आफ्नो गाउँ पहिरोको उच्च जोखिममा भएपछि स्याउलेको लप्टे, गोल्चे, गुम्बा, पाङताङ अनि सेलाङकै विभिन्न स्थानबाट बाँसखर्क आउनेहरु बढे। समुदाय ठूलो भएपछि त्यहाँ रहेका बालबालिका धेरैजसो त्यही गोरखनाथ प्राविमा भर्ना भए। अहिले विद्यार्थी संख्या १ सय ५ पुगेको विद्यालयले जनाएको छ।
‘पहिले विद्यार्थी नहुँदा समस्या थियो, अहिले भएर समस्या भएको छ।’ विद्यालयका प्रधानाध्यापक तुलाबहादुर सिलवाल भन्छन्, ‘विद्यालय भएपछि भर्ना हुन आउनेलाई नलिन पनि नमिल्ने।’ उनी अहिले भने भर्ना रोकेको बताउँछन्। ११ जनालाई पढाउँद आएको विद्यालयमा अहिले विद्यार्थी हाजिर कापीमा १ सय ५ को संख्या पुगिसकेको छ। यो ठाउँमा विभिन्न स्थानबाट विस्थापित भइ आउनेहरुको संख्या अझै बढ्दै छ। विस्थापित बढेसँगै विद्यालयमा भर्ना हुन आउने बालबालिकाको संख्या पनि बढ्दै गएको प्रअ सिलवाल बताउँछन्। ‘अहिले विद्यालयमा भर्ना हुनका लागि अन्य गाविसबाट स्थानान्तरण प्रमाणपत्र र गाविसका सिफारिस मागेका छौं’ तुलाबहादुर भन्छन्, ‘तै पनि हामीले बालबालिकालाई अध्ययन गर्नबाट भने बञ्चित गरेका छैनौं।’
शिक्षा कार्यालयमा सम्झौता गरेर यो गाउँमा शिक्षा क्षेत्रमा काम गर्न फेज नेपाल नामक संस्था गएको छ। फेजले दिएको दुईवटा टेण्टमा बालबालिका अध्ययन गर्ने गर्दछन्। साना साना टेण्टमा साँघुरो गरि बसेर बालबालिका अध्ययन गर्न बाध्य बनेका छन्। यो ठाउँमा अहिले पनि अन्य गाउँबाट विस्थापित भएर सुरक्षित स्थान मानेर बसाईं सरी आउने क्रम जारी छ। यही क्रमले बढ्ने हो भने विद्यालयमा विद्यार्थी संख्या झण्डै दुई सय पुग्न सक्ने शिक्षकहरुको अनुमान छ।
‘साँघुरो ठाउँमा बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता भएपछि बालबालिकाको शिक्षण सिकाईमा असर पर्छ’ गाउँका अभिभावक गोविन्द थापा भन्छन्, ‘शिक्षककै अभावका कारण बालबालिकाले राम्रोसँग अध्ययन गर्न पाएका छैनन्।’ थापाले विद्यार्थी चापअनुसार छिटै शिक्षक थप्नुपर्ने अवस्था रहेको बताउँछन्।
विद्यार्थी बढेपछि विद्यालयको शिक्षक जनशक्तिले नभ्याएकाले त्यहाँका स्थानीयले केही दिन स्वयमसेवक शिक्षकको रुपमा रहेका अध्यापन गरेका थिए। शिक्षक अभाव भएकै कारण यहाँका बालबालिकामा पढ्ने इच्छा हुँदाहुँदै पनि नपाएको गोविन्दले बताए। विद्यार्थी हाजिर कापीमा भएको भन्दा थप ३०, ३५ को हाराहारीमा बालबालिका विद्यालय आउने गरेको उनले सुनाए। यहाँ अध्ययनरत बालबालिकालाई अध्ययनमैत्री वाताबरण नभएको स्थानीयले गुनासो गरेका छन्। साना टेण्टमा यति धेरै बालबालिका खुम्चिएर पढ्नुपर्ने बाध्यता रहेको छ।
जिल्ला शिक्षा कार्यालय जहाँ समुदाय त्यहाँ विद्यालय हुनुपर्ने बताउँछ। बाँसखर्कमा भएको समस्याबारे कुनै लिखित जानकारी नआएकाले समस्या समाधानका लागि प्रक्रिया अगाडि नबढेको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी बताउँछन्। ‘कुनै पनि बालबालिका शिक्षा बाट बञ्चित हुनुहुँदैन,’ अधिकारी पुरीले भने, ‘बाहिर हल्ला आएजस्तो समस्या हो भने कार्यालयले हेर्नुपर्ने हुन्छ।’ उनले भुईचालोपछि जिल्लाका धेरै विद्यालयमा यस्तो समस्या आएको जनाए।
0 comments
प्रतिक्रिया दिनुश
Facebook